पाकिस्तानकी सीमा र भारतका सुरजको प्रेम कहानी अहिले भारत र पाकिस्तानका मिडियामा चर्चाको विषय बनेको छ।
शुक्रबार नोयडाको एउटा अदालतले पक्राउ परेका उनीहरू दुबै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि यो फिल्मी प्रेम कहानीले तत्कालका लागि सुखद मोड लिएको छ।
पाकिस्तानको कराँचीकी सीमा र भारत उत्तर प्रदेशका सुरज मीनाको देश, उमेर, धर्म केही पनि मिल्दैनथ्यो। तर उनीहरूको मन मिल्यो। दुबै जनाको मन मिलेपछि तीन वर्षपछि यो जोडी सँगै बस्न स्वतन्त्र भएको छ।
सन् २०२० मा कोरोनाभाइरसको महामारी थियो। भारत र पाकिस्तान दुबै देशमा लकडाउन थियो। त्यही बेला सीमा र सुरज पब्जी खेल्न थाले।
पब्जी खेल्ने क्रममा उनीहरूबीच चिनजान भयो। चिनजान पछि मोबाइल नम्बर साटासाट भयो। कुराकानी बाक्लिन थाल्यो। कुराकानीसँगै उनीहरूबीच प्रेम झाँगिन थाल्यो।
झाँगिएको प्रेमलाई विवाहमा परिणत गर्न सहज थिएन। एकातिर भारत र पाकिस्तानको राजनीतिक सम्बन्धले नागरिकहरू सहजै एक-अर्काको देशमा आउजाउ गर्न पाउँदैनन्। अर्कातिर सीमाको विवाह भइसकेको थियो। उनका चार वटा बच्चा थिए। यता सुरजको आर्थिक अवस्था मजबुद् थिएन। उनी भिसा लगाएर, जहाज चढेर पाकिस्तान जान सक्दैनथे।
सीमाले हिम्मत गरिन्। दुबै जनाले काठमाडौंमा भेट्ने योजना बनाए। सीमा नै भिसा लगाएर काठमाडौं आउने भइन्।
उनले नेपालको भिसा लगाइन्। जहाजको टिकट काटिन्। पहिलो पटक जहाज चढेर उनी दुबई पुगिन्।
‘जहाज चढ्नासाथ मेरा दुबै कान बेस्सरी दुखेका थिए। पहिला कहिल्यै जहाज नचढेकाले होला,’ बिबिसी हिन्दीसँगको अन्तर्वार्तामा सीमाले भनेकी छन्,‘दुबईमा ११ घन्टा कुर्नुपर्यो। मलाई धेरै डर लागेको थियो, निदाउन पनि सकिनँ।’
मार्च १० तारिखको साँझ सीमा त्रिभुवन विमानस्थलमा झरिन्। सुरज त्यो दिन बिहानै काठमाडौं आइसकेका थिए।
मार्च १३ गते यो जोडीले पशुपतिनाथमा हिन्दु परम्पराअनुसार विवाह गर्यो। सचिनले सीमाको सिउँदोमा सिन्दुर हालिदिए।
‘पशुपतिमा हिन्दु परम्पराअनुसार विवाह गरेपछि उनी हिन्दु भइन्। सात दिन सँगै बसेर उनी पाकिस्तान गइन्, म भारत फर्किएँ,’ सचिनले भनेका छन्,‘छुट्टिएपछि थाहा भयो, हामीलाई त एक-अर्काबिना बाँच्न निकै मुस्किल रैछ।’
त्यसपछि सीमाले सधैँका लागि भारत आउने योजना बनाइन्। १० वर्षअघि १७ वर्षको उमेरमा विवाह भएकी सीमाका पति साउदी अरब गएका थिए। उनका बुवा आमा बितिसकेका थिए। एक भाइ र बहिनी पनि आफ्नै काम गरेर पाकिस्तानमा बसिरहेका छन्।
उनले आफ्नो नाममा रहेको सम्पत्ति बेचिन्। आफ्ना चार जना छोराछोरीको पनि नेपाल आउने भिसा लगाइन्।
गत मेमा फेरि उनी नेपाल आइन्। बच्चासँगै नेपाल आएकी उनी बस चढेर पोखरा पुगिन्। त्यहाँबाट दिल्ली गइन्।
‘नेपाल-भारत सीमामा के-के चेकिङ हुन्छ भनेर म नेपालका महिलाहरूलाई सोध्थें। उनीहरूले मलाई सबै बताइदिन्थे,’ सीमाले भनेकी छन्,‘मेरा बच्चाहरू पनि देखेर होला सीमामा सुरक्षाकर्मीले मलाई अलि दया देखाए। म भारत आउन पाएँ।’
उनी मे १३ मा भारत पुगिन्।
सचिनले नोयडानजिकैको आफ्नो ठाउँमा सीमालाई बस्ने सबै व्यवस्था बनाएका थिए। एक महिनासम्म उनीहरू लुकिछिपी बसे।
पशुपतिमा विवाह गरेका उनीहरूले छोराछोरीको जन्मदर्ता र पढाइ लेखाइका लागि भारतमा कानुनी विवाह गर्नुपर्ने ठाने।
‘हामीले एक जना वकिललाई यो कुरा भन्यौं। वकिलबाट कुरा प्रहरीकहाँ पुगेछ। प्रहरीले हामीलाई पक्राउ गर्यो,’ सचिनले भने।
सीमालाई भिसाबिना गैरकानुनी रूपमा भारत प्रवेश गरेको र सचिनले उनलाई सेल्टर दिएको अभियोगमा प्रहरीले उनीहरूलाई हिरासतमा लिएको थियो।
‘मलाई त अब केही महिना जेलमै बस्नुपर्छ होला भन्ने लागेको थियो तर अदालतले धरौटीमा रिहा गरिदियो,’ सीमाले भनेकी छन्,‘मलाई निकै खुसी लागेको छ। अब त म भारतीय भइसकें। कागजमा मात्र पाकिस्तानी छु।’
जस्तोसुकै परिस्थिति आए पनि सचिनलाई छोडेर पाकिस्तान फर्केर नजाने उनले बताएकी छन्। पहिलाका पतिसँग आफ्नो तलाक भइसकेको उल्लेख गर्दै सीमाले औपचारकिताका लागि कागज पठाइदिने बताइन्।
‘पाकिस्तान पनि एउटा देश हो। जहाँ म जन्मिएँ, हुर्किँए ठूली भएँ तर अब भारतमै बस्छु,’ सीमाले भनिन्,‘कसैले पाकिस्तान जानुपर्छ भन्यो भने बरू म विष खाइदिन्छु तर उनलाई छोडेर पाकिस्तान जान्नँ,’ उनले भनिन्।
२२ वर्षका सचिनले पनि सीमाका बच्चालाई आफ्नै बच्चाजस्तो ठानेको बताएका छन्।
‘उनका बच्चा मेरा पनि बच्चा हुन्,’ सचिनले भने,‘अहिले बच्चा खुसी छन्, उनी खुसी छिन्, म खुसी छु।’
(एनडिटिभी, बिबिसी हिन्दीलगायत भारतीय सञ्चारमाध्यमका विवरणमा आधारित।)