नेपाली समाजमा ‘कमाइ कति’ भन्ने प्रश्न एउटा व्यक्तिले जन्मेदेखि नमरेसम्म सामना गरिरहनु पर्ने प्रश्न हो। बरु देशै छुट्ला, साथीभाइ छुट्लान्, परिवार नै टाढिएलान् तर यो प्रश्नले कहिल्यै कसैलाई छोड्ने छैन।
प्रश्नको सुरुवात जन्मिएको दिनदेखि सुरु हुन थाल्छ। कुनै व्यक्ति जन्मिँदा एकातिर हर्षको लहर बगिरहेको हुन्छ। तर भेट्न आउनेको पहिलो प्रतिक्रिया हुन्छ- ‘बुढेसकालमा सुख पाउने भयौ। ल बधाई छ।’ अर्थात् भर्खरै जन्मिएको शिशुले बुढेसकालमा कमाएर पाल्नेछ।
शिशु मुस्कुराइरहेको हुन्छ। उसले सपना के देखेको होला, थाहा छैन। तर समाजको सपना ऊप्रति कति स्पष्ट छ— उसले कमाउने छ र परिवार पाल्नेछ। यहीँबाट सुरु हुन्छ एउटा नेपालीको जीवन कथा। जहाँ जन्मिँदै 'कमाइ' शब्दले स्वागत गर्छ र मर्दासम्म पनि त्यसैको लेखाजोखा हुन्छ।
उसलाई स्कुल पठाइन्छ र भनिन्छ- ‘राम्ररी पढ है, इन्जिनियर बन्नुपर्छ, डाक्टर बन्नुपर्छ र धेरै कमाउनु पर्छ।’ बालापनमै उसलाई सिकाइन्छ— सपनाभन्दा 'सेलरी स्लिप' ठुलो हो।
उसले ब्याचलर सक्छ। फेसबुकमा अपडेट गर्छ। अनि कमेन्टमा बधाई त आउँछ तर सँगै जोडिएर आउँछ उही कुरा, ‘अब जागिर खानु पर्यो। धेरै कमाउनु पर्यो।’
उसले प्रयास गर्छ। देशभित्रको सम्भावनामा रमाउँछ। तर समाज हेरिरहन्छ उसको 'कमाइ ग्राफ'।
उसले सोच्छ, म नयाँ स्टार्टअप सुरु गर्छु। अनि उत्तर स्वरमा झन् तेज प्रश्न पाउँछ, ‘त्यसले कमाइ त केही हुँदैन होला! किन खालि सपना मात्रै देख्ने?’
जब कोही भेट हुन्छ र सोध्छ— ‘के गर्दै छौ?’ उसले मुस्कुराउँदै केही वाक्य पनि पूरा गर्न पाएको हुँदैन उसलाई बिचमै फेरि प्रतिप्रश्न गरिन्छ, ‘त्यो त बुझेँ कि अनि कमाइ चाहिँ कति हुन्छ त?’
यो केवल प्रश्न होइन, नेपाली समाजको मूल्यांकनको तराजु हो। जसले भावना, सपना, सृजनशीलता सबथोकभन्दा माथि पैसाको अंकलाई राखेको छ। उसको परिचय, योगदान र संघर्षहरू अन्ततः यसै एक प्रश्नमा खुम्चिन्छ। मानौँ ऊ मान्छे होइन, ‘बजेट रिपोर्ट’ हो।
उमेर बढेसँगै ऊ कसैप्रति आकृष्ट हुन्छ। सम्बन्ध सुरु गर्छ। तर मायाको सुरुवातमा प्रश्न उही आउँछ, ‘काम के गर्नुहुन्छ त? अनि कमाइ?’ उसले माया प्रकट गर्छ। गहिरो भावनाले प्रस्ताव राख्छ। उत्तर आउँछ, ‘परिवारलाई सोध्नुपर्छ। तपाईंको कमाइ चाहिँ कति हो?’
सम्बन्ध अब प्रेमको उपज रहेन। यो त 'आयकर विवरण प्रमाणपत्र' जस्तो बन्न पुगेको छ। भावना भन्दा कमाइ र डलरको कदर पहिले गर्छ समाजले।
अन्ततः सधैँको एउटै प्रश्नबाट आजित भएर कमाउनकै लागि आफ्नो सपना मारेर ऊ विदेश पुग्छ र काम थाल्छ। त्यसपछि पनि उसलाई सोधिन्छ, ‘घण्टाको कति? अब त घर बनाउने होला!’
