काभ्रेको पनौती नगरपालिका–४ का अध्यक्ष दीपकप्रसाद दहालले वैशाखमासमा यति ठूलो पानी परेको थाहा पाएका थिएनन्।
महाभारत पर्वत शृंखलाको पुछारको उनको भेग, पनौती आसपास पानी परी नै रहन्थ्यो। हिउँदमा दुई–चार झर पानी पर्थ्यो, रोकिन्थ्यो।
हिउँद तथा प्रि–मनसुन याममा परेको पानी अमृतसरह नै हुन्थ्यो। किसानहरूले बाली लगाउन थाल्थे। डाँडै हरियाली हुन्थ्यो।
तर सोमबार मध्याह्नदेखि साँझसम्म परेको पानीले पनौती क्षेत्रमा गत वर्ष असोजको वर्षान्तको विपत्ति नै बिर्साइदियो। पनौती नगर क्षेत्रको पुण्यमाता, रोशीलगायत खोला मात्र बढेनन्, साना–ठूला खोल्साखोल्सी पनि उर्लिए। घर, पसल–कवलहरू डुबानमा पर्यो।
खन्ने बेला भएको आलुबाली भेलबाढीले छोपिदिएन मात्रै, तल्लो तटीय क्षेत्रमा कटानसमेत गर्यो।
रोशीकै भेलबाढीले डाइभर्सन बगाएको र अस्थायी ट्र्याक कटान गरेका कारण बिपी राजमार्ग १३ घन्टाभन्दा बढी अवरूद्ध बन्यो। मंगलबार अपराह्नबाट मात्रै सञ्चालनमा आयो। महाभारत गाउँपालिकातर्फ जाने सडकको पनि डाइभर्सन बगाएकाले यातायात सञ्चालन हुने सकेको छैन, यात्रुहरूले हैरानी खेपे।
सोमबारकै बाढीले बगाएकी पनौती नगरपालिका वडा नम्बर ५ सुब्बागाउँकी ३३ वर्षीया रेणुका गिरीको अवस्था हालसम्म पनि अज्ञात नै छ। मेलाबाट घर फर्कंदै गरेकी उनलाई ढलमले ठाडो खोलाले बगाएको थियो।
‘उहाँको खोजी कार्य जारी छ, हिजो साँझदेखि नै खोजी थालेका छौं। नदीको सतह घटिसक्दा पनि उहाँलाई फेला पर्न सकेका छैनौं,’ पनौती नगरपालिका नगरप्रमुख रामशरण भण्डारीले भने।
उनले पनि वैशाखमासमा पनौती क्षेत्रका मानिसहरूले यस्तो घनघोर वर्षा थाहा नपाएको बताए।
‘हामीले वैशाखमा यस्तो बाढी देखेकै थिएनौं। हुन त गत असोजको विध्वंश पनि यस भेगका मानिसले देखेका त के अनुमान पनि गरेका थिएनन्। हाम्रो क्षेत्रमा नसोचेका घटना भइरहेका छन्,’ मेयर भण्डारीले भने।
सोमबारको बाढीले पनि अकल्पनीय क्षति पुर्याएकाले विवरण संकलन गर्ने काम भइरहेको उनले बताए। गत असोजको बाढीपछि अस्थायी रूपमा ल्याएको खानेपानीका पाइप सोमबारको बाढीले बगाएको छ। त्यस्तै प्रदेश सरकारले छुट्टयाएको बजेटबाट बन्दै गरेका दुइटा पुलमा क्षति पुर्याएको छ।
‘वडा नम्बर ९ मा बन्दै गरेको एउटा र १० र ११ नम्बर वडाको सिमानामा बनेको अर्को पुलमा क्षति पुर्याएको छ। एउटा पुलको त सोमबार नै फर्मा ठोकेर ढलान हुँदै थियो,’ उनले भने।
गत असोजको बाढीपछि बनाएको तीन किलोमिटर अस्थायी बाटो पनि बगाएको उनले बताए। बाढीले विशेषगरी वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १० ज्यादा प्रभावित भएको उनले बताए।
‘मनसुन नलाग्दै आएको भीषण बाढीले पुनः पनौतीलाई क्षतविक्षत बनाएको छ। तयार भएको आलुबालीमा ठूलो क्षति पुगेको छ। हामी ठूलो पीडामा छौं,’ उनले भने।
गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो। भर्खर पुनःनिर्माण हुन थालेको थियो। मेयर भण्डारीका अनुसार रोशी तटबन्धका लागि संघीय सरकारले बजेट विनियोजन गरी भर्खर १ करोड ६२ लाख रूपैयाँको ठेक्का आह्वान भएको थियो।
विभिन्न दातृ निकायको सहयोगबाट अस्थायी रूपमा ल्याएको खानेपानीको पाइप बगाउँदा पनौती क्षेत्र झन् ठूलो संकट उन्मुख भएको उनले बताए।
