दीर्घजीवनको रहस्य खोज्न म टाढा पुग्न परेन किनकि घरमा मेरी हजुरआमा हुनुहुन्थ्यो। अरूणोदय किहुँ तनहुँबाट ७ वर्षमा बिहे गरेर कन्धनीडाँडा आएपछि २२ वर्ष विधुवा भएर उहाँले महखोल्सिको पानी खाई निरन्तर ६० वर्षसम्म त्यही गाउँमा रहनु भयो। बाँकी २८ वर्ष काठमाडौँमा बिताएर उहाँ १०० वर्षमा स्वर्गीय हुनुभयो। म उहाँसँग धेरै बस्न र सेवा गर्न पाइनँ किनकि पढाइ जागिरले पोखरा छाडेँ।
खिस्स हाँस्ने, बिस्तारै बोल्ने, कम बोल्ने, शान्त, धैर्य गर्ने, नहतारिने, उज्यालो मुहार भएकी वहाँ कहिल्यै रिसाएको थाहा भएन। भगवान् श्रीकृष्णको भनाइ छ- ‘जो हुन्छ राम्रै हुन्छ, भगवान् माथि भरोसा गर्।’ यही सोच उहाँमा थियो।
धन सम्पत्तिको लालसा बिल्कुल नभएकी वहाँले बुबाले सम्पत्ति बेच्दा पनि ‘आफू बेचिएर भएन के गर्ने’ जवाफ दिनुहुन्थ्यो।
महाभारत र रामायण पढिरहने तथा हरेक पर्व खण्ड कन्ठष्थ थियो। उहाँले माइतीमा बुबालाई चिठी लेखेर पठाउनु हुन्थ्यो रे। त्यो बेला पनि उहाँलाई महाभारतको बिदुर नीति, युधिष्ठिरको सत्यता र हनुमानको गाथा सुनाइरहनु हुन्थ्यो।
अर्कै सिरानी तकिया दिनुस न राखी, मलाई अति नै भइरहेछ गाह्रो, जान्छिन् आज सकुन्तला घर भनी जस्ता कविता भन्नुहुन्थ्यो। उहाँमा ज्ञानको सीमा थिएन तर बुबाले उक्त ज्ञान लिन सक्नुभएन।
बिस/एक्काइस वर्षमा श्रीमान् गुमाएकी उहाँ आठ भाइसँग मुद्दा समेत लड्नुभयो। हरेक परिवार, खलक र वंशमा सम्पत्तिको कारण मुद्दा, विवाद, झगडा र कलह हुन्छ। बिसौँ शताब्दी ताकाका नाम चलेका रमा मोहनको कान्छी बुहारी बनेर घर भित्रिएकी वहाँले लामो एकल जीवन बिताउनु भयो। साथै बिदुर ससुरा पनि बेहोर्नु परेको थियो रे।
उहाँको ससुराले उहाँलाई बच्ची भन्नु हुन्थ्यो रे। एक सन्तानको आमा उहाँको सम्पत्तिभन्दा पनि राइटर विश्वनाथ बुवा हुनुहुन्थ्यो र उहाँले आफ्नो भानिजदाइ बन्धुराजको राय सल्लाह लिनु हुन्थ्यो। त्यो बेला पढे लेखेका जागिर खाने मानिसलाई राइटर भनिन्थ्यो रे।
माछामासु नखाने उहाँको १३ वर्ष हुँदा लामो बिमार परेर औषधी खुवाउन पर्ने अवस्था भएपछि सबै दाँत खसेका रहेछन्। तर पनि उहाँले दुई घान फुला मकै खानुहुन्थ्यो। उहाँको दाँतको गिजाहरू बलिया थिए। उहाँलाई मन नपर्ने केही चिज थिएन, सबै चिज मिठो मुखले खानु हुन्थ्यो। उहाँ अस्पताल जाने, दबाई खाने गरेको हामीलाई थाहा छैन सिवाय एक पटक हात भाँचिएर प्लास्टर गरेको बाहेक। त्यो प्लास्टर पनि सिंगै फुत्केर हातमा आयो र पुनः प्लास्टर गरियो।
दाँतेकिरो लागेको, कुकुरले टोकेको, अधाह पिनासको दोहोलो गर्नु हुन्थ्यो। कसैसँग दस्तुर लिनु हुँदैन थियो। गाउँलेहरू फौज्दारनी आमाले फुकेपछि व्यथा चट हुन्छ भन्थे।
रिस, राग, डाहा, घमन्ड, लालचा र लोभ उहाँसँग थिएन। जे भए पनि ठिकै भन्ने सोच उहाँमा थियो। सायदै उहाँ जस्तो स्वभाव भएको मानिस कमै छन्। ०७८ सालमा उहाँ स्वर्गीय हुनुभयो। पछिल्लो दुई महिना उहाँलाई अलिक कठिनाइ भयो। पछिल्लो दिनसम्म पनि उहाँ आफै शौचालय जानुहुन्थ्यो।
मगर गाउँमा जन्मिएकोले उहाँलाई मगर भाषा पनि आउँथ्यो। घरमा पुरानो मुदुस थियो। मुदुसको चाबी चोलाभित्र राख्नुहुन्थ्यो। उहाँले माइती गएपछि निकै धेरै पाउरपात ल्याउनु हुन्थ्यो रे। खाने मान्छे कोही नभएर खाल्डोमा गाड्नु हुन्थ्यो रे। उहाँको माइतीमा बुबा विश्वनाथलाई भेट्न योगी नरहरीनाथ आएको भन्नुहुन्थ्यो।