जब ऊ बाबु/आमा हुने पल आउँछ। एउटा नयाँ जीवन उसको अँगालोमा हुन्छ। तर त्यही फोटोमुनि कमेन्ट आउँछ, ‘बधाई! अनि अब त तिम्रा पनि खुसीका दिन आउने भए। ठुलो भएर उसले कमाएर पाल्नेछ।’
मानौँ नाल काटिएसँगै उसको भविष्यले डलरको गन्ध पाइसकेको छ। शिशुको तौलभन्दा 'कमाइ क्षमताको अनुमान' ठुलो हुन्छ।
जीवनभर काम गरेपछि अब ऊ रिटायर हुन्छ। लाठी टेक्दै बिस्तारै हिँड्छ। त्यो बेला पनि एक युवाले उसलाई सोध्नेछ, 'जीवनमा के गर्नु भयो त?' उसले 'बाँचेँ, माया गरेँ, संघर्ष गरेँ' भन्न पाउँदा नपाउँदै पुरानै प्रश्नको सामना उसले गर्नुपर्नेछ र सोधिनेछ, 'अनि कमाइ गर्नुभयो त?’
जिन्दगीको सम्पूर्ण लेखाजोखा यही एउटा प्रश्नमा खुम्चिएको छ। त्यो बेला उसले सोच्नेछ, ‘सम्भवतः मेरो जीवन त सस्तोमा बेचिएको रहेछ।’
हाम्रो समाजमा मानिसको मूल्यांकन उसको कमाइले गर्ने गरिन्छ। कलाकारलाई सोधिन्छ- एउटा कार्यक्रमको कति चार्ज गर्छौ? कलाकारिता गरेर पनि जीवन चल्छ र? लेखकलाई सोधिन्छ- किताबले कति कमाइ गर्यो? लेखेर पनि पुग्छ र?
कलाकार, लेखक, कवि, गीतकार सबै आफ्नो सृजनशीलता पोखिरहेका हुन्छन्। तर दर्शक र समाजले सोध्ने प्रश्न उही रहन्छ, 'ए! राम्रै रहेछ अनि कमाइ कति हुन्छ नि?'
यो प्रश्नले सिर्जनालाई अपमान गर्छ। जब समाज यसलाई कमाइसँग तुलना गर्छ तब प्रतिभा कुहिन्छ। गायकले स्वर गुमाउँछ। चित्रकारले क्यानभास जलाउँछ। लेखकले कलम थन्काउँछ।
समाजको यही मानसिकता र लगातारको एउटै प्रश्नले रचनात्मकता मर्दै गएको छ। सम्बन्धमा नाफा-घाटा हेर्न थालिएको छ। मानिसलाई मानिस हैन रोबोट बनाउन खोजिँदै छ। 'घण्टाको दर' ले सफलता मापन गर्न थालिएको छ। 'सफल जीवन' भन्नाले 'घर, गाडी, बैंक ब्यालेन्स' हो भन्ने बुझाइ छ।
पश्चिमी मुलुकहरूमा मानिसको आत्मसम्मान उसले कसरी 'बाँचिरहेको' छ भन्नेमा केन्द्रित हुन्छ। डेनमार्क संसारकै सबैभन्दा खुसी राष्ट्र हो। किनकि उनीहरूले पैसाभन्दा जीवन सन्तुलनलाई प्राथमिकता दिएका छन्। तर हाम्रो नेपाली समाजमा पैसा नकमाउने मान्छे 'फेल' ठहरिन्छ। सन्तुलित जीवनलाई 'टाइम पास' मानिन्छ।
यही बारम्बारको एउटै प्रश्नले मानिसभित्रको मानवता हराउँदै गएको छ। आँसु सस्तो बनेको छ। भावना निरुपयोगी साबित बन्न पुगेको छ। कला केवल प्रचारको माध्यम भएको छ। कामलाई तब मात्र काम भनेर बुझिन्छ जब त्यो पैसामा परिणत हुन्छ।
'कमाइ कति?' भन्ने प्रश्न केवल सामाजिक कुरा होइन। यो मानसिक तनावको मूल कारण पनि हो। यही प्रश्नका कारण नवयुवकहरू आत्मग्लानिमा बाँचिरहेका छन्। उनीहरूलाई लाग्छ, 'कम कमाउने' भनेको 'कमै व्यक्ति हुनु' हो। यसले आत्मविश्वास मर्छ, तनाव बढ्छ, डिप्रेसन सामान्य हुन्छ।
वास्तवमै बारम्बार सोधिने यो प्रश्न हाँसोलाग्दो छ। त्यही हाँसोभित्र लुकेको छ दबाब, निराशा, पीडा र सामाजिक प्रताडना। कसैले सोध्दा, त्यसलाई मुस्कुराएर टार्न सकिन्छ। तर प्रत्येक पटक त्यो प्रश्नले आत्मालाई घोचिरहन्छ। कमाइ मात्र जिन्दगीको मूल्य हो? माया, सम्बन्ध, भावना, सृजनशीलता, संघर्षको कुनै मूल्य छैन?
कमाइ पक्कै आवश्यक कुरा हो। तर 'मानव मूल्य' भन्दा ठुलो हैन। अब समय आएको छ, प्रश्न फेर्ने। हाम्रो प्रश्न यस्तो हुनुपर्छ कि जसले उसलाई अगाडि बढ्न प्रेरित गरोस्। प्रश्न हाम्रो हृदयबाट आउनुपर्दछ न कि हैसियतको तुलोबाट। किनकि जिन्दगी यात्रा हो। नाफा-नोक्सानको हिसाब होइन।