योभन्दा पनि उनलाई ठूलो पिरलो आउने बर्खाको छ।
अब करिब एक महिनापछि मनसुन सुरू हुन्छ। सरदर जेठको अन्तिम साता नेपालमा मनसुन भित्रने गर्छ।
आउने बर्खामा सरदरभन्दा बढी पानी पर्ने विभिन्न प्रक्षेपणले देखाएका छन्। प्रि–मनसुन याममा सरदर परेकै वर्षा (वैशाख ३० गतेसम्म १४१.१० अर्थात औसतको ६१.६ प्रतिशत वर्षा भएको ६) ले समस्या निम्त्याइरहेका छन्।
पनौती क्षेत्रमा सोमबार परेको पानी र त्यसपछि आएको भेलबाढीले आउने बर्खामा ठूलै अनिष्टको संकेत देखाएको नगरप्रमुख भण्डारीले बताए।
पनौती नगरपालिकाको २ र १२ नम्बर वडामा ढुंगा–बालुवा खानी तथा क्रसर उद्योगहरू छन्। त्यही उद्योगहरूले खोलाको किनारमा खानीबाट निस्किएको धूलो थुपारेको र वर्षातको पानीले त्यसलाई बगाउँदा असोजमा भेलबाढी निस्किएको थियो।
पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्र तहसनहस बनाएको थियो। रोशी किनारका बस्ती र सडक खण्डहर बनेको थियो।
गत असोजमा उक्त क्षेत्र (खोपासी) मा ३३१.६ (असोज १२ गतेको २४ घन्टाको वर्षा मापनका आधारमा) मिलिमिटर पानी परेको थियो। उक्त वर्षा ३ सेप्टेम्बर सन् २०१५ पछिको धेरै वर्षा हो। सन् २०१५ मा उक्त क्षेत्रमा २७६.९ मिलिमिटर पानी परेको अभिलेख छ।
असोज १० देखि १३ गतेसम्मको बाढीले उक्त क्षेत्रमा २०३८ सालपछि ठूलो विपत्ति निम्त्यायो। यद्यपि त्यस क्षेत्रमा २०२८ सालमा पनि बाढी गएको स्थानीय बताउँछन्।
अहिले त्यो घाउ खाटा नबस्दै, पुनर्निर्माण सुरू नहुँदै झन् ठूलो विपत्तिको संकेत गरेकाले नगरवासी त्राहिमाम् बनेको भण्डारीले बताए।
पनौती–४ का वडाध्यक्ष दीपकप्रसाद दहालले सोमबार त्यस भेगमा अत्यधिक वर्षा भएको बताए। यद्यपि जल तथा मौसम विज्ञान विभागले भने पनौतीको खोपासी केन्द्रमा सोमबार मध्याह्नदेखि साँझसम्मको अवधिमा ४३.२ मिलिमिटर मात्रै वर्षा मापन भएको बताएको छ।
‘मौसम विभागको रेकर्डले के देखाउँछ, त्यो हामीले थाहा पाउने कुरा भएन। तर यहाँका स्थानीयवासीहरू पनि गत असोजमा परेको भन्दा ठूलो वर्षा भएको बताउनुहुन्छ। धेरै लामो समय नपरेकाले थप क्षति हुन पाएन,’ वडाध्यक्ष दहालले भने।
खोपासीभन्दा माथि मौसम विभागको वर्षा मापन केन्द्र नभएकाले महाभारत पर्वत शृंखलामा कति वर्षा भयो भनेर भन्न सक्ने स्थिति छैन।
वडाध्यक्ष दहालले सोमबारको वर्षापछि भेलबाढी उत्पन्न हुनुमा दुइटा कारण देखेका छन्।
पनौतीका २ र १२ नम्बर वडामा बालुवा, क्रसर खानी छन्। त्योभन्दा दक्षिण–पश्चिमतिर र तल्लो भेगतिर ज्यादा वर्षा भएकाले खानीकै कारण भेलबाढी आयो भन्नसक्ने अवस्था छैन।
रोशी–कोलाँती क्षेत्रमा २५ वर्ष यता देखिएको दोहनको स्याटेलाइट इमेज।
दहालकाअनुसार वडा नम्बर ४ आसपास जग्गाको खण्डीकरण भइरहेको छ। प्लटिङको माटो नजिकैको खोला–खोल्सीमासमेत मिसाइएको छ। सोमबारको वर्षाले त्यो प्लटिङसमेत बिगारेको छ। प्लटिङको पुरुवा माटो वर्षाले बगाउँदा भेलबाढी निस्किएको हुन सक्ने उनले औंल्याए।
अर्को, त्यसभेगमा किसानहरू मकै छर्न बारीमा खनजोत गरिरहेका छन्। खेतबारीमा आलु खन्ने कामसमेत भइरहेकाले माटो खुकुलो भएको छ। प्रायः भिरालो जमिनको खुकुलो माटो वर्षातले बगाउँदा भेलबाढी उत्पन्न भएर तटीय क्षेत्रमा कटान र डुबानमा पारेको उनले बताए।