एक पटक उहाँको माइतीमा डाका आएछन्। उहाँले हिराको फूल माइती राख्नु भएको थियो रे। डाँकाले लगेछन्। भोलिपल्ट घर नजिक टिम्मुर घारीमा कति चाँदीका मोहर बाटोमा खसाएको भेटिए भन्नु हुन्थ्यो। उहाँले बताएको कुरा कथा जस्तो लाग्छ तर सत्य हुन्।
‘मर्नु फेरि जन्मनु हो’ भनिन्छ। सायद उहाँ फेरि जन्मनु भयो होला। सायद यस पृथ्विलोकमा उहाँ जस्तो समुद्र मान्छे कमै होलान्।
उहाँलाई जि मु जमुनादेवी भनिन्थ्यो। उहाँले मुख्यौली गर्नु हुन्थ्यो रे। त्यो बेला जग्गाको तिरो उठाउने काम गर्नुहुन्थ्यो रे। मुखियाले मान्छे मरेको, बेवारिस भएको जग्गा आफ्नो नाउँमा दर्ता गर्न पाउँथ्यो रे। उहाँले त्यस्तो लोभ कहिल्यै गर्नु भएन किनकि उहाँमा लालशा भन्ने कुनै अंश थिएन।
९० सालको भुइँचालो आउँदा हाम्रो घरको टिन ठोक्दै थिए रे। उहाँ भन्नु हुन्थ्यो, त्यो बेला खस्यौलीबाट बोकाएका बाक्ला टिन थिए उहाँको चार तल्ले घरमा। जुन स्याङ्जाको नुवाकोटबाट पनि देखिन्थ्यो रे। उक्त घर ८१ जेठमा ढल्यो, ७८ मा उहाँ जानु भयो।
गाउँ छाडेको बिस वर्ष भयो तर उहाँको याद ताजै छ। लसुन, प्याज, गोलभेडा र मसला नभए पनि मिठो दाल तरकारी पकाउने उहँको शीतलता, नम्रता अधिक थियो। त्यही भएर होला जीवन दीर्घ र रोग सन्ताप बिना रहयो।
बुढा हजुरबुवाको पालामा एक वर्ष सबै धान गोर्खाली नेवारलाई बेचेर ब्याज तिर्न मकैको भात खाएको रे। अरू गाउँलेले थाहा पाउँछन् भनेर ढोका लगाएर खाइन्थ्यो भन्नुहुन्थ्यो।
जीवनको पछिल्ल्लो पलमा उहाँको आँखा मोतीबिन्दुको कारण अपरेसन गर्न तिलगंगा जाँदा डा सन्दुकले ‘बुढी आमालाई दुःख नदिऊँ, भिजन आउन या नआउन पनि सक्छ’ भन्नुभयो। अन्तिम बेलासम्म पनि कान प्रष्ट सुन्नुहुन्थ्यो।
विदेशमा भएका नातिनातिनालाई फोनमा कुरा गर्दा ‘कहिले आउँछौ? छिटो आऊ’ भन्नुहुन्थ्यो। पुरानो पुस्ताको भएर पनि उहाँमा छोराछोरीमा कुनै भेद थिएन। बरु नयाँ पुस्ताकी आमाले भेद गर्नुहुन्छ।
मिठा कथा, कहावत, घटना, दृष्टान्त सुनाउनु हुन्थ्यो। गलत काम गरे गाली पिट्ने होइन, केवल ‘धत्’ जस्ता नरम शब्द भन्नुहुन्थ्यो। माइतीमा नौ बहिनी र दुई भाइकी जेठी दिदी भएकाले घरमा पाहुनाको ताँती लाग्थ्यो। पोखरामा अस्पताल थियो। उपचार गर्न सबै तिरबाट आउनु पर्ने।
उहाँ जीवित रहुन्जेल घरको ढोका दिउँसोमा कहिल्यै बन्द भएन। उहाँ सदा घरै बस्नु हुन्थ्यो। बाहिर घुम्न डुल्न पनि मन गर्नु हुन्थेन।
गाउँलेहरू उहाँलाई मुखिनी बज्यै पनि भन्दथे। किनकि उहाँलाई सरकारबाट मुखियाको पद दिइएको थियो। उहाँको मुखियाको छाप हामीले पनि देख्यौँ। उहाँ यस्तो कि उहाँको नाउँमा एक कित्ता पनि जमिन थिएन जब कि उहाँको श्रीमानको नामको जग्गा सयौँ रोपनी थियो।
उहाँ सन्तानमा समर्पित हुनुभयो। हामीलाई पनि उहाँले नै पालनपोषण गर्नु भयो। यसैले उहाँलाई हामी आमा भन्थ्यौँ। उहाँले दिएको ज्ञान, शिक्षा, बुद्धि, विवेक अति मार्मिक थियो। हामी कदापि भुल्दैनौँ।
जिउँदै छँदा बुढो पुस्तालाई सम्मान गरौँ। उहाँहरूको ज्ञानको संग्रह गरौँ।