विश्वभर जनता भर्सेस् कोरोना लडाई चलेकै छ। हाम्रो देश लकडाउन भएको एक साता बितिसक्यो। नागरिक घर, कोठा, कारखाना र कार्यालयभित्रै कैद छन्। सरकारको पछिल्लो निर्णयबाट थप एक हप्ता थपिएको छ। अत्यावश्यक सामान पाउन क्रमशः कठीन हुँदैछ।
विदेशबाट आउने नेपालीलाई बेलैमा क्वारेन्टाइनमा राखेर निगरानीमा नराखिएको घातक परिणामस्वरुप देशका विभिन्न भू-भागमा कोरोना संक्रमित फेला पर्दैछन्। आमनेपाली यो त्रासमय वातावरण आत्मबन्धकीमा रहनु परेको छ। यस प्रतिकूल अवस्थामा सरकारले तत्काल चाल्नैपर्ने केही कदमका सन्दर्भमा यहाँ छलफल गरिएको छ।
१) रोटी खोज आन्दोलन र लकडाउनमा समानता
कोरोना भाइरसले आमजनतालाई गम्भीर चुनौती दिएको छ। हालको बन्दाबन्दीबाट सृजित गरिबी र भोकमारीले सरकारको निम्ति अर्को थप चुनौती थपिएको छ। फ्रान्सको सन् १७८९ को ‘रोटी खोज आन्दोलनʼ अर्थात फ्रान्सेली राज्य क्रान्तिको स्मरण अहिले ताजारुपमा भईरहेको छ। फ्रान्सेली जनताहरु भोकले रोटी खोज्न उद्धोग, कारखाना र कूलिनका घरभित्र प्रवेश गरेर लुटपाट मच्चाएको चर्चित घटना विश्व इतिहासको अध्येतालाई राम्रै जानकारी छ। हाम्रोमा पनि आफूसँग भएको बाँड्न जानेन वा सरकारले तत्काल माग सम्बोधन गरेन भने महासंकटमा रोटी खोज्न जनता बाहिर निस्कने खतरा हुनसक्छ।
उक्त ऐतिहासिक फ्रान्सेली राज्य क्रान्तिको बेलाको ‘रोटी खोज र खोसʼ आन्दोलनबाट बेलैमा पाठ सिक्न जरुरी छ। फ्रान्सको परिस्थिति वर्षौदेखिको निरंकुश कूलिनतन्त्रले बनाएको थियो भने नेपालमा हालैको कोरोनाले। जसले समस्या निम्त्याए पनि र लामो वा छोटो समय भएपनि भोको पेट उस्तै हो। भोको पेटले भजन गाउँदैन भनिन्छ। यसर्थ जनताको तत्कालका आधारभूत गाँसबासका माग सम्बोधनमा हतारो गर्न आवश्यक छ। जनतालाई वर्तमान जटिलतामा पनि घरभित्रै राख्नुको सरकारसँग दोस्रो विकल्प छैन। तर, खान पाउनु नैसर्गिक मानव अधिकारको विषय हो। राज्यले यसलाई शीघ्र व्यवस्थापन गर्नुपर्छ।
२) स्थानीय तह र प्रदेश सरकारको सक्रियतामा जोड
महाविपत्तीमा तीनै तहका सरकारको ठूलो भूमिका जनताले खोजेका छन्। स्थानीय तहका वडा तहसम्मबाट दैनिक ज्यालादार र असाध्यै गरीब जनताको पहिचान जतिसक्दो छिटो गरी आधारभूत राहत उपलब्ध गराउनु पर्छ। वडाध्यक्षसहितका सबै सदस्य र कर्मचारीले बिहान-बेलुकी छाक टार्न असमर्थ गरीब श्रमिक जनताको यथाशीघ्र विस्तृत र आधिकारिक सूचना संकलन गर्दै सोहीबखत खाने प्रबन्ध गर्नुपर्छ। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राष्ट्रिय कोष (कोरोना कोष)मा जम्मा भएको र राष्ट्रिय कोषको रकम प्रत्येक वडा तहसम्म आइपुग्ने गरी तत्काल बिजियोजन र निकासा हुनुपर्छ। यसको प्रभावकारी कार्यान्वयनतर्फ मसिनोरुपमा ध्यान दिनुपर्छ। प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा क्वाराइन्टाइन बनाउन र राजधानी क्षेत्रमा विधिविज्ञान प्रयोगशाला स्थापनामा तदारुकता देखाउनु पर्छ। भोली महामारी प्रदेशभर फैलियो भने प्रकोपको मात्रा प्रदेश सरकार र स्थानीय सरकारकै काँधमा बढी पर्ने निश्चित देखिन्छ।
