सहिदको कथा
एक वर्षअघि काठमाडौं आएका थिए, १९ वर्षीय दीपकसिंह साउद।
बैतडी शिवनाथ गाउँपालिका–२ का दीपक विदेश जाने सपना बोकेर काठमाडौं छिरेका थिए।
कक्षा–११ मा पढ्दै गर्दा गाउँका साथीहरू विदेश जान थालेपछि दीपक गाउँमा बसिरहन सकेनन्। ११ को परीक्षा दिनासाथ उनी पनि काठमाडौं आए।
अब्बल मानिएका विद्यार्थी दीपकले बीचमै पढाइ छोड्न लागेको सुनेपछि शिक्षकहरूले उनलाई सम्झाएका थिए। विदेशी भाषासँगै पढाइलाई निरन्तरता दिन सकिने बताए।
अनि दीपकले कोरियन र जापानी भाषा कक्षासँगै कक्षा–१२ पनि पढेको उनका दाजु वीरेन्द्र साउद बताउँछन्।
'दुई देशको भाषासहित प्राइभेटबाट कक्षा–१२ पनि पढ्यो। २०८२ वैशाखमा १२ को परीक्षा दियो र पास पनि भएको थियो,' वीरेन्द्रले भने, 'कोरिया जाने पनि प्रक्रियामै थियो। तर भोलि केही कारणले उता रोकियो भने गाह्रो हुन्छ भनेर जापानी भाषा पनि पढ्थ्यो।'
दीपकले विदेश जान मेहनतमा कुनै कसर बाँकी छाडेका थिएनन्। मेहनती र राम्रो पढ्ने भएकाले परिवारको पनि उनीप्रति विश्वास र आशा थियो।
भदौमा भएको जेनजी आन्दोलनले परिवारको विश्वास र आशा सबै खोसिदियो।
दीपक गाउँकै साथीहरूसँग कीर्तिपुरमा डेरा गरी बस्थे। पढाइ र आफ्नो अरू खर्च जुटाउन विभिन्न ठाउँमा काम गरिरहन्थे।
'हाम्रो आर्थिक अवस्था एकदमै सामान्य भएकाले पैसा पठाउन सकिँदैन थियो। त्यसैले ऊ आफै कमाउँदै पढ्दै थियो,' वीरेन्द्रले भने।
परिवारका सात सन्तानमध्ये दीपक चौथो हुन् भने वीरेन्द्र जेठा। वीरेन्द्र भारतमा मजदुरी गर्छन्।
दीपकले पनि परिवारको कमजोर आर्थिक अवस्थाकै कारण पढाइभन्दा रोजगारी र आत्मनिर्भर बन्नेतर्फ बढी ध्यान दिएका थिए।
भदौ २३ गते काठमाडौं लगायत देशका मुख्य सहरमा आन्दोलन हुने कुरा वीरेन्द्रले सामाजिक सञ्जालबाट थाहा पाएका थिए। गाउँमा बसेका ६३ वर्षीय बुबा कालुसिंह र ५३ वर्षीया आमा लक्ष्मीलाई यी कुरा खासै थाहा थिएन।
नेपालमा फेसबुक बन्द भएकाले दीपकको दाइ, आमाबुबासँग पनि खासै कुरा भएको थिएन।
'तीन–चार दिनअघि मात्र कुरा भएको थियो। फेसबुक नचल्ने भएकाले चिन्ता नगर्न भनेको थियो,' वीरेन्द्रले भने, 'आ–आफ्नो काममा व्यस्त भएकाले अरू खास कुरा पनि हुन सकेको थिएन।'
दीपक भदौ २३ गते आन्दोलनमा गएका थिए। भाषा कक्षा भएकाले छिट्टै डेरामा फर्किए। त्यस दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो।
'प्रहरीले जनताका छोराछोरीलाई त्यसरी गोली चलाउन नहुने भन्दै २४ गते साथीहरूसँगै प्रदर्शनमा गएछ,' साथीका भनाइ उद्धृत गर्दै वीरेन्द्रले भने, 'देशलाई आवश्यक परेका बेला उभिनुपर्छ भन्दै आन्दोलनमा गएको हो।'
दीपक आन्दोलनमा गएको परिवारलाई थाहा थिएन। एक्कासि भदौ २४ गते, बेलुका ४ बजेतिर मात्र भाइलाई अस्पताल पुर्याएको थाहा पाएको वीरेन्द्र बताउँछन्।
दीपकलाई अस्पताल पुर्याएपछि उसका साथीहरूले मलेसियामा रहेका उनका अर्का दाजुलाई खबर गरेका थिए। त्यहाँबाट आफूले थाहा पाएको वीरेन्द्रले बताए।
'मलेसियामा भएको भाइमार्फत मैले खबर पाएँ। सोधपुछ र खोजी गर्यौं। कालिमाटीको वयोधा अस्पतालबाट थप उपचारका लागि वीर अस्पताल पठाएको कुरा थाहा भयो,' उनले भने, 'त्यहाँ पुर्याएको साँझ नै मृत्यु भएको खबर आयो।'
टाउकोमा गोली लागेकाले बचाउन नसकिएको चिकित्सकहरूले बताएका थिए। मृत्युपछि पनि उनको शव वीरमै राखिएको थियो।
२७ गते मात्र वीरेन्द्र भारतबाट काठमाडौं आइपुगे। सिधै वीर पुगे र प्रक्रिया पूरा गरी दोस्रो दिन पोस्टमर्टमका लागि टिचिङ अस्पताल लगे।
'भाइको शव गाउँ लिएर जाने सोच थियो। हेलिकप्टर र एम्बुलेन्स व्यवस्था गर्न सकिएन। सरकारले पनि केही सहयोग गरेन,' उनले भने।
उनका आमाबुबा काठमाडौं आउन सक्ने अवस्थामा थिएनन्। त्यसैले केही आफन्तको सहयोगमा भदौको अन्तिम दिन पशुपतिमा अन्त्येष्टि गरेर वीरेन्द्र गाउँ फर्किए।
'परिवारले सपना बोकेको छोराको निधन हुँदा कसैले पनि सम्हाल्न सकेका छैनन्,' वीरेन्द्रले भने, 'आमाबुबाको आँखा अझै ओभानो छैन।'
दीपक गाउँकै मेहनती र इमानदार युवाका रूपमा चिनिन्थे। उनको मृत्युपछि गाउँ नै शोकमा डुबेको वीरेन्द्र बताउँछन्।
'विदेश गएर परिवारको आर्थिक अवस्था सुधार गर्ने सोच थियो,' उनले भने, 'भाइसँगै परिवारको सपना पनि विलीन भयो।'
भाइले देशको परिवर्तनका लागि ज्यान गुमाएको उनको विश्वास छ। आन्दोलनमा ज्यान गुमाएका युवाको माग सरकारले पूरा गर्नुपर्ने उनी बताउँछन्।
सहिद घोषणा गरेर, १५ लाख रूपैयाँ क्षतिपूर्ति दिएर मात्र नहुने उनले बताए। परिवारका सदस्यलाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था पनि गरिदिनुपर्ने उनको माग छ।
उनका परिवारले गाउँपालिकामै दीपकको एउटा शालिक बनाउनुपर्ने पनि माग राखेका छन्।
'हामीले यसबारे पालिकामा पटक पटक कुरा राखे पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाइएको छैन,' उनले भने, 'यस विषयमा फेरि कुनै दिन गएर बुझ्नुछ।'
***