‘गत असोजकै प्रकृतिको बाढी जानुकोपछाडि प्लटिङ र खेतबारीको खुकुलो माटो एउटा कारण हुनसक्छ। यकिनका साथ भन्न त सकिएन, तर बाढीको प्रकृति हेर्दा त्यस्तै देखिन्छ, खन्न ठिक्क पारेको आलुबालीलाई एक मिटरसम्म पाँगो माटोले पुरेको छ,’ उनले भने।
नगरप्रमुख भण्डारीले अर्को कारण पनि देखाए।
उनका अनुसार गत असोजको भेलबाढीपछि पनौती क्षेत्रका अधिकांश खोलानालाको सतह बढेको छ। खोलाको सतह सरदर तीन मिटरसम्म उकासिएको उनले बताए। माथिल्लो तटीय क्षेत्रमा त्योभन्दा बढी छ।
खोलाको सतह बढेकाले एकझर पानी पर्नेबित्तिकै तटीय क्षेत्रमा रहेको बस्ती र खेतबारीतिर पस्ने अवस्था रहेको उनले बताए।
सोमबार ठूलो पानी परेकाले जंगल क्षेत्रबाट काठपातसमेत बगाएर ल्याएको थियो। ठाउँठाउँमा त्यसले निकासमा अवरोध पुर्याउँदा भेल बस्ती र खेतबारीतर्फ सोझिएको थियो।
उनले खोलाको सहत बढेकाले खार्न (गहिर्याउन) नगरपालिकाले प्रयास गरिरहेको बताए। चालु आर्थिक वर्षमा नगरपालिकाले एक पटक सूचना निकालिसकेको छ। तर कसैको पनि आवेदन परेको छैन। नगरपालिकाले दोस्रो पटक सूचना निकाल्ने तयारी गरिरहेको छ।
‘हामीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेका छौं। इआइए प्रतिवेदनमा पहिलो वर्ष डेढ मिटरभन्दा बढी खोला गहिर्याउन नमिल्ने प्रबन्ध भएकाले कोही फर्म पनि इच्छुक देखिएनन्। पहिलो वर्ष डेढ मिटर र बाँकी दोस्रो वर्ष गहिर्याउनुपर्ने रहेछ। तीन मिटर भन्दा गहिर्याउन नमिल्ने रहेछ। यही कारणले समयमा खोला गहिर्याउन सकिएन। सानै भेल आउँदा पनि बस्ती र खेतबारीतर्फ सोझिने अवस्था बन्यो,’ उनले भने।
पनौती क्षेत्रमा सोमबार के कारणले भेलबाढी उत्पन्न हुने परिस्थिति आयो भनेर जल तथा मौसम विज्ञान विभागले पनि अध्ययनको तयारी थालेको छ। विभागको आँकडाअनुसार सोमबार ६ घन्टामा खोपासी केन्द्रमा ४३ मिलिमिटर वर्षा भएको छ। उक्त अवधिको वर्षा मध्यम हो। ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई विभागले मध्यम वर्षा भन्ने गर्छ। मध्यम वर्षाले यत्तिको विध्वंश ननिम्त्याउनुपर्ने भनेर विभागले पनि ठानिरहेको छ।
खोपासी क्षेत्रमा सोमबार ६ घन्टामा परेको पानीको तथ्यांक। स्रोतः जल तथा मौसम विज्ञान विभाग।हाल विभागले २४ घन्टा अवधिको वर्षाको प्रभावलाई हेरेर मूल्यांकन गरिरहेको छ। यो घटनाले ६ घन्टाको आधारमा पनि प्रभाव विश्लेषण गर्नुपर्ने रहेछ भन्ने ठाउँमा विभागलाई पुर्याएको मौसमविद् रोजन लामिछानेले बताए।
‘सोमबारको पनौती क्षेत्रका मौसमी घटनाको अध्ययन गर्ने तयारी गरिरहेका छौं। हाम्रो अध्ययन–विश्लेषणपछि नै ठोस कारण बताउन सकिएला,’ उनले भने।
यद्यपि मौसमविद्हरूले मध्यम वर्षा भए पनि छोटो अवधिमा धेरै पानी पर्दा भेलबाढीको रूप लिएको बताएका छन्। २४ घन्टाको अवधिमा रोकिँदै पर्ने पानीले भन्दा कम अवधिमा पर्ने ठूलो पानीले स्वाभाविकरूपमा धेरै असर पुर्याउने उनीहरूले बताएका छन्।
यही कारण कम समयमा परेको मध्य वर्षाले पनौतीमा क्षति पुर्याएको हुनसक्ने उनीहरूको बुझाइ देखिन्छ।