३) राहत तथा सुपथ पसल सञ्चालन
तीनै तहका सरकारले समन्वयकारी भूमिकामा वडा तहसम्म सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्छ। सामाजिक संघ/संस्थाको सहयोग लिन परेमा ढिलो गर्नु भएन। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अझै बढी सेवा लिन सकिन्छ। दैनिक अत्यावश्यक चामल, दाल, नूनतेल र तरकारीका सामाग्री उपलब्ध गराउने गरी स्थानीय तहका वडा कार्यालयको सहयोग लिनु पर्छ। यसको लागि पनि राज्य कोष वा कोरोना कोषकै रकम परिचालन गर्दा हुन्छ। थोरै समयका लागि हुने भएकोले कम्प्युटर बिलिंग प्रणालीमार्फत भुक्तानी प्रबन्ध र स्टक व्यवस्थापनबाट राहत वा सुपथ मूल्य पसल प्रभावकारी बनाउन सकिन्छ। जोखिम समयमा बढी काम गर्नेहरुलाई न्यायोचित सेवासुविधा र बीमाको प्रबन्ध गर्न सकिन्छ। जसलाई हालै सरकारले घोषणा पनि गरेको छ।
४) संक्रमितलाई यथाशीघ्र एकीकृत उद्धार र उपचार
हाम्रो देशमा भर्खरैमात्र कोरोना भाइरसले संक्रमण गर्दैछ। अन्य देशका तुलनामा असाध्यै न्यून क्षति मान्नु पर्छ। यहाँ लेख्दै गर्दा पाँच जनामा मात्रै कोरोना रोगको संक्रमण पोजिटिभ देखिएको छ। उनीहरुलाई तुरुन्तै हेलिकप्टरबाट काठमाण्डौँस्थित टेकु कोरोना अस्पतालमा ल्याएर एकीकृतरुपमा एकद्वार उपचार सेवा प्रदान गर्नुपर्छ। अनुभवी चिकित्सक, सुविधासम्पन्न र आधुनिक ल्याब भएको हुँदा टेकु अस्पताल सरुवा रोगको रोकथामका लागि अत्युत्तम मानिन्छ। यसो गरिएमा स्थानीय क्षेत्रमा अरुलाई संक्रमित हुने खतराबाट चाँडो जोगाउन सकिन्छ। संक्रमित बिरामीहरुलाई छिटोभन्दा छिटो निको पार्नु अनिवार्य हुन्छ। निको भएको सन्देशले देशभर फैलिएको कोरोना आतंक क्रमशः घट्दै जान्छ। कोरोना बाहेकका अन्य विभिन्न रोगीहरुलाई अस्पतालले भर्ना नलिएको र उपचार नगरेको जनगुनासो बढेको छ। सबै अस्पताललाई जुनसुकै बिरामीको निसंकोच उपचार गर्न अनुरोध गर्नुपर्दछ। सरकारको अनुरोधलाई संकटको समय सबैले सम्मान गर्छन्। यदि त्यसो नभएमा राज्य कठोर बन्नुपर्छ। सबै अस्पताल सार्वजनिक उपभोगका लागि राज्यको अन्तिम क्षेत्राधिकार (Principle of Eminent Domain)अन्तर्गत रहनु पर्दछ। राष्ट्रिय संकटको बेला जनताका सम्पति सार्वजनिक हितका लागि राज्यले प्रयोग गर्न सक्छ।
५) सीमा नाकामा सुरक्षा फौजको परिचालन
दुई ठूला जनसंख्या भएका देशका बीचमा रहेको हाम्रो भू-भागमा विदेशबाट आएका नेपाली वा बिना अनुमति छिर्ने विदेशी नागरिकबाट रोगको संक्रमण फैलिदैछ। विदेशबाट आएका नेपाली वा विदेशीलाई कम्तिमा १५ दिन क्वाराइन्टाइनमा नराखी घर जान दिएको परिणाम अहिले हामी सबैले भोगिरहेका छौँ। अरुको कमजोरीबाट नसिकेर महामारीलाई भित्र्याउन हामी माहिर देखिएका छौँ। खुल्ला आवागमनको रोकथामको निम्ति सशस्त्र प्रहरी बल र नेपाली सेनालाई