चौकोट पुग्दा दिनको ठीक ३ बजेको छ। यात्राको गन्तव्य रहेको छ धनुषाको महेन्द्रनगर। ठिमीबाट धुलिखेलसम्म पुग्न एक घण्टा तीस मिनेटभन्दा बढी नै लाग्यो। शिक्षक आन्दोलन झन् झन् चर्को हुँदैछ। आन्दोलनको शृङ्खला देख्दादेख्दा यो मन बडो अशान्त हुन्छ। कल्पिन्छ मेरो हृदय ‘शिक्षकका सम्पूर्ण समस्याहरू चाँडै समाधान हुन्’। सडकमा नारा लगाउन शिक्षकहरू विवश नहून्।
उज्यालोका पक्षधर हाम्रा गुरूहरू महिनौँ दिनसम्म यसरी सडकमा ओर्लनु राम्रो कुरा त पक्कै हैन। विश्व समुदाय के सोच्दो शिक्षकहरूको यो अवस्था देख्दा। मन खिन्न हुन्छ देखेर सडकमा शिक्षकहरूलाई।
कुरो हो मिति २०८२-१-१५ को।
माइतीघर, बानेश्वर क्षेत्रको ट्राफिक व्यवस्थापन बडो सकसपूर्ण छ। हामी बानेश्वर हुँदै कोटेश्वर जान हिँडेका, कट्न सकेनौँ माइतीघरको भूगोल। थापाथलीतिरै सडकमा जरा गाडेर बसेका छन् यातायातका साधनहरू। अतासियो मन। कसैलाई कुराउनु जति नमज्जा मलाई अरू केही लाग्दैन। बरू आफू नै अगाडि पुगेर कुर्न मन पर्छ मलाई। त्यसैले दाजुलाई फोन घुमाएँ। धन्न दाजु अफिसतिर आउँदै हुनुहुँदो रहेछ। अफिसको सामान पनि पूर्वतिर लैजाने योजना रहेछ। ढुक्कको सास फेर्यो मेरो फोक्सोले।
उषा दिदी र म माइतीघर ओर्लिएर पुल्चोकतिर मोडियौँ। पुल्चोक क्याम्पस पस्ने आडैको बेन्चमा हामी प्रतीक्षार्थी भएर बसेका मात्र थियौँ, केहीबेरमै दाजु आइपुग्नुभयो। दाजुको अफिसबाट केही महत्त्वपूर्ण सामान गाडीमा राखेर हामी हिँड्यौँ ललितपुर हुँदै भक्तपुरतिर।
१ बजेर तीस मिनेट जाँदा हामी ठिमी चोकको आकाशे पुलमुनि पुगेका छौँ। मामाको छोरा शंकर दाजुलाई कुर्दै छौँ। महेन्द्रनगर हाम्रो कान्छो मामाको घर। मामाको कान्छो छोराको विवाह छ। अझ भनौँ खलो उठाउने बिहे। सोही कार्यक्रममा जान तम्सिएका छौँ हामी तर दाजुले भने आफ्नो काम पनि बोकेर हिँड्नुभएको छ। केहीबेर ठिमीको सडकमै हामीले शंकर दाजुलाई कुर्नु पर्यो। घरबाट ल्याएको काँक्रो र गाँजर गाडीको पछाडि छ। पश्चिमतिर पुगेको घाम निकै चर्को छ। गाडीभित्र सजिलै छिरेको छ घामको किरण। रापिलो छ गाडीको मौसम। एसी खोले पनि घामको शक्ति बेजोड छ। काँक्रो र गाँजर घामले पाक्ला भनेर गाडीमै बसेर चपाउन थाल्यौँ। धन्न चिसै रहेछन् सलाद। आँत शीतल भयो।
शंकर दाजु र भाइ सुशील आएपछि हाम्रो यात्रा अगाडि बढ्यो। सबैतिर सडक बन्दै छन्। अहिले अरनिको राजमार्गमा पनि धमाधम काम हुँदै रहेछ। अलि अस्ति भैरहवा जाँदा त झन् सडक जामको दृश्य कहालिलाग्दो नै थियो। अरनीको राजमार्गमा पनि जाम खाँदै हामी अगाडि बढ्दै गयौँ। घडी हेर्छु दिन ढल्किँदै छ ‘अहो! कति बेला पुगिएला महेन्द्रनगर। आजै छ बुकुबा दल्ने योजना। पुगिएला कि नपुगिएला! झोलामा पहेँलो सारी पनि बोकेकी छु। दिदीबहिनीहरूको योजना छ बुकुबा दल्ने बेलामा पहेँलो लुगा लगाउने भनेर। दिदीबहिनीहरू पुगिसके होलान्। नाचगान आरम्भ हुँदै छ होला। बिहे घर सम्झिएपछि कानैमा बज्न थाले पञ्चेबाजा। राति पो पुगिने हो कि भनेर चिन्ताको मदानी घुम्दै छ टाउकोमा। माइजूले त सबैजना जम्मा भएपछि राति नै गर्ने बुकुबा दल्ने संस्कार भन्नुभएको छ तर कति बजेसम्म कुर्लान् र! घडी हेर्छु । शङ्काको बादल उठ्छ बेलाबेला। यसबेला त नाइट बस छुट्ने समय भइसक्यो’ सोच्दै छु।
आतेस लागेर दाजुलाई सोध्छु, ‘दाजु ! हामी कति खेर पुग्छौँ होला महेन्द्रनगर?’
