चीन, इटाली, अमेरिका, स्पेन लगायत विभिन्न देशका छिनछिनमा अपडेट भैरहने समाचारहरुले हामीलाई एकातिर पलपल सजग गराइरहेको छ भने अर्कातिर चिन्तित पनि बनाइरहेको छ। सामाजिक संजाल यतिबेला निराशा, सखाप नै हुने होकि भन्ने डरका साथै चेतनामूलक संदेशहरुले भरिएका छन्।
कोरोना भाइरसको समस्या एउटा देशको मात्र नभएर समग्र विश्वकै समस्या हुँदै गइरहेको छ। यो समस्यालाई समाधान गर्न हरेक देशहरु आ-आफ्नै शैलीमा लागिरहेका छन्। भुटानले सुरुकै अवस्थामा नियन्त्रण गर्न सफल भयो। दक्षिण कोरियामा पनि त्यति तीव्र रुपमा कोरोना भाइरस बढ्न पाएको छैन। कोरोना भाइरस छिट्पुट् देखिएका अधिकांश देशहरु यतिबेला लकडाउनमा छन्।
अहिले विश्वका धेरैजसो मुलुकले कोरोना विरुद्ध युद्ध को घोषणा गरिसकेका छन्। कमजोर मन लिएर पक्कै पनि युद्ध जित्न सकिँदैन। हामीमा यो युद्धलाई जित्न सक्ने आत्मबल, सजकता अनि भाइरसलाई अरु फैलिन नदिन त्यतिकै सचेत हुनु जरुरी छ। रोग भन्दा कमजोर मन अझ खतरनाक हुन्छ।
लकडाउन सुरु भए यता हामीहरुको दैनिक तालिका फेरिएका छन्। समय बिताउने शैली फरक भएको छ। आपसी भेटघाट भर्चुअल दुनियाँमा परिणत भएका छन्। कयौं वर्षदेखि पढ्न भनेर थन्काइएका किताबहरुका पाना फेरी पल्टिन थालेका छन्। घरमा बन्ने खानेकुराहरुमा फेरबदल आएको छ।
युट्युब हेरेरै भएपनि भान्सामा नयाँ-नयाँ परिकारहरु बन्न थालेका छन्। सधै स्कुलमा व्यस्त हुने छोराछोरीहरु घरमा अव्यस्त हुन थालिसकेका छन्। करेसाबारीले समय पाएको छ। सामाजिक संजालहरु आफ्ना जिन्दगीका पुराना पलहरुका यादले भरिन थालेका छन्। घरका कुनामा थन्किएका गितार, बासुरी, हार्मोनियमले जानी/नजानी धुनहरु निकाल्न थालिरहेका छन्। आफ्नै पेशा, व्यवसायमा रमाउने मानिसहरु अहिले आफ्नै परिवार तथा छोराछोरीहरुसँग रमाउन थालेका छौँ।
अहिले हामीसँग आफू र आफ्नो परिवारका लागि प्रशस्तै समय छ। यो समयलाई नराम्रा कुराहरुको बारेमा चिन्ता लिएर हाम्रा आगामी दिनहरु राम्रा बन्दैनन्। यो खाली समयलाई जति सक्दो आफूलाई अनि आफ्नो पेशा तथा व्यवसायलाई पहिलाको भन्दा निकै राम्रो बनाउने योजनाहरु कोरौँ। आफ्नो मनलाई शान्त पार्ने र सकारात्मक उर्जा दिने खालका किताबहरु पढौँ।
अभिभावकले आफ्ना छोराछोरीहरुको भावनालाई बुझ्ने प्रयास गरौँ। उनीहरुसँगै घरभित्रै खेल्न मिल्ने खालका खेलहरु खेलौँ। अभिभावकहरु आफ्ना छोराछोरीको साथि अनि शिक्षक दुवैको भूमिका निभाउनु पर्ने बेला हो यो। किताब लेख्ने योजनामा हुनुहुन्छ भने त्यो पनि सुरु गर्नुहोस्। आफ्ना सम्बन्धहरुलाई अझै प्रगाड बनाउने समय हामीले पाएका छौँ।
आफ्नो दैनिकी लेख्न सुरु गर्नुहोस्। आफ्ना मनका भावनाहरु जति लेख्दै जान्छौँ, त्यति नै मन हल्का हुँदै जान्छ। अझ तपाई एक्लै हुनुहुन्छ भने तपाईको दैनिकी लेख्ने बानी नै यहाँको मिल्ने साथि बन्दिन सक्छ। अहिलेसम्मको आफ्नो जिन्दगी कस्तो रह्यो, त्यो पनि लेखाजोखा गरौँ। आफ्नो जीवनको पछिसम्मका योजनाहरु निकै प्रष्ट तवरले तयार पारौँ। आफू स्वयंको मुल्यांकन गरौँ। आफ्नो तौल बढी छ भने घरभित्र नै मिल्ने शारीरिक अभ्यास गरेर घटाउन सक्छौँ। आफ्नो खानपानको शैलीलाई सुधार गर्ने उपयुक्त समय पनि यही हो।