मन्त्रिपरिषदको निर्णयबाट भारतसँग जोडिएका सबै सीमा नाकामा अविलम्ब तैनाथ गर्न अत्यावश्यक देखिएको छ। उत्तरतर्फका निश्चित नाकामा सुरक्षा तैनाथी बढाउनु पर्छ। सबै सीमानाकाबाट एकजना पनि स्वेदेशी वा विदेशी छिर्न नदिने कडा प्रवन्ध गर्नुपर्छ। कथंकदाचित नेपाली नागरिक प्रवेश भएमा तत्काल १५ दिने क्वाराइन्टाइनमा अनिवार्यरुपमा कडाईकासाथ राख्नु पर्छ। इटालीमा अहिले सेना र स्वास्थ्यकर्मीले मात्रै काम गरिरहेका छन्। उक्त अनुभवका आधारमा सुरक्षा फौजसमेतका संयन्त्र परिचालनबाट माहामारी विरुद्धको युद्ध जित्नुपर्छ। सुरक्षा फौज र स्वास्थ्यकर्मीसमेतका लागि मनोवल उच्च राख्न मौद्रिक र गैरमौद्रिक उत्प्रेरणाका प्याकेज अझै थपेर घोषणा गर्नुपर्छ।
६) विदेशस्थित नेपाली राजदुतावास र नियोगको सक्रियता
नेपालीहरु विश्वभर फैलिएका छन्। करिब ४० देशमा नेपालका दुतावास र नियोगहरु छन्। यसकासाथै विभिन्न देश तथा सहरमा महावाणिज्य दुतावास छन्। यी निकायले नेपालीहरुको सूचना अद्धावधिक गरी राख्नुपर्छ। आपतविपदमा परेका नेपालीलाई तत्काल सहयोग र उद्धार गर्न तदारुकता देखाउन जरुरी छ। विदेशस्थित गैरआवासीय नेपाली संघसमेतको सहयोगमा प्रत्येक व्यक्तिसँग निकट रहेर युद्धस्तरमा काम गर्नुपर्छ। विदेशमा संकटमा रहेका नेपालीको मनोवल उच्च बनाउन सरकारले राजदुतावास, नियोग र सम्बन्धित निकायलाई युद्धस्तरमा परिचालित हुन आदेश दिनुपर्छ। नेपालीहरु विश्वका जहाँसुकै भएपनि राज्यले चासो र संरक्षण प्रदान गर्नुपर्छ।
७)नेपाली संस्कृती र मातृभूमीप्रतिको अगाध स्नेह
नेपालीहरु विश्वभर फैलिएजस्तै कोरोना भाईरस पनि विश्वभर करिब २०२ देशमा फैलिएको छ। अधिकांश नेपालीहरु अहिले विदेशमा होम क्वाराइन्टाइनमा छन्। उनीहरुमध्ये अहिले धेरै जना बेरोजगार छन्। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै पढ्ने वा व्यवसाय गर्ने नेपालीहरु गम्भीर संकटमा छन्। ती नै विदेशमा बसेर हाडछाला घोट्नेहरुले रगतपसिना बेचेर पठाएको रेमिटान्सले हाम्रो अर्थतन्त्रलाई ठूलो मद्धत पुगेको छ। ती अधिकांश नेपालीहरु नेपालस्थित आफ्नो घर आउन चाहान्छन्। विश्व संकटमा परेको बेला र करिब सबै देशमा कोरोना भाइरसले आक्रान्त पारेको त्रासदीपूर्ण स्थितिमा आफ्ना आमाबुबा, आफन्त, नातागोता, टोलछिमेक र बन्धुबान्धवसँगै गाउँघरमा बस्ने चाहना हुनुलाई स्वाभाविक नै मान्नु पर्छ। ‘मर्नै परे आफ्नै देशमा मरौँʼ भन्ने सोच्नुलाई अन्यथा ठान्नु हुँदैन।
यो नेपाली माटोप्रतिको अगाध स्नेहभाव र अतुलनीय सम्मान हो। तिनीहरुलाई नेपालमा भित्र्याए रोग पनि भित्रिने खतरा भएकोले अहिले यो जोखिम मोल्न सम्भव छैन। नेपालका आफन्तबाट ती व्यक्तिलाई रकम पठाउन सबै बैंकहरु बन्द भएको र मनी लाउन्डरिङसम्बन्धी कानुनी अड्चनले समस्या बनाएको छ। यस कठिनाईतर्फ पनि सम्बन्धित निकायले अवश्य दृष्टि पुर्याउनेछ।
८) बैंक तथा वित्तीय संस्था र अत्यावश्यक सेवाको प्रभावकारिता
