काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको बताएका छन्।
मंगलबार फेसबुकमा स्टाटस राख्दै शाहले सोमबार राति भएको गाडी तोडफोडलाई फोहोर व्यवस्थापन निष्कर्षमा पुग्न नदिन गरिएको चलखेलको रूपमा लिएको बताएका छन्।
मेयर शाहले फोहोर व्यवस्थापनप्रति आफू सुरूबाटै संवेदनशील र क्रियाशील रहेको स्मरण गराएका छन्। यस्तै फोहोरमैला व्यवस्थापन नै महानगरको पहिलो प्राथमिकता भएको उनले दाबी गरेका छन्।
‘वषौंदेखि अव्यवस्थित फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरूपमा नयाँ-नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ,’ उनले भने, 'यसै क्रममा हिजो राति फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनहरूको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौं।'
उनले लेखेका छन्, ‘कानूनी रूपमा फोहोर बोक्ने साधनहरूको तोडफोड गर्नु जघन्य अपराध हो। कानून बमोजिम अपराधीलाई कडा भन्दा कडा कारबाही हुनैपर्छ भन्नेमा महानगर स्पष्ट छ।’
उनले तोडफोड गर्नेबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनुपर्ने बताएका छन्। त्यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग छलफल र समन्वय गरिरहेको बताएका छन्।
‘केही व्यक्ति वा समूहको स्वार्थ पूर्तिका लागि लाखौं नागरिक तथा २१ वटा पालिकाको फोहोर अव्यवस्थित र असरल्ल पार्न सकिँदैन। विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौं’, उनले भनेका छन्।