महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) ले मंसिर १९ गते आफ्ना सदस्य साथीहरूका बीचमा आत्मीयता बढाउनुका साथै १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा चेतना जगाउन वनभोज आयोजन गरेको थियो।
म पनि संस्थाको कार्यसमिति सदस्य भएकाले त्यहाँ उपस्थित भएँ। पर्यटनसँग सम्बन्धित धेरै संघसंस्था छन्। जसमा सम्बन्धित पद या आबद्धताका हिसाबले महिला सहभागिता शून्य भएको अबस्थामा हाम्रो संस्था स्थापना भएसँग धेरै महिला दिदी बहिनी यसमा समेटिनु भएको छ।
पर्यटन क्षेत्रमा ५०५ भन्दा बढी योगदान दिने महिलाहरुको आत्मविश्वासका साथै क्षमता र नेतृत्व विकास गरि पर्यटन क्षेत्रलाई अझ बढी स्तरीय बनाउने उद्देश्यका साथ यो संस्था २०७४ साउन ३१ गते स्थापना गरिएको थियो।
हामीले वनभोजबाट तीन कुरा फाइदा लियौं, पहिलो आपसमा सद्भाव बाँड्यौं। दोस्रो लैंगिक हिंसा विरुद्ध जानकारी बटुल्यौं र तेस्रो खुल्ला वातावरणमा रमायौं।
बिहान ७.३० बजे पोखरा, लेकसाइडको बसुन्धारा पार्कबाट सुरु भएको हाम्रा यात्राको गन्तव्य फेवातालको शिरान, सराङकोटको फेदी एवम् माछा पारखीका लागि अत्यन्तै प्रिय स्थान खपौंदि पुग्यो।
दुरीका हिसाबले नजिक भएता पनि अत्यन्तै रमणीयस्थल खपौंदिबाट फेवाताललगायत सराङ्कोट, विश्व शान्ति स्तुपका साथसाथै वरपरका हरिया डाडाँकाँडा देख्न सकिन्छ।
जतिसुकै आधुनिकता भित्रिएता पनि वनभोज भने खुला वातावरण जहाँ चौर हरियाली, रमणीय दृश्य जहाँबाट देखिन्छ त्यहाँ खाने गरिन्छ। यसै अनुरुप हाम्रो पिकनिकस्थल पनि भर्खरै धान काटेको खेतका गरामा थियो। त्यो स्थान, त्यो माहौलले एकपटक मलाई बालापनको स्मृति दिलायो।
दशैंको दक्षिणा र तिहारमा भैली खेलेर जम्मा पारेको पैसाले घर भन्दा केही पर खेतका गरा र वनमा गएर त्यसरी नै पकाउने खाने र नाच्ने गथ्र्यौं हामी। कहिलेकाहिँ नोस्टाल्जियामा पुग्दा पनि छुट्टै किसिमको आनन्दानुभूति हुन्छ।
आफ्नो घरव्यवहार र व्यवसाय धान्दै आएका हामी महिलालाई घर र व्यवसायबाट फुर्सद निकाल्न गार्है पर्छ तर पनि सबै कुरा व्यवस्थापन गर्दै बिहानैबाट हामी सहभागी बन्यौं। स्वच्छ प्रकृतिको काखमा बिहानीको खाजासँगै नाच्ने, गाउने क्रम सुरु थियो। पर्यटनसँग मनोरञ्जन पनि जोडिएर आउँछ। आफुले घुमेडुले पो अरुलाई गाइड गर्न सजिलो हुन्छ। त्यहि उद्देश्यले वोटेफले आफ्ना सदस्यहरुलाई हाइकिङ्, ट्रेकिङ, होमस्टे भिजिट गराउने काम गर्दै आएको छ। यसै अनुरुप वनभोज गरिएको थियो।
खुल्ला एवम् स्वच्छन्द वातावरणले हामीलाई ऊर्जा थप्यो। वनभोज कार्यक्रम सफल बनाउन साथीहरू एक हप्ता पहिल्यैदेखि जुट्नु भएको थियो। जसको संयोजकत्व कार्यसमिति सदस्य मञ्जु कार्कीले गर्नु भएको थियो।
पर्यटनसँग सम्बन्धित संस्था भएकाले पनि अरुभन्दा केही फरक गर्यौं भन्ने उद्देश्यकासाथ यहि वनभोज कार्यक्रम चलिरहदा दिउँसोको खाजापछि करिब १ घण्टा ३० मिनेट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा सचेतना जगाउँदै पर्यटन व्यवसायी महिलाहरूलाई शसक्त बनाउँन र व्यवसायिक रुपमा स्थापित गराउनका लागि साथै आफ्नो व्यवसायमा आफूलगायत आफ्ना कर्मचारीमाथि हुने लैंगिक हिंसा र दुर्व्यावहार विरुद्धमा आवाज उठाउनका लागि आत्मविश्वास बढाउने उद्देश्यले सचेतनामुलक तालिम पनि दिइएको थियो।
जसमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले प्रमुख अतिथिको मन्तव्य दिनुभएको थियो। समतामूलक समाजका लागि महिला पुरुष दुबैको समान सहभागिता र साझेदारी आवश्यक रहेको बताउनु भएकोथियो। हिंसा विकासको बाधक भएकोले हिंसा र विभेद विरुद्ध समान सहभागिताको आबश्यकता औंलाउदै अबका आँउदा दिनहरूमा पनि वोटेफलाई पर्यटन बोर्डले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनु भएको थियो।