थोरै समय भए पनि ध्यान गर्न थाल्नुस्। ध्यानले मनलाई शान्त रहन मद्दत गर्दछ। कुनै नराम्रा बानीहरु छन् वा कुनै कुलतमा छौँ भने त्यो कुलतलाई विस्तारै कम गर्दै लाने अवसर पनि यही समय हो। आफ्नो परिवारलाई मीठा-मीठा खानेकुराहरु पकाएर खुवाउन सक्छौँ। कति हेर्न मन लागेका फिल्महरु होलान् ती फिल्महरु परिवारसँगै बसेर हेर्न सक्छौँ।
हप्तौसम्म पूरै समय घरभित्रै बस्नु त्यति सजिलो काम होइन। घरभित्रै रहने समयलाई राम्रोसँग नियन्त्रण गर्न सकिएन भने कोरोना भाइरसले सिर्जित गरेको समस्याभन्दा हामी आफैँले निम्त्याएको समस्या झनै विकराल हुन सक्छ। फुर्सद हुँदा समयलाई सदुपयोग गर्नुको सट्टा समूहमा बसेर तास खेल्ने, जाड-रक्सि खाने, अनि खानपानमा ध्यान नदिने, आवश्यकताभन्दा बढी समय सुत्ने, आफ्नो बारेमा वा आफ्नो पेशा तथा व्यवसायका बारेमा बढी चिन्ता लिएर समय बिताउँदा एउटा बिपत्तिबाट बच्नुको सट्टा कयौँ अरु बिपदहरुलाई थाहै नपाई आमन्त्रण गरिरहेका हुन सक्छौँ।
समय जति जटील बन्दै जान्छ, हामीमा त्यति नै सजकता, वुद्धि र विवेकको आवश्यकता पर्दछ। जति खतराहरु आउँछन, त्यो समयमा त्यति नै हामी आफ्नो भविष्य र आफूप्रति सकारात्मक बन्न सक्नु पर्छ। जुन कुरा हाम्रो हातमा छैन, त्यो बारेमा आवश्यकताभन्दा बढी चिन्ता लिनुको केही अर्थ छैन। कोरोना भाइरसका लागि अहिले हामीले गर्नु पर्ने भनेको सरसफाईमा ध्यान दिने अनि आफ्नै घरभित्र बस्ने, यिनै दुई वटा कुराहरु हुन्। यति काम गर्दा हाम्रो पूरै समय बित्दैन।
यही समयलाई उपयुक्त तरिकाले सदुपयोग गर्यौँ भने यो एउटा जिन्दगी बदल्ने अवसर हो। आफ्ना जीवनमा कति त्यस्ता इच्छाहरु थिए तर त्यसमा दिने समय हामीसँग थिएन। अहिले त्यो समय आएको छ। आफ्नो जिन्दगीलाई छुट्टै ऐनामा राखेर हेरौँ, कति समय आफ्ना लागि दिइयो, कति समय अर्काका लागि दिइयो, यी कुराहरुलाई मनदेखि नै महशुस गरौँ। खाली समय बितेको पत्तो नै हुँदैन। त्यसैले हरेक दिन सुत्नुभन्दा अगाडि नै भोलिको समय कसरी बिताउने आफ्नो योजना बनाएर मात्र बेडमा जाने बानी बसाल्नुस्।
मानव इतिहासमा यो विपद् पहिलो र अन्तिम दुवै होइन। समयमै सचेत र सजग भयौँ भने पक्कै पनि हामी यो कोरोनाको माहामारीबाट पार गर्न सफल हुनेनै छौँ। आफू र आफ्नो परिवार सम्हालौँ, कोरोना आफैँ सम्हालिनेछ। जीवनमा हरेक समय चुनौती र अवसर सँगसँगै हिँडिरहेका हुन्छन्। जिन्दगीको यात्रा आफैँमा सजिलो यात्रा पनि होइन। दैनिक जसो नै हामीले सडक दुर्घटनाका खबरहरु सुनिरहेका हुन्छौँ। हरेक वर्ष विभिन्न प्राकृतिक प्रकोपबाट मानिसले ज्यान गुमाएका घटनाहरु पनि सुनिरहेकै, भोगिरहेकै छौँ। हरेक साना-ठूला प्राकृतिक तथा अन्य विपदहरुले भावी पुस्तालाई त्यतिकै महत्वपुर्ण पाठहरु पनि सिकाइरहेका छन्।
विपद् पर्दा कसैलाई गाली गरेर, अनावश्यक अफवाह फैलाएर आफ्नो समय बिताउनुको सट्टा निराश भएका आफन्तहरुलाई फोनमार्फत भएपनि हौसला दिउँ। आफ्नै वरिपरी केही सहयोग चाहिने अवस्था छ भने सुरक्षित हुँदै सहयोग गरौँ, अवश्य पनि यो महामारीबाट हामी छिट्टै पार हुनेछौँ र आफ्ना दैनिक जीवनमा पहिलाको भन्दा पनि उर्जावान, प्रष्ट योजना सहित छिट्टै फर्किने छौ।
(लेखक पोजिटिभ भाइब्रेशन नेपालका संस्थापक एवम् मोटीभेटर हुन्।)