सहिद परिवार
त्यस दिन युवराज न्यौपाने स्कुल छुट्टी भएपछि अपराह्न ४ बजेतिर घर फर्किँदै थिए।
उनको घर सिन्धुली गलोञ्जोर गाउँपालिका वडा नम्बर १ मा पर्छ। ५० वर्षीय युवराज सोही पालिका वडा नम्बर २ मा रहेको सुनकोशी प्राविमा पढाउँछन्।
स्कुलबाट मोटरसाइकलमा फर्किँदै गर्दा उनलाई काठमाडौंबाट सालीले फोन गरिन्।
एक्कासि भनिन्, 'भिनाजु, योगेन्द्रलाई गोली लागेर घाइते भएको छ। उपचारका लागि एभरेस्ट अस्पताल लगिएको छ। जेन–जी आन्दोलनमा जाँदा प्रहरीको गोली लागेर अस्पताल लगिएको हो।'
युवराज त्यति बेला केही बोल्नै सकेनन्। मोटरसाइकल चलाइरहेकाले घरमा पुगेर फोन गर्छु भन्दै राखिदिए। १५–२० मिनेटको दुरीमा घर छ। छोरालाई गोली लागेको भए तत्काल काठमाडौं जानुपर्छ भन्ने सोच्दै घर पुगे।
घर पुगेर श्रीमती लक्ष्मीलाई छोराको बारेमा सुनाए।
उनी रूँदै कराउन थालिन्।
तर कहाँ, कसरी गोली लाग्यो भन्ने कुरा न्यौपानै दम्पतीले भेउ नै पाउन सकेनन्। उनीहरूलाई छोरा आन्दोलनमा गएको छ भन्ने जानकारी पनि थिएन।
उनीहरूका छोरा २४ वर्षीय योगेन्द्र न्यौपानेई धेरैले रोशन भनेर चिन्थे। योगेन्द्रकी एक दिदी र एक भाइ छन्। दिदीको बिहे भइसकेको छ।
योगेन्द्र पढ्न भनेर सिन्धुलीबाट आएर भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा बसिरहेका थिए। त्यहाँ उनीहरूको आफ्नै घर छ। योगेन्द्र यहाँ बसे पनि उनका भाइ र आमाबुबा सिन्धुलीमै बसिरहेका छन्।
योगेन्द्र त्रिचन्द्र कलेजमा राजनीतिशास्त्रमा स्नातकोत्तर पढिरहेका थिए।
'पढ्न भनेर बसेको थियो। लोक सेवाको पनि तयारी गर्दै थियो,' युवराजले भने, 'पहिले उसकी आमा पनि त्यही थिई। छोराहरू आफै पकाएर खान सक्ने भएपछि यता आएकी हो।'
भदौ २३ गते, युवराजले योगेन्द्रलाई गोली लागेको खबर पाए। त्यस दिन उनको योगेन्द्रसँग कुरा पनि भएको थिएन।
गोली लागेको छ भन्ने थाहा पाएपछि उनीहरू काठमाडौं आउन निस्किन लागेका थिए, फेरि सालीको फोन आयो।
सालीले दिदी (लक्ष्मी) लाई पनि लिएर आउनू भनिन्।
युवराजले किन लिएर आउनू, के भएको हो, सत्य–सत्य भन त भने।
सालीले तत्काल केही जबाफ दिन सकिनन्।
युवराजले फेरि सोधे।
त्यसपछि सानो आवाजमा सालीले भनिन्, 'योगेन्द्र अब रहेन।'
सालीको कुरा सुनेर युवराज थचक्क भुइँमा बसे। उनलाई संसार घुमेको जस्तो लाग्यो। एकछिनसम्म केही बोल्न सकेनन्। आफन्तहरूले लगातार फोन गरिरहेका थिए। झन्डै आधा घन्टासम्म केही बोल्न सकेनन्। चुपचाप बसिरहे।
उनी चुप बसिरहँदा श्रीमतीले के भयो भन्दै प्रश्न गर्न थालिन्।
