नयाँ नेपालको अवाज बुलन्द बनाएको कैयन दशक बितिसक्यो। आखिर के हो त नयाँ नेपाल भनेको? दिन बदलिनु नयाँ नेपाल हो या राजनीतिक परिवर्तन हुनु मात्र नयाँ नेपाल। किन हामीले समुन्नत नेपाल भन्न नसकेको? राजनीतिक परिवर्तन, देशको झन्डा परिवर्तन वा नाम परिवर्तन गरेर राजनतिक भाषाको नयाँ नेपाल त बन्ला तर जनताको भाषाको समुन्नत नेपाल बन्दैन। नेपाललाई समुन्नत बनाउने हो भने एउटै सगरमाथा काफी छ वा एउटै लुम्बिनी काफी छ। हामीलाई एउटा राष्ट्रिय चिन्तन भएको राष्ट्र नायकको खाँचो छ। समुन्नत नेपाल बनाउन यी केही योजनाहरु उपयोगी हुन सक्छन्
सिंहदरबार
झन्डै एक वर्ग किलोमिटर क्षेत्रफलमा रहेको नेपालको प्रमुख प्रशासनिक केन्द्रलाई विकेन्द्रीकरण गर्ने। २७ किलोमिटर गोलार्धको चक्रपथ वरिपरि प्रत्येक किलोमिटरमा एउटा मन्त्रलय स्थानन्तर गर्ने। सिंहदरबारको सम्पूर्ण मन्त्रालय भएका भवनहरुलाई पर्यटन क्षेत्रमा उपयोग गर्ने।
चन्द्र समशेरले निर्माण गरेको प्रधानमन्त्री कार्यालयलाई ५-७ तारे होटेल बनाउने! त्यस्तै अरू भवनहरुलाई विभिन्न तारे होटेल र रेस्टुरेन्ट निर्माण गर्न सकिन्छ।
सिंहदरबारको कम्पाउण्ड भित्र कुनै पनि पेट्रोलियम सवारी साधनलाई प्रवेश निषेध गरेर बग्गी वा रिक्साको प्रयोगगरि प्रदुषण मुक्त नमुना मिनी शहरको निर्माण गर्न सकिन्छ।
काठमाडौं साइकल मैत्री शहर
काठमाडौं उपत्यका आफैंमा एउटा साइकल मैत्री शहर हो। दुरीको हिसाबले २७ किलोमिटर चक्रपथ गोलार्धभित्र एउटा कुनाबाट अर्को कुना पुग्न सरदार ५ किलोमिटर दुरी पार गर्नुपर्छ। जुन दुरी साइकलमा १५-२० मिनेटमा पार हुन्छ।
मौषमको हिसाबले काठमाडौंको तापक्रम गर्मीमा ३३-३४ भन्दा माथि जाँदैन प्राकृतिक हिसाबले उपत्यका भित्र साइकल ठेलेर उक्लिनुपर्ने कुनै ठाउँ छैन। काठमाडौं उपत्यकामा दैनिक चल्ने ९ लाख मोटरसाइकल र दुई लाख निजी सवारी साधन कम्तिमा हप्तामा एकदिन नचलाउने हो र साइकल कुदाउने हो भने हामी ११ लाख लिटर तेल बचत गर्छौं। अर्थात् हप्तामा ११ करोड खुद बचत हुन्छ। यसरि काठमाडौंलाई साइकल मैत्री शहर अनि सफा हावा मैत्री बनाउन सकिन्छ।
मेट्रो रेल
काठमाडौं उपत्यकाको सडक क्षमताभन्दा बढी गुड्ने सवारी साधनको विकल्पलाई मेट्रो रेलले सत प्रतिशत पुरा गर्नसक्छ। संसारको विभिन्न देशमा निर्माण भएको मेट्रो रेलको प्रयोगलाई हेर्ने हो भने चक्रपथको बीच भागमा पिल्लर ब्रिज निर्माण गरेर २७ किलोमिटर लामो दुई लेनको रिङ्ग मेट्रो रेल निर्माण गर्न सकिन्छ। त्यस्तै उपत्यकाका विभिन्न नदिमाथि पनि चोभारदेखि गोंगबुसम्म बिष्णुमति मेट्रो, बल्खुदेखि पेप्सीकोलासम्म मनोहरा मेट्रो, टेकुदेखि पशुपतिसम्म बागमती मेट्रो, थापाथलीदेखि कपनसम्म रूद्रमती मेट्रो आदि निर्माण गर्ने हो भने काठमाडौं उपत्यकाको यातायात नियन्त्रण मात्र होइन सयौं वर्षसम्म शहर निर्माणको सुन्दरता प्रस्तुत हुनेछ।
रेड लाइट एरिया
संसारमा कुन चाही यस्तो देश होला जहाँ यौन नियन्त्रण भएको वा यौन बिनाको जीवन चलेको। प्राकृतिक बरदान वा नियमलाई जति नै नियन्त्रण गर्यो त्यसले त्यति नै विकल्प अनि उन्मुक्ति खोज्छ। त्यसैले संसारका कैयन बिकशित मुलुकहरुमा जस्तै नेपालमा पनि खुल्ला यौनशाला (रेडलाइट एरिया) निर्माण हुनु जरूरि छ। थाईल्याण्ड यौन पर्यटनले आज एसियाको सम्पन्न मुलुकमा उभिइसक्यो। थाईल्याण्डलगायत विश्वमा यौनलाई आफ्नो स्वतन्त्र जीवनसँग अगाल्ने देशहरू जस्तै नेपालमा रेड लाइट एरिया चाहिन्छ।
खुल्ला जेल
