महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर करिब १३ लाख संक्रमित भइसकेका छन् भने करिब ७० हजारको ज्यान गइसकेको छ। नेपालमा पनि सोमबार (चैत्र २४)सम्म करिब १९०० जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण देखिएको छ।
सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोभिड-१९ को परीक्षण हुने गरेकोमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपत्यका बाहिर पहिलो पटक परीक्षण सुरु गर्यो। हाल जनकपुर अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मध्यपश्चिम क्षेत्रिय अस्पताल, किटजन्य रोग अनुशन्धान तथा तालिम केन्द्र हेटौँडा र चितवनमा पनि परीक्षण सुरु भइसकेको छ।
साधारणतय, कुनै रोगको नतिजा नेगेटिभ आउदा खुशी लाग्नुपर्ने हो, तर यो महामारीको बेला नेपालमा आएको नेगेटिभ नतिजामा नागरिकहरु खुशी नभई अनेक शंका गरेको भेटिन्छ। यहाँको माइक्रोबायोलोजिष्ट, प्रयोगशाला वैज्ञानिक, टेक्नोलोजिष्टहरुको दक्षतामा प्रश्न गर्ने, नेपालमा भित्रिएको कीटमाथि नै शंका गर्ने, परीक्षण पद्धतीमाथि नै शंका गर्ने, चिकित्शकहरुको रोग पहिचान गर्ने क्षमतामाथि नै प्रश्न गर्ने गरेको पाइन्छ। सामाजिक संजालहरुमा यो विषयलाई मजाकको विषय पनि बनाइएको पाइन्छ।
किन आयो नेगेटिभ?
सर्वप्रथम यो बुझ्नु जरुरी छ कि हालसम्म नेपालमा गरिएको परीक्षणहरु विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको आरटी-पिसिआर प्रविधिबाट गरिएको हो। अहिले उपलब्ध प्रविधिहरु मध्ये यही नै उत्कृष्ट प्रविधि हो। यसको निम्ति आवश्यक पर्ने रसायन तथा कीटहरु पनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिएको मध्येबाट नै मगाइएको छ। यति हुँदाहुँदै पनि कुनै टेष्टको संवेदनशीलता १००% हुँदैन।
कुनैपनि टेष्ट पोजेटिभ नेगेटिभ आउनुमा धेरै कुराहरुको भूमिका हुन्छ। नमुनाको प्रकार, नमुना संनलनको विधि, भण्डारणदेखि लिएर नमुना ओसार्दा तापक्रम कायम भए/नभएको कुरा पनि महत्वपूर्ण हुन्छ। अर्को कुरा हरेक पटक टेष्ट गर्दा पोजेटिभ कंट्रोल र नेगेटिभ कंट्रोल राखिएको हुन्छ।
आफूले गरेको टेष्टमा पूर्णआत्मविश्वास नभएसम्म कुनै माइक्रोबायोलोजिष्टले रिर्पोट दिँदैन। त्यसैले नेगेटिभ नतिजा आउँदैमा प्रयोगशाला माथि शंका गरिहाल्नु अपरिपक्कता हो। आफ्नो र परिवारको ज्यान जोखिममा राखेर, भोक तिर्खा बिर्सेर, अहोरात्र बिरामीको नमुना परीक्षण गर्ने माइक्रोबायोलोजिष्ट र टेक्नोलोजिष्टहरुको हौसला उच्च राख्नुपर्ने बेलामा यस्ता नकरात्मक प्रचारहरुले ठेस पुयाउने गदर्छ।
अहिलेको स्थतिमा विश्वमै आरटी-पिसिआर किट, रसायन र व्यक्तिगत रक्षा उपकरण पिपिईको कमी भएका कारण कस्तो व्यक्तिलाई परीक्षण गर्ने भन्ने विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशिका एकदम साघुरो रहेको छ।
कोरोना संक्रमित देशबाट आएका र लक्षण भएका व्यक्तिलाई मात्र परीक्षणको दायरामा समेटिएको छ। यसकारण लक्षण नभएका व्यक्ति र निम्न लक्षण भएका संक्रमितहरु छुट्ने सम्भावना रहन्छ। विश्वमै चीन, दक्षिण कोरिया जस्ता केही देश बाहेक प्राय सबै देशमा हालत यस्तै रहेको छ।
अबको बाटो के?
सर्वप्रथम त स्वास्थ्यमन्त्रीले जनस्वास्थ्य विज्ञ, माइक्रोबायोलोजिष्ट, मेडिकल कन्सल्टेन्ट, पल्मोनोलोजिष्ट, आईसियु विज्ञसहितको उच्चस्तरिय समिति बनाउनु पर्छ जसले हरेक कुरामा सल्लाह दिन सकोस् र भावी रणनीति तय गर्न सफल होस्।
नेपाल कोभिड-१९ महामारीको दोस्रो चरणमा प्रवेश गरेसँगै अब बन्ने निर्देशिकाहरुमा परीक्षणको दायरा फराकिलो बनाउन अपरिहार्य हुन्छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहिसकेका सम्पूर्णलाई परीक्षण गर्नुपर्छ, चाहे लक्षण होस् या नहोस्। हालसालै संक्रमण फैलिसकेको देशबाट आएका व्यक्ति र परिवारलाई पनि परीक्षणको दायरामा ल्याउनु पर्दछ। भारतबाट हालसाल नेपाल प्रवेश गरेकाहरुलाई उचित व्यवस्थापन गरेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी सहितको क्वारेन्टाइनमा राख्नुपर्छ।
अहिले परीक्षण भइरहेको प्रयोगशालामा निरन्तरताको निम्ति आवश्यक कीट, रसायन र पिपिई समयमै उपलब्ध गराउनुपर्छ। अरु सम्भावित स्थानहरु पहिचान गरी आवश्यक उपकरण, कीट र तालिमप्राप्त प्राविधिकहरु खटाउनु पर्छ।
विभिन्न क्षेत्रमा छरिएर रहेका प्राविधिक विज्ञहरुलाई सरकारले उपयोग गर्नुपर्छ। आवश्यक जनशक्ति उत्पादनको निम्ति तालिमहरु अविलम्ब सुरु गर्नुपर्छ। आवश्यका सामाग्री खरीद गर्दा सम्बन्धित विज्ञसँग अनिवार्य परामर्श लिनुपर्दछ।
(लेखक बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबायोलोजिष्ट र प्रतिष्ठानको कोभिड-१९ र्यापिड रेस्पोन्स टिमका सदस्य पनि हुन्।)