त्यसपछि उनले लक्ष्मीलाई भने, 'अब हाम्रो छोरा रहेन।'
लक्ष्मी चिच्याएर रून थालिन्। छरछिमेकी भेला हुन थाले।
'छोरा आन्दोलनमा गएको थाहै थिएन, गोली लागेर मृत्यु भयो भन्दा होस उड्यो,' युवराजले भने।
उनलाई सालीले सुनाएको कुरा झुटो भइदिए पनि हुन्थ्यो भन्ने लागिरह्यो। लक्ष्मीलाई सम्हाल्न छरछिमेकी आएपछि उनी काठमाडौं आउने तयारीमा लागे।
गाउँकै चिनेजानको एक जनाको गाडी लिएर काठमाडौं आउन लागे। लक्ष्मीले पनि छोराको अनुहार हेर्न जाने भनेर जिद्दी गरिन्। युवराजले उनलाई लिएर आएनन्।
'छोराको अनुहार हेर्न मन लागे घरमै लिएर आउँछु भनेर निस्किएँ,' उनले भने, '५ बजेतिर घरबाट निस्किँदा लगभग १० बजेतिर कोटेश्वर आइपुगेका थियौं।'
साढे १० बजेतिर उनीहरू एभरेस्ट अस्पताल पुगे। त्यहाँ योगेन्द्रलाई रगताम्य बेडमा राखिएको देखे। छोरासँगै अन्य दुई जनाको शव पनि त्यहीँ थियो। युवराज आइपुग्दा आफन्तहरू पनि अस्पताल आइपुगेका थिए।
त्यस दिन अस्पतालले शव निकाल्न दिएन। दोस्रो दिन शव टिचिङ अस्पताल पठाइयो। त्यहाँ पोस्टमर्टम हुन समय लाग्यो। मृत्यु भएको सातौं दिनमा बल्ल गाउँ पुर्याएर अन्त्येष्टि गरिएको उनले बताए।
योगेन्द्रलाई नयाँ बानेश्वर चोकको आकाशे पुलमुनि गोली लागेको थियो। नयाँ बानेश्वरबाट माइतीघरतर्फ बढ्दै गर्दा टाउकाको पछाडितर्फ गोली लागेको चिकित्सकहरूले जानकारी दिएका थिए।
'गोली लागेर भुइँमा ढलेको छोराको टाउको क्षतविक्षत थियो रे,' युवराजले भने, 'रगतले शरीरदेखि भुइँसम्म भिजेको थियो। यो सबै पछि थाहा पाएँ।'
योगेन्द्रलाई अस्पताल पुर्याएको केही बेरमै मृत घोषित गरिएको थियो। छोराले त्यस दिन दुई बज्न नपाउँदै प्राण त्यागेको उनको भनाइ छ।
लक्ष्मी अझै पनि छोरालाई सम्झिएर बेहोस भइरहने उनले बताए।
छोरामाथि गोली चलाउनेलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।
'छोरा नै चाहिन्छ भन्न मन थियो तर त्यो सम्भव छैन,' युवराजले भने, 'त्यसैले हाम्रो छोरालाई मार्नेमाथि कारबाही होस्।'
साथै मृतकहरूको गृह जिल्ला र पालिकामा स्मारक बनाउनुपर्ने, परिवारलाई नि:शुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुनुपर्ने उनले बताए।
उनले आफू अहिलेसम्म कुनै राजनीतिक पार्टीमा आबद्ध नभएको र छोरा पनि नभएको दाबी गरे।
'छोराहरूको भविष्यका लागि अहिले पनि गाउँको स्कुलमा पढाइरहेको थिएँ। छोराको कतै सरकारी जागिर लागेपछि काम छोड्ने सोच थियो,' उनले भने, 'अहिले त छोराले नै छाडेर गयो।'
***