प्रायः व्यंग्यात्मक शैलीमा प्रस्तुत हुने हाँस्य कलाकार एवम् निर्माता दीपकराज गिरी केही भिन्नै अवतारमा देखिँदैछन्। सञ्चारकर्मी रवि लामिछाने लगायतले सुरू गरेको नयाँ टेलिभिजन च्यानल 'ग्यालेक्सी फोरके' बाट प्रसारण हुन लागेको 'क्राइम पेट्रोल नेपाल'मा दीपक प्रस्तोताका रूपमा प्रस्तुत हुँदैछन्।
नेपालमा निकै रूचाइएको अपराध-अनुसन्धानसम्बन्धी भारतीय रियालिटी कार्यक्रम 'क्राइम पेट्रोल' को नेपाली संस्करणमामा दीपक गम्भीर पात्रमा देखिने भएका हुन्।
'म कार्यक्रममा सूत्रधारको भूमिकामा प्रस्तुत हुँदैछु। दर्शकहरूका लागि मात्र होइन, आफैंलाई पनि यो नयाँ अनुभव हुँदैछ,' दीपकले सेतोपाटीसँग भने।
कार्यक्रमका लागि रवि लामिछाने र उनको टोलीबाट प्रस्ताव आएको केही समयपछि मात्रै आफूले मन्जुरी जनाएको दीपक बताउँछन्। सुरूका केही दिन 'म यसका लागि सक्षम छु कि छुइनँ' भनेर अल्झिएको दीपकको भनाइ छ।
'कार्यक्रमको टोलीसँग भेटवार्तामा म एकै शैलीमा प्रस्तुत भइरहने वा नयाँ ढंगमा प्रस्तुत भएर आफैंलाई चुनौती दिने भन्ने छलफल चल्थ्यो,' दीपकले भने, 'यो कार्यक्रम फरक धारको भएकाले यसलाई अवसर र नयाँ चुनौतीका रूपमा लिएर सहमति जनाएँ।'
'क्राइम पेट्रोल नेपाल'मा होस्ट गरेसँगै दीपक लामो समयपछि टिभीमा देखिँदैछन्। योसँगै उनी फिल्म क्षेत्रलाई पनि निरन्तरता दिने बताउँछन्।
केही समयदेखि आफ्नो ध्यान हाँस्यस्पद कमेडीमा भन्दा सामाजिक र राजनीतिक यथार्थ बुझाउने कथामा गएको दीपक बताउँछन्। उनी निर्देशित फिल्म 'छक्का पन्जा', 'वडा नं ६', 'छ एकान छ' लगायत फिल्मका पटकथा पनि बढी राजनीतिक र सामाजिक कथा समेट्ने खालका छन्।
युट्युब जस्ता सामाजिक सञ्जालमा विभिन्न नेपाली घटनामा आधारित अपराधसम्बन्धी कार्यक्रमहरू प्रसारण भइरहेका छन्। तर, ती घटना सत्य हुन् भन्नेमा कुनै आधिकारिता छैन। यस्तोमा 'क्राइम पेट्रोल नेपाल'ले नेपाली समाजकै यथार्थ घटना देखाउने प्रयास टोलीले गर्ने दीपक बताउँछन्।
'क्राइम पेट्रोल नेपाल' हप्तामा ४० देखि ४५ मिनेटको एक श्रृंखला प्रसारण हुने हिसाबमा तयारी भइरहेको दीपकले जानकारी दिए। प्रत्यक घटना दुईदेखि तीन श्रृंखलामा गरेर प्रसारण हुनेछ।
'ग्यालेक्सी फोरके' च्यानल घोषणा मंगलबार भएको हो। रवि लामिछाने यसका म्यानेजिङ डाइरेक्टर हुन्।
जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाइ छ।
ग्यालेक्सीमा आउने मुख्य कार्यक्रम र प्रस्तोता यसप्रकार छन्ः
क्राइम पेट्रोल नेपाल- दीपकराज गिरी
को बन्छ करोडपति- राजेश हमाल
सारेगम लिटिल च्याम्प्स- इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा
कामका कुरा- रवि लामिछाने
आविष्कार- महावीर पुन
फरएभर- नवराज पराजुली
लाल मोहर- रमेश प्रसाईं।
यी बाहेक नेपाली भाषाको रामायण, द लिडर, लगायत कार्यक्रम प्रसारण हुनेछन्।