महोत्तरीमा एक जना मिटरब्याजी आरोपीतिलाई प्रहरीले पक्राउ गरेको छ।
सीतापुर भंगाहा नगरपालिका-५ बस्ने अनिरूद्र साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। उनलाई प्रहरीले गएराति घरबाट पक्राउ गरेको हो।
उनीविरूद्ध १० जनाले प्रहरी कार्यालयमा जाहेरी दिएको उनले बताए।
‘उनी नामुद मिटरब्याजी रहेछन्। यसअघि पनि १५ जनाले जाहेरी दिएका रहेछन्। यसपालि पनि ९-१० जनाले जाहेरी दिनुभएको छ,’ प्रहरी उपरीक्षक पंगेनीले भने।
यस्तै प्रहरीले तमसुकका कागजातहरू पनि बरामद गरेको छ। उनले लाखौं रकम मिटरब्याजबाट उठाएको प्रहरीले जनाएको छ।अहिले नै कति रकम लिएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
गृह मन्त्रालयले देशभरि नै मिटरब्याजीबाट पीडित भएकाहरूलाई जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र उजुरी दिइसक्न अनुरोध गरेको छ।
अहिले काठमाडौंको माइतीघर मण्डलमा नवलपरासी पश्चिमका पीडितहरू न्याय माग्दै आन्दोलनरत छन्। उनीहरूले आन्दोलन गरेपछि गृह मन्त्रालयले यस समस्याको उपाय खोज्न भन्दै कार्यदल गठन गरेको थियो।