ढुक्कले भन्नुहुन्छ दाजु, ‘पुगिन्छ होला साँझ आठ बजेतिर। निकै ढिलो भए नौ बजेसम्ममा त सजिलै पुगिन्छ।’
दाजुको कुरामा पनि शङ्का गर्छु ‘पुगिएला र!’ त्यही पनि ढुक्क हुन खोज्छु पुगिन्छ भनेर।
चौखोटको खुला वातावरणमा चखिलो चियाको सम्झनाले दाजुलाई छोप्यो। अनि बिपी राजमार्गलाई देब्रे पार्दै गाडी टक्क अडियो चौकोटे भूगोलमा। छाप्रोको अगाडि काठमाडौँ विश्वविद्यालय चिकित्सा अध्ययन जाने बाटो छ। केही छात्रछात्राहरू परपर देखिन्छन्। धुलिखेलको शान्तमय वातावरण चारैतिर उज्यालो देखिएको छ। आकाश खुला छ। वसन्तको आँगनमा प्रकृति सुन्दर देखिएकी छन्।
हरियो छ रनबन। कोइलीको कुहुकुहुले सल्लोको जङ्गल सङ्गीतमय भएको छ। फाट्टफुट्ट गुडेका छन् सडकमा गाडीहरू। सडकभन्दा पल्तिर नै देखिएको छ मानव बस्ती। घरहरू झुरूप्प छन्। कृषि कर्म बारीभरि मौलाएको छ। मकैका हरिया बोटहरू लहलह झुलेका छन्। कतैकतै भर्खरै उम्रेका छन् मकै। कतै मकैका बोटहरू हौसिएर काला न काला देखिएका छन्। कतै धान चमरा हालेर बसेका मकैका बोटमाथि भँगेराहरू नाच्दै मख्ख छन्। धुलिखेलको यो भूगोल मेरा लागि नौलो होइन। चौकोट बारम्बार आएको ठाउँ हो। जीवनको एउटा सुन्दर समय मैले काठमाडौं विश्वविद्यालय परिसरमा बिताएँ। नयाँ जीवनको गाँठो पनि यही ठाउँले जोडिदियो। लामो समय बसेँ यही भूगोल वरिपरि। हृदयको कुनामा यो ठाउँ प्रिय भएर बसेको छ आजसम्म। स्मृतिको सन्दुकमा अतीतको अमूल्य समय अझ सुरक्षित छ। बाटा पर्तिर सल्लोको जङ्गल आज पनि उसैगरी सुसाइरहेको सुन्छु। अतीतको आवाज कानमै आएर कराउँछ। अतीतको गर्तबाट आएको परिचित आवाज सुनेर पल्याकपुलुक हेर्छु।
सल्लोको भेदमा अतीत हाँसेको देख्छु। खेलेको देख्छु। सुरेशराज शर्माको परिवारसँग आएकी थिएँ यहाँ। उर्मिला भाउजूको प्रेमले केहीबेर मन भारी भयो। सम्झिएँ बितेको समय र सन्दर्भ। विश्वविद्यालयको आवास गृहमा बस्दा प्रायः कतै घुम्न जाँदा हामीलाई पनि सँगै जाऊँ भन्नुहुन्थ्यो भाउजू। अघि नै साँगा भन्ज्याङको गणेश मन्दिर आइपुग्दा पनि स्मरण गरेकी थिएँ उर्मिला भाउजूलाई। त्यहाँ बत्ती बाल्न हामीलाई पनि लिएर जानुभएको थियो अतीतको एक साँझ। शायद त्यसपछि साँगा गणेशको दर्शन गर्न गएकी छैन म। बाटो बिस्तार गर्ने क्रममा गणेश मन्दिर बाटोबाटै सजिलै देखियो। मनले सम्झियो त्यो अविस्मरणीय साँझ। चढेर गएका थियौँ सुरेशराज शर्माकै प्राडो गाडी। विश्वविद्यालय परिवारसँग कहिले सुकुटे गएका थियौँ त कहिले नगरकोट। आज उर्मिला भाउजूको त्यो मृदु मुस्कानले मलाई निकैबेर छोप्यो। आज उहाँ यो लोकमा हुनुहुन्न। उर्मिला भाउजूको अकल्पनीय मृत्युको खबरले स्तब्ध भएकी थिएँ। शोकाकुल भएकी थिएँ। सम्झिएकी थिएँ उहाँका स्नेही आँखा। कान्छी छोरी सिजनको पनि अल्पआयुमै स्वर्गारोहण भएको थियो। हृदय भारी पार्दै धुलिखेलको भूमिबाट मैले दुवै आत्मीयजनलाई श्रद्धाञ्जली अर्पण गरेँ।