नेपाल लकडाउनमा भएको बेला सबै बैंक तथा वित्तीय संस्थामा ताला लागेको छ। नेपालीहरुसँग घरमा पैसा सञ्चित राख्ने बानी छैन। अझ भनौँ, 'घर घरमा बैंक'को नाराले र सुरक्षा पूर्णप्रत्याभूतीको अभावले पनि त्यसो गरेको हुनसक्छ। कतिपय नेपालीमा त बैंकमा पैसा राखेका छन् तर एटिएम के हो भन्ने जानकारीसम्म छैन। चेक लिएर बैँकमा औँठा छाप लाएपछि आफ्नै हातले पैसा झिक्ने वर्ग अहिले धेरै मर्कामा छन्। उनीहरु केही दिन भित्रैमा बेखर्ची हुने देखिन्छ। एटिएमबाट पैसा झिक्न अभ्यस्त युवावर्ग बाहिर निस्कन नपाउँदा र एटिएममा रकम नहुँदा तनावमा छन्। यसका लागि सरकारले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा मानेर दैनिक तीन घण्टामात्रै भएपनि सञ्चालनको लागि आदेश दिनुपर्छ। निश्चित दुरी कायम गर्दै मास्क, सेनिटाइजर र हात धुने प्रबन्धद्वारा सेवा प्रदान गर्नुपर्छ। सामाजिक उत्तरदायित्त्व बहन गरी युद्धस्तरमा सरसहयोग गर्नुपर्ने जिम्मेवार संस्थाहरु लकडाउनभित्र बस्दा मर्कामा सोझासिधा ग्राहक जनता नै पर्ने हुन्। यसमा अबिलम्व बैंकर संघ र सम्बद्ध कर्मचारी युनियनले सहयोग गर्नुपर्छ।
९) सामाजिक तथा राजनीतिक संघ/संस्थाको प्रभावकारितामा अभिवृद्धि
विगतमा कहिल्यै नपरेको विपत्तको नियती नेपालले सामना गर्नुपरेको छ। यस विपदमा आपसी कुण्ठा, द्वेष र मनमोटाव छाड्दै स्वार्थभन्दा माथि उठेर जनसेवामा समर्पित हुनुपर्छ। राजनीतिक दलसँग आवद्ध संघ/संगठन, उद्धोग वाणिज्य संघ, पेशागत संघ/संगठन, विभिन्न गैरसरकारी संस्था आदिले समाजसेवा साच्चै गर्ने हो भने व्यवहारबाट प्रमाणित गर्न जरुरी छ। ‘सामाजिक उत्तरदायित्वʼलाई नेपालका उद्योग, कारखाना, व्यापारिक घराना, व्यक्तित्व, प्रतिष्ठान, सरकारी तथा गैरसरकारी सबै निकायले मनन् गर्नुपर्छ। संकटको बेला छाति ठूलो बनाउने नै इतिहासमा जीवित रहन्छ। सरकारले गर्छ वा सरकारले ध्यान दिएन भनेर आँखा चिम्लेर तुष्टि पोख्नु राम्रो हुँदैन। ‘स्टेटमेनशिपʼ वा ‘नेताʼ पुष्टि गर्ने उपयुक्त बेला यही नै हो। देशलाई आवश्यक परेको बेला बलिदानी दिने मान्छेले नै इतिहास बनाउन सक्छ। सही नीति बोकेर अघि बढ्ने नै असल नेता बन्छ। आलोचनाका शब्दबाट होइन, सामाजिक कर्मद्वारा आफूलाई कसी लगाएर नेता सावित गर्न सक्नु पर्छ। सरकारले यसका निम्ति सहज वातावरण निर्माण गरिदिनु पर्छ। यतिबेला २०६५ साल भदौ २ गते सप्तकोशीको बाँध फुटेको त्रासदीपूर्ण विपदको समयमा चर्चित टेलिभिजन पत्रकार स्व. इन्द्र लोहोनीले हेलिकप्टरबाट बाढी पीडितको उद्धार गरेको भिडियो ताजा स्मरण भईरहेको छ। त्यस किसिमको निस्वार्थपूर्ण सेवाको अपेक्षा यतिबेला आमजनताबाट गरिएको छ।
१०) स्थानीय उद्पादनमा बढोत्तरी र आविष्कारमा जोड
नेपाली रक्सिबाट स्थानीय स्यानीटाइजर बनेको छ। सिरकको सफा खोलबाट मास्क बनेको छ। व्यैक्तिक सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट- पिपिई) नेपालमा बन्न थालेको छ। ‘हाइटेक व्यक्तित्व महावीर पुनʼले पनि यसको लागि सक्रियता देखाएका छन्। प्रकोपको समयमा प्रयोगमा आउने पञ्जा, मास्क, टोपी, जुत्ता, गाउन आदि नेपालमा बन्न थालेका छन्। नेपालीहरु केही भएन भने वर्षादी लगाएर पनि काम गर्न सक्छन् भन्ने पुष्ट्याँई भएको छ। आवश्यकताबाट नै आविष्कार गर्ने हो। छिमेकी देशहरु आफ्नै आवश्यक्ता अनुरुप जगेडामा लागेका छन्। हामी हाम्रा सामाग्री आफैँ उत्पादन गर्न प्रयासरत छौँ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुन्छ/हुँदैन थाहा छैन, तर नेपाली आवश्यकता अनुसार हाम्रो मागलाई सम्बोधन गर्ने किसिमको अवश्य नै बन्छ। हामीलाई निर्यात गर्नु छैन, तर नेपालीलाई जोखिमबाट भने कुनैपनि कसरमा बचाउनु परेको छ।
११) ऐचोपैचो प्रथाको पुनर्ताजकीकरण
नेपालीको मन दया मायाले भरिपूर्ण हुन्छ। अरुको दुःख देख्न र आँशु हेर्न नेपालीले पटक्कै सक्दैन। चलचित्रमा आँशु बगाएको अभिनय हेर्दा भक्कानिने नेपाली जमातले दुख भरिएका सच्चा आँशुको मूल्य बुझ्न सक्छन्। आफ्नो घरमा भएका खाद्य पदार्थ वा सरसामान वा रकम बाँडचुड, ऐचोपैँचो र सरसापट चलाउनु नेपालीको मौलिक पहिचान हो। नेपालमा सम्पन्न भएका जनआन्दोलन, महाभूकम्प, नाकाबन्दी र प्राकृतिक आपतविपदमा सतिसाल झैँ ठिंग उभिएर सामना गरेका बहादुरीपूर्ण जीवित इतिहास हामी नेपाली सामु रहेको छ। नेपाली संवेदनशील मनमस्तिष्कले दुःखको घडीमा स्वार्थको पर्खाल भत्काएर दिलबाट दिन जानेको छ। मुलुक र मानवहितका लागि मन खोल्न सिकेको छ। नेपालीले मात्रै यति फराकिलो विचार देखाउन सक्छ। नेपालीको विशेषता नै लिनभन्दा दिन लालायित हुनु हो।
१२) एउटै मनवचनसहित संकट मोचनको पहल
स्वास्थ्य प्रतिकूलताका अलावा जुन आत्मविश्वास र दृढताकासाथ यो कठिन घडीमा देशलाई नेतृत्व प्रदान गरिरहेका प्रधानमन्त्रीज्युको मनोबल उच्च पार्दै सरकारलाई सबै किसिमको सहयोग र रचनात्मक सुझाव दिनु सबै नागरिकको कर्तव्य हो। नाकाबन्दीको समयमा पनि दृढ अठोटकासाथ सामना गर्दै उच्च सफलता हासिल गरेका वर्तमान प्रधानमन्त्रीले अहिलेको समस्या अवश्य समाधान गर्नछन्। त्यसको सकारात्मक संकेत दिने किसिमको जनराहत प्याकेज घोषणा भएको छ। यस महाबिघ्न र महाव्याधिबाट विश्व नै आक्रान्त भएको प्रतिकूलतामा हामी सबै जनता एकजुट भएर देशलाई शून्य क्षतिको अवस्थाबाट जोगाएर सफल अवतरण गराऔँ। प्राकृतिकरुपमा हामी धेरै सुरक्षित रहेका छौँ। अहिलेसम्म रोगव्याधिको कारणले संसारका अन्य राष्ट्रको तुलनामा अत्यन्तै कम क्षति भएको मुलुक हो, ‘नेपालʼ। यस चिनारीलाई जीवित राख्न हामीमा सदैव सफलता मिलोस्। 'हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ' भन्ने प्रसिद्ध भनाईलाई पुष्टि गर्दै ‘कोरोना प्रकोपमुक्त देश नेपालʼ बनाउन हामी नेपाली सफल होऔँ, आम् नेपालीमा शुभकामना छ।
(लेखक जिल्ला सरकारी वकील कार्यालय इलामका जिल्ला न्यायाधिवक्ता हुन्।)