विश्वका विकसित मुलुकहरुमा जेललाई सुधार गृह भनिन्छ। कुनै पनि अपराध गरेर सजाय पाएका मान्छेलाई उसको अपराधको प्रकृति हेरी फरक फरक ठाउँमा राखिन्छ। कतिपय बिकसित मुलुकमा सुधार गृह (जेल) भित्रै फुटबलदेखि गल्फसम्म खेल्ने मैदान हुन्छ। खेलमा चासो नराख्ने तर श्रम गर्न चाहनेको लागि कृषि पेशामा संलग्न हुन खेति योग्य जमिन प्रसस्त उपलब्ध हुन्छ। हाम्रो देशमा विभिन्न खेल मैदानसहित खुल्ला जेल निर्माण गर्न नसके पनि खेतियोग्य जमिनमा खुल्ला जेल निर्माण गरेर देशमा बन्दी जीवन बिताईरहेका हजारौं बन्दीको बन्द श्रमलाई उपयोग गर्न सकिन्छ।
केबुल कार
देशको पहाडी हिमाली प्राकृतिक सुन्दरतालाई यथावत राख्नको लागि सडक भन्दा केबुलकार बढी प्रभाबकारी देखिन्छ। नेपालका कतिपय विश्व प्रसिद्ध ट्रेकिंङ मार्गहरू (अन्नपूर्ण सर्किट, पूर्वतिर मनाङ, पश्चिमतिर मुक्तिनाथ) सडकको संजालले गर्दा ध्वस्त भयो। विश्वका कतिपय देशहरु एउटै स्थान (ल्याण्डमार्क) ले विश्व प्रसिद्ध छन् र तिनै स्थानको कारणले संसार भरिका पर्यटकलाई आकर्षित गर्छन्।
फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर हेर्न मात्र बर्सेनी करोडौं पर्यटक आउँछन्। हामी पनि विश्वको सर्वोच्च शिखर सगरमाथालाई नेपालको ल्याण्डमार्क बनाउन सक्छौं।
लुक्लादेखि कालापथ्थरसम्म १०-१५ किलोमिटर लामो केबुलकार निर्माण गर्न सकिन्छ। कालापथ्थरमा कुनै तारे होटल निर्माण गर्न सकिन्छ। काठमाडौंबाट उडेको २० मिनेटमा लुक्ला झरेर अर्को ३०-४० मिनेटमा कुनै पर्यटक कालापथ्थर पुगेर सगरमाथा अगाडि उभिन पुग्छ। एउटा पर्यटक एकै दिनमा काठमाडौंबाट हिँडेर केहि घण्टामा सगरमाथा हेरेर लन्च, चिसो बियर खाएर फर्किन वा बास बस्नसक्छ। यो विश्व पर्यटन क्षेत्रमा आकर्षक नयाँ गन्तब्य बन्न सक्छ। यसले आफ्नै देशमा उभिएको विश्वको सर्वोच्च शिखरलाई देख्न नसक्ने करोडौं अन्तरिक पर्यटकलाई आकर्षित गर्नेछ।
ग्रेट हिमालय ट्रेल
संसारकै सबैभन्दा लामो र उचाईमा रहेको ट्रेल ‘ग्रेट हिमालय ट्रेल’ प्रचार प्रसारको लागि विश्वका कैयन गैरसरकारी संस्थाहरुले अर्बौं रूपैयाँ खर्च गरिसके। यो ट्रेललाई अझ चर्चित बनाएर पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न अन्तर्राष्ट्रियस्तरको साइक्लिङ तथा अल्ट्रा म्याराथन प्रतियोगिता गर्न सकिन्छ।
राजधानी
एउटा कुरा के सत्य हो भने काठमाडौं उपत्यका सहर निर्माणको लागि भन्दा कृषिको लागि बढी उपयोग हुनुपर्छ।
यो उपत्यकामा भएको मलिलो माटो कृषि उत्पादनको हिसाबले संसारकै उत्कृष्ट माटोमा पर्छ। बसाईसराइ र सहरीकरणको विकासले काठमाडौँ उपत्यकाको मलिलो माटो बिनास भयो। साथै यहाँ उपस्थित जनसंख्यालाई पुग्ने पानी, बिजुली ,सडक प्रसस्त अपुग छ। बिकसित मुलुकमा जमिनमा घर बनाउनु अगाडि सडक, पानी, बिजुली, टेलिफोन सम्पूर्ण पुर्वाधार पुगेपछि मात्र घर निर्माण गरिन्छ। हामीकहाँ त्यसको ठिक उल्टो छ। काठमाडौं उपत्यकालाई मात्र सपना देखेर थपिइरहने जनसंख्याको चापलाई नियन्त्रण गर्न राजधानीको विकल्प खोज्नु जरूरि छ। विश्वका विभिन्न देशमा जस्ता नेपालमा पनि न्यायपालिका , व्यवस्थापिका र कार्यपालिकालाई फरक फरक राजधानी राख्न सकिन्छ।
अन्तमा, यी सपना पुरा नहुने र गर्न नसकिने सपना हुँदै होइनन्। केही सपनाहरू आफैं पुरा गर्न सकिन्छ। आफ्नो हैसियतले पुरा गर्न नसकिने सपनालाई बेच्न सकिन्छ। सुन्दर सपनाहरु संसारका जुनसकै मानिस वा देशले किन्न सक्छ। नेपाल संसारकै सुन्दर हिरा हो। हामी हिरामाथि टेकेर हिरा खोजिरहेछौं। केवल यो हिरालाई चम्काउने सुन्दरकर्मीको खाँचो छ।