तर पनि मेरो हृदयभरि अतीत सजीव भएर आइनै रहेको छ। देख्दैछु त्यो समयका विभिन्न चलचित्रहरू। सुन्दैछु अतीतको आनन्दको आवाज। लाग्दैछ आयुको परिभाषा निरर्थक रहेछ। मृत्युको परिभाषा भन्न कठिन छ। उमेरको सीमा पनि भ्रमपूर्ण छ। योजना सबै असत्य लाग्दैछन्। मान्छेले बनाएका योजना अनिश्चित छ। सृष्टिकर्ता नै शक्तिशाली लाग्छ। योजनाको ठूलो आकाश लिएर म पनि बसेकी थिएँ दश वर्षसम्म विश्वविद्यालयभित्र। समय सधैं अनुकूल हुँदैन रहेछ। हामी प्रतिकूल समयको सिकारमा पर्यौं। अदृश्य शक्तिको योजना पूरा भयो। शाम, दाम र दण्ड भेदको नीति बुझ्ने उमेर थिएन त्यो बेला अनि आफ्नो हृदयमा सजाएछु विश्वास, सहयोग र प्रेमको मीठो संसार। जुन संसार आजसम्म मभित्र सजीव भएर बसेको छ। काठमाडौं विश्वविद्यालय छोड्नु नियतिको कुरा थियो कि कसैको कुटिल नियत थाहै भएन। छोड्नु पर्यो मैले देखेको पहिलो सपनाको भूमि। निर्माण गर्नुपर्यो नयाँ योजना बसेर नौलो भूमिमा। धन्न कर्म गरेर खानेलाई भूमिहीन बन्नु परेन।
योजनाहरू बन्दै गए। कति पूरा भए कति पूरा हुन सकेनन् तर पनि उत्साहमा कतै कमी आएन। संघर्षको मैदानमा पनि ओठमा मुस्कान फुलिरह्यो। हो हाम्रो योजना पूरा नहुन पनि सक्छ। समयले हामीलाई बगाइ नै रह्यो। विधाताको जिम्मा लगाएपछि मलाई शान्ति मिल्छ। दोष व्यक्तिमा थोपर्दा तनाव सिर्जना हुन्छ। त्यसैले म विधातालाई नै दोषी देख्छु। अनि आनन्दमा रमण गर्छु। मलाई शान्तिसँग सम्झौता गर्न मन लाग्दैन। विधाताको योजनामा म विश्वस्त छु। मैले पनि देखेकी थिएँ काठमाडौँ विश्वविद्याभित्र सुन्दर सुन्दर सपनाहरू। जेठी छोरीको जनमस्थान। देखेकी थिएँ पहिलो सन्तानको उज्ज्वल भविष्य। कोरेकी थिएँ जीवनका नयाँ नयाँ मार्गहरू तर ती सबै सपना अधुरै रहे। अपूर्ण रहे। लाग्दैछ केही विषयहरू अर्थहीन अर्थहरू मात्र रहेछन्। श्रीओम श्रेष्ठ रोदनसँग सहमत हुन्छु। लेखेकी छु काठमाडौँ विश्वविद्यालभित्र विताएका जीवनका पलहरू। ती अविस्मरणीय दिनहरू कुनै दिन सार्वजनिक गर्छु।
हामीहरू झुरूप्प बसेका थियौँ उः त्यो सल्लोको बोटमुनि। चिकित्सा विज्ञानको भवनतिर जाने बाटोको देब्रेतिर। त्योबेला काठमाडौँ विश्वविद्यालयको हाइस्कुल मात्र थियो यहाँ अहिले चिकित्सा विज्ञानको पढाइ पनि यहीँ हुँदो रहेछ।
देख्दैछु एमबिबिएस लेखेको लोगो सहितको सर्टमा केही विद्यार्थीहरू। झझल्को आइनै रह्यो अतीतको। म देख्दैछु खाने कुराका सामान अगाडि राखेर हामीहरू रमाउँदै, हाँस्दै र गफिँदै गरेको त्यो सुन्दर पल। सविता भाउजूको मृदु वाणी कानैमा आएर गुञ्जिन्छ। उहाँको शालीन व्यक्तित्व आज पनि आँखामा आएर सजिलै पस्छ। आज पनि मैले मलाई चौकोटको भूमिमा नै देखेर चकित भएकी छु। अतीतको तन्द्राबाट जुरूक्क उठ्छु।
करिब दश वर्ष बसेको ठाउँ मेटेर कहाँ मेटिन्छ र! सबै आफ्नै लाग्छन्। काठमाडौं विश्वविद्यालयको दश वर्षे बसाइँ भुलेर पनि भुल्न सक्दिनँ। जीवनका अनेकौँ आयामहरू यही भूगोलमा बसेर सिक्न पाएँ। सुख र दुःखको जङ्घार तर्न सिकेँ। आफन्तीले गरेको माया प्रेमलाई अनुभव गर्न जान्ने भएँ। मान्छेले मान्छेलाई कतिसम्म छलछाम, धोका र प्रयोग गर्दोरहेछ भन्ने पाठ पनि सिक्न पाएँ । कस्तो कस्तो राजनीति जानेको हुँदो रहेछन् मान्छेले भन्ने बुझ्न पाएँ। स्वार्थको शृङ्गार गरेर नजिकका मान्छेले पनि छल गर्दा रहेछन् बुझ्न पाएँ। मान्छेले स्वार्थको बर्को ओडेपछि कति जाती पल्टिने रहेछन् त्यो पनि भोग्न पाएँ। विश्वविद्यालयभित्र थिएँ म त्यसैले मैले केही गुमाएर पनि धेरै ज्ञान पाएँ। त्योबेला कलिलो मस्तिष्कले बुझ्न सकेकी थिइन् कुटिल राजनीति। आज सम्झेर आफै दङ्ग पर्छु समय कता कता बग्दो रहेछ। समयको नदीलाई थामेर थाम्न नसकिने रहेछ। अब त लाग्छ समयको साथ साथै बग्दा बरू आनन्दले पुगिन्छ होला गन्तव्यमा। समयको वेगसँग कुस्ती खेल्दा आफ्नै शक्ति क्षय हुने निश्चित छ।
‘अनिता तँ पनि केही खान्छेस्? चिउरा र चना छ। चिया दामी छ।’ दाजुले मलाई बोलाउँदा पो म झल्याँस्स भएँ।
अनि हतार हतार भनेँ, ‘अहँ खान्नँ दाजु भोक लागेको छैन।’
मेरो उत्तर सुनेर दाजु भन्नुहुन्छ, ‘अब गाडी रुक्दैन सरासर जाने हो ढिलो हुन्छ नत्र।’ घडीमा कैद भएको छ समय। अनि समयलाई जोख्दै हामी छाप्रो भित्र बसेर खान थाल्यौँ। मैले थोरै चना खाएँ। चिया पिएँ बडो स्वादिलो रहेछ चिया। धुलिखेलसँग पहिलो प्रेम थियो मेरो आमाको आँगन छोडेपछि। नयाँ जीवन आरम्भको नयाँ भूमि। मेरो नयाँ संसार थियो धुलिखेलमा। मेरो प्रिय ठाउँ आँखामा बसिरहन्छ आज पनि। मेरा दृष्टिहरू बाहिरतिर डुलिनै रहे। आफैलाई भेटिरहेँ अनेकौँ सपनाहरूमा।
छाप्रोको आँगनमा प्लाष्टिकको सानो टेबुल छ। चारवटा कुर्सीहरू ठूलो छाता ओडेर बाहिरै बसेका छन्। चिकित्सा विज्ञानका विद्यार्थीहरू धमाधम खाजा खाँदै छन्। कोही चिया पिउँदै छन्। नजिकैको रूखबाट कोइलीले मीठो सङ्गीत आलाप्दै छ। कोइलीले मलाई सायद चिनेर होला कुहुकुहु भनेर बोलाउँदै छ। शरीर छाप्राभित्र बसे पनि मन कोहिली चरीसँगै हुरूरू उडेर अतीतको समयमा नाचिरहेकी छ। सल्लो घारीतिरबाट अझ पनि हाम्रो सामूहिक आवाज अनुगुञ्जित हुँदैछ। सुन्छु स्पष्टसँग मैले छोडेका मेरै आवाजहरू। सामूहिक हाँसो फैलिएको अनुभव गर्छु। पर परबाट पनि मलाई पछ्याई रहेका लाग्छन् मेरै अतीतका अजम्बरी पदचापहरूले। खड्पु, खड्का गाउँ, अठाइस किलो, बनेपा, धुलिखेलतिरबाट उही पुरानो समय छाया भएर घुमिरहेको छ मेरै वरपर। धुलिखेलको भूमिमा मेरो संवेदना कसिलो गरेर गाँसिएको रहेछ। चुँडाएर पनि कहिले नचुँडिने अमर प्रेम छोडेर हिँडेकी रहेछु। आज त्यही प्रेममा म वशीभूत हुनपुगेकी छु। अटुट छ सम्बन्ध यो माटोसँग।
काठमाडौँ विश्वविद्यालयमा बस्दा कतिचोटि यहाँ आएका थियौँ ड्राइ पिकनिक लिएर। पहिलोचोटि खाएकी थिएँ इडली र साम्बर त्यो पनि उर्मिला भाउजूको भान्सामा। उर्मिला भाउजू, सविता भाउजू, सिजन दिदी, कञ्चन दिदी, कोपिला दिदी र सिर्जना मेडमका साथमा म पनि आएकी थिएँ। सल्लोको पातमा चिप्लिएको सम्झनाले नराम्रोसँग अहिले पनि चिप्लिएँ।
सतर्क हुन्छु अतीतको हुरी बडो बलवान छ लाग्छ कतै मलाई उडाएर अतीतमै त पुर्याउने होइन! अनि वर्तमानको मार्गमा दह्रो खुट्टो टेक्छु।
यहाँको चिया दाजुको जिब्रोमा बसेको रहेछ। शंखर दाजु पनि चियाको तारिफ गर्नु हुनुहुन्छ। चिया चमेना सकेर बाहिर निस्किन लाग्दा आइसक्रिममा मेरो आँखा पर्यो । दाँत दुखेकाले थकथक लाग्यो चिया नखाएर बरू आइसक्रिम नै खानु पर्ने रहेछ भन्ने लागेर बोली त हालेँ, ‘बेक्कार खाएछु चिया बरू आइसक्रिम नै खानुपर्ने रहेछ ... ।’
‘खाऊ न त आइसक्रिम पनि।’ शंकर दाइले सुशील भाइ र मेरा लागि आइसक्रिम किनिदिनुभयो। गाडीमै खाने सुरले हामी गाडीभित्र आइसक्रिम लिएर पस्यौँ। गाडी धुलिखेलबाट तल्तिर गुड्न थाल्यो। गाडी सललल बग्दो छ १५ मिनेटमा १४ किलोमिटर बाटो काट्दो छ। हेरेकी छु घडी। खुल्ला छ बाटो। दाजुले गीत पनि मलाई मन पर्ने बजाउनुभएको छ।
काभ्रे जिल्ला पार गर्ने क्रममा मनभरि भुइँचालो आयो। अस्ति खोटाङ जाँदा देखेकी थिएँ रोसीको डरलाग्दो रूप। खोलामा उत्तानो परेर पसारिएको पिङ्क कलरको घर। पिलरसहित पल्टिएको छ बलियो घर।
खोलाले काटेर झारेका भित्ताहरू डरलाग्दो देखिएको छ। मासु र छालाविहीन हड्डी जस्तै देखिएको छ घरको नाङ्गो पिलर। पानीको छालले काटेका संरचनाहरू देख्दा मुटुमा गाँठो परेको छ। आज त झन् सानो गाडीबाट अझ स्पष्टसँग देखिएको छ पानीको विकराल रूप। पानीले निम्त्याएको विनाशकारी दृश्यहरू। प्रकृतिको शक्ति कति डरलाग्दो। घरहरू खोला छेउमा कहिले सुरक्षित नहुने सङ्केत दिएको छ रोसीले। राजमार्गलाई खोलाले निलेको छ। क्षतिको कुनै हिसाब छैन। बगरको बाटो कुदेको छ हाम्रो गाडी। मलाई याद आउँदै छ भिमानमा ट्याक्टर चढेर बर्दिबास गएको समय।
खोला छेउका घरहरू अब लड्लान तब लड्लान् जस्ता देखिएका छन्। रोसीको सेरोफेरो कति भयानक थियो होला २०८१ को असोज १०, ११ र १२ मा। पानीको परिभाषा अर्थहीन भएको थियो। पानी काल बनेर आएको थियो। पानी राक्षस भएर गर्जेको थियो। त्यो विनाशकारी बाढी देखेर स्थानीयको मनमा कस्तो उथलपुथल आएको थियो होला! बिपी राजमार्गबाट यात्रा गरिरहेका यात्रीहरूको हृदयको अवस्था कस्तो थियो होला? कति भुक्तमान खेपे होलान् कल्पना गर्न पनि सक्दिनँ।
रोसीको बगर कट्दै गर्दा म शंकर दाइलाई सोध्छु, ‘दाजु हजुरले घर छोड्दा कति वर्षको हुनुहुन्थ्यो अनि कहाँ कहाँ बस्नुभयो? किन घर छोड्न मन लाग्यो त्यो उमेरमा?’ मेरो प्रश्नले दाजुको मुहार गम्भीर देखियो।
दाजुको कथा सुनेपछि मलाई लाग्यो ती कुराहरू यो यात्रा वर्णनमा नराखेर कतै आख्यानमा समेट्नु पर्ला। यस्तो पनि जीवन बाँच्छ मान्छे। कस्ता कस्ता परिस्थितिको हिमाल चढ्छ यो मान्छे।
हामी नेपालथोल भन्दा अझ माथि पुगेका छौँ। शीतल छ वातावरण। हरर आएको छ बतास। धुलो रोडमा दाजुले एसी खोल्नुभएको छ। तर मलाई ताजा हावासँगै प्रेम बस्यो। हामी एकोहोरो गुड्दै छौँ । मुलकोट हुँदै हामी करिब पाँच बजे खुर्कोट पुग्न सफल भयौँ। मलाई दाजुको माया लागेर आएको छ। दाजुलाई गाडी हाँक्न पालो दिने मान्छे कोही छैन।निरन्तर तीव्र गतिमा गाडी गुडेको छ। खनिया खर्क, चियाबारी हुँदै हामी सिन्धुलीमाडी झर्न सफल भयौँ। अब त झन् गाडी फिलिली कुद्न थाल्यो। भिमान पुग्न पनि समय लागेन। दाजुले भनेकै समयमा हामी सात बज्न तीस मिनेट बाँकी हुँदै गर्दा महेन्द्रनगर पुग्यौँ।
बिहेको घर झिलिमिली छ। पञ्चेबाजा घन्केको छ। जाँदाजाँदै आँगनमा एक फन्का लगाउँदै सबैलाई नमन गरेँ। हाम्रै प्रतीक्षामा रहेछ बिहे घर। भाइलाई बुकुबा दल्न सबै तयारी अवस्थामा हुनुहुन्थ्यो। म पनि तयार भएँ। सबै पहेँलो लुगामा सजिएका छन्। के महिला के पुरुष। आधुनिता पनि यति शालीन हुँदो रहेछ त! छक्क परेकी छु। कति आनन्ददायी छ वातावरण। तडकभडक कतै छैन। सरलताभित्रको सुन्दरता देख्दैछु मामा घरको आँगनमा। मैले पनि पहेँलो सारी लगाएर पञ्चेबाजाको तालमा दिदीबहिनीहरूसँग ताल मिलाउन थालेँ।
क्रमशः