भुटानी शरणार्थीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आइतबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
ठगी आरोपमा केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ पक्राउ परेका हुन्।
एसपी राठौरका अनुसार उनीहरूले ८१ जनालाई ठगी गरेको प्रारम्भिक रूपमा देखिएको छ। १३ करोड ६३ लाख रुपैयाँ लिएर फरार भएपछि पीडितहरू प्रहरी कार्यालयमा पुगेका थिए।
‘अमेरिका पठाइदिने भन्दै पैसा लिएर भागेपछि पीडित हाम्रो कार्यालयमा आइपुगेका हुन्,’ उनले भने, ‘यस घटनाको विस्तृत रूपमा अनुसन्धान गर्नुपर्ने देखिन्छ।’
आफूहरूलाई ठगेको भन्दै कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी दिने दुई जना भुटानी शरणार्थी नै भएको एसपी राठौरले बताए। तर अन्य व्यक्तिहरू को हुन् भन्नेबारे अनुसन्धान गर्न बाँकी रहेको उनले बताए।
‘जाहेरी दिनेहरू दुई जना भुटानी शरणार्थी नै हुन्। तर अन्य व्यक्तिहरू को हुन् भन्नेबारे अनुसन्धान गर्न बाँकी छ,’ उनले भने। कतिपय नेपालीहरूलाई पनि नक्कली शरणार्थी बनाएर पठाएको आशंका छ।
जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यसबारे विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए।