केही वर्षयता आफ्ना पुस्तकहरूमार्फत् हामीलाई ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाईंको अर्को नयाँ पुस्तक बजारमा आउन भएको छ।
पब्लिकेशन्स नेपालयबाट छिट्टै सार्वजनिक हुन लागेको प्रसाईंको आगामी पुस्तकको नाम हुनेछ, ‘वरिपरि नै सर्वोपरि’।
संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन्समार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सधैं तन्नेरी’ दिइसकेका छन्।
प्रसाई अमेरिकामा स्वास्थ्यसम्बन्धी विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन्। उनले दुई दशकभन्दा बढी समयदेखि जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।
उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता छ। खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । प्रसाईंले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन्।
यसअघिको पुस्तकहरूमा खानपान र स्वस्थ्य जीवनशैली सिकाउने प्रसाईंले अबको पुस्तकमा भने पाठकहरूलाई हामी र हाम्रा वरपरको प्रकृतिबारे वर्णन गर्नेछन्। उनको मन्त्र हुनेछ –
जोगाएर राखौं
हावामा अक्सिजन
जमिनमाथि वनस्पति
जमिनमुनि पानी
किनकि
यिनैमा टिकेको हुन्छ
हामी सबैको जिन्दगानी
पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔं हरियाली’, ‘गुणकारीलाई चिनौं’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शिर्षक र उपशिर्षकहरुमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन्।
हाम्रा वरिपरि प्रकृतिमै के कस्ता कुराहरू छन् र त्यसले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गर्नुका साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनु पर्ने तर्कहरू पुस्तकमा गरिएका छन्।
यिनको बेलैमा संरक्षण गरिएन भने आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईले सतर्क पनि गराएका छन्।
प्रसाईंले आफ्नो अनुसन्धानबाट फेला पारेका कुराहरू पनि पुस्तकमा उल्लेख गरेका छन्। जस्तो कि शरीरको प्रतिरक्षा प्रणालीलाई सबल बनाउने फाइटोकेमिकल र पोलिफेनोल हाम्रो शरीरले कहाँबाट कसरी प्राप्त गर्छदेखि लिएर त्यस्तो गुणकारी तत्व कतिवटा वनस्पतिमा पाइन्छ भन्ने कुरा समेत उनले पुस्तकमा उल्लेख गरेका छन्।
मानवीय गल्तीले गर्दा दही र तोफुजस्ता लाभकारी खाद्यपदार्थहरु कहिले र कसरी उत्पादन हुनपुगेको थियो भन्ने रोचक जानकारीहरु पनि पुस्तकमा छन्।
‘मेरा अघिल्ला पुस्तकहरू जीवनशैली र खानपिनमा मात्र केन्द्रित थियो,’ लेखक प्रसाईं भन्छन्, ‘यसपटक भने हामी जस्तो वातावरणले घेरिन्छौं त्यस्तै हुन्छौं भन्ने व्यापक अर्थमा मानव जीवनलाई जोड्ने कोशिस गरेको छु।’