यसै गरि पोखरा पर्यटन परिषदका महासचिव दिल गौतमले सामाजिक न्यायका लागि लैंङ्गिक हिंसा रोक्नका लागि यस्ता कार्यक्रममा महिला पुरुष दुबैको उपस्थिति भए कार्यक्रम अझ प्रभावकारी हुने र यस्ता कार्यक्रममा आफ्नो संस्थाले हातेमालो गर्न तयार रहेको बताउनुभएको थियो। यसैगरी वडा नं. ६ कार्यपालिका सदस्य पुष्पा पहारीले कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा हिंसा र अपराधीले प्रसय पाएको आफ्नो धारणा राख्दै कार्यक्रममा उपस्थित दिदीबहिनीहरूमा आत्मा विश्वास बढाउन आफुले गर्न सक्ने सहयोग गर्ने आश्वासन दिनुभयो। कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारीले महिला माथि बढ्दै गएको हिंसा हामी सबैका लागि चुनौती बन्दै गएको र यसलाई रोक्न हामी सबै लागि परे मात्रै न्युनिकरण गर्न सकिन्छ भनेर आफ्ना धारणा राख्नु भएको थियो।
लैंगिक हिंसा र दुर्ववहार छैन हामीलाई स्वीकार भन्ने नारा सहित वनभोज कार्यक्रम भित्रै समेटिएको सो सचेतना तालिममा इन्सेकका कार्यक्रम संयोजक सबनम शर्माले हिंसाका प्रकृति र कसरी कहाँ हिंसा भइरहेको छ? महिलामाथि भएका कतिपय हिंसामा महिलालाई नै प्रयोग गरिएको छ। यो हामीले बुझ्नुपर्छ भन्दै सहभागीहरुलाई झक्झकाउनु भएको थियो।
यसैगरी सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष जमुना बर्षा शर्माले महिला हिंसा र अधिकारको विषयमा सहजीकरण गर्नु भएकोथियो। वोटेफ अध्यक्ष जमुना पराजुलीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन यसै संस्थाका सचिव उमा भण्डारीले गर्नु भएकोथियो। १०० जना भन्दा बढी सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा कार्यक्रम संयोजक मञ्जु कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।
वनभोज कार्यक्रमभित्रै लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम राखिएकाले पनि उपस्थित सदस्यहरूले वक्ताहरुका भनाइ सक्रियता पुर्वक सुनेका थिए। म आफुपनि १० महिने छोरीका साथमा उपस्थित थिएँ। कार्यक्रम सञ्चालनका लागि ठूलो हल र मोटो रकम नै खर्च गरिनुपर्छ भन्ने छैन। उद्देश्य सफा भए यस्ता रमाइला कार्यक्रम गरेर बाहिर स्वच्छ वातावरणमा रहेर खेलका माध्यमबाट गीतका माध्यमबाट नाटक देखाएर पनि सचेतना जगाउन सकिन्छ भन्ने उदाहरण मैले यो वनभोज कार्यक्रमबाट पाँए।
लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम पश्चात् फेरि ठुलो ठुलो आवाजमा गीत घन्किन सुरु भयो। पिकनिकको माहौल नै त्यसतै साथीहरू फेरि नयाँ जोस र जाँगर निकाल्दै स्वच्छन्द पाराले नाच्न गाउन थाल्नु भयो। केही साथीहरू फेवा किनारमा फोटो खिच्नतिर लाग्नु भयो भने केही साथीहरू सराङ्कोटलाई आफ्नो सिर बनाउदै डाँडाकाँडा खेतका गरा गरा डुल्दै प्रकृतिसँग रमाउदै आफ्ना मोवाइलमा सन्धयाकालिन मनमोहक दृश्यहरु कैद गर्नमा व्यस्त हुनुभयो।
हिउँदका छोटा दिन ४ बजेदेखि नै साझ पर्न सुरु गर्ने। घर फर्कने हतारो कसैलाई नभए झै ४.३० तिर साँझको खाना खाएपछि फेरि जोडतोडले नाच्ने कार्यक्रम सुरु भयो। यसैबीचमा साँझ झम्मकै परिसकेको थियो वरिपरिका डाँडा र फेवाताल किनारका होटल रेष्टुरेन्ट र घरहरुबाट निस्केका रङ्गीचङ्गी बत्तीको उज्यालोले फेवातालको दृश्य अत्यन्तै मनमोहक देखिएको थियो।
हामी साथीहरू प्राय बैदाम आसपास कै हुनाले धेरैलाई घर पुग्ने हतार थिएन त्यहीपनि छुटिनु त थियो नै। अन्तयमा साथीहरू बिदा हुने समय आयो। नजिकै पिकनिक स्थल भएकोले केही साथीहरू स्कुटरमा कोहि आफ्नै निजी गाडीमा फर्कनु भयो भने म लगायत धेरै साथीहरू बसमा रमाइलो गर्दै बस मै आँयौँ। बसमा धेरै जना हुनाले बेग्लै रौनक थियो।
साथीहरूको नाच्ने गित गाउने क्रम बसभित्र पनि रोकिएन्। ड्राइभर दाइलाई दाइ गाडी छिटो नचलाउनुस् न छिट्टै पुगिन्छ भनिरहनु भएको थियो। मेरो घर अलि अगाडि नै आउने हुनाले म लगायत केही साथीहरू हल्लनचोकमा ओर्लिएर आ(आफ्ना घरतर्फ लाग्यौ भने बाकी रहनु भएका साथीहरू लाई बिहान सुरुको बिन्दु बसुन्धारा पार्कमा पुगेर यो बर्षको वनभोजको रौनकलाई समापन गरियो।
साना केटाकेटीलाई भन्ने गर्छौ कति कराएको कति हल्ला गरेको भनेर तर आफ्नो उमेर समुहका साथीसङ्गी र स्वच्छन्द वातावरण हुँदा हामी पनि के कम रहेछौं र!