सहिदको कथा
८३ वर्षीय धनपति सेढाई र ७७ वर्षीया गुनमाया सेढाईका आँखा ७ महिनादेखि ओभाएका छैनन्।
हेरचाह गर्ने छोरा गुमाएपछि उनीहरूलाई आफूलाई सम्हाल्न गाह्रो परिरहेको छ।
झापा, अर्जुनधारा–११, लक्ष्मीधापका ३८ वर्षीय ज्ञानिन्द्र सेढाई (गोपाल) को भदौ २४ गते गोली लागेर मृत्यु भएको थियो।
धनपति र गुनमायाको बुढेसकालको सहारा थिए उनी। यो दम्पतीले ५ सन्तानलाई जन्म दिएको थियो। तीमध्ये कान्छा थिए ज्ञानिन्द्र।
उनीहरूका जेठा छोराको परिवार अमेरिकामा बस्छ। छोरीहरूको बिहे भइसकेकाले बुबा–आमाको हेरचाहको जिम्मेवारी ज्ञानिन्द्रकै काँधमा थियो।
बुबाआमा मात्र नभई उनले दिदी तुलसा र भान्जाको पनि हेरचाह गरिरहेका थिए।
'आमाबुबासँगै म र मेरो छोराको जिम्मेवारी पनि भाइकै काँधमा थियो। अहिले हामी अधुरा भएका छौं,' तुलसाले भनिन्, 'बिचल्ली भएको छ। आमाबुबालाई सम्झाउनै सकेको छैन। रोएर पनि भाइ नफर्किने रहेछ।'
ज्ञानिन्द्र भदौ २३ गते कतै गएका थिएनन्। साँझ मात्र युवाहरूलाई गोली लागेको खबर सामाजिक सञ्जालहरूमा देखे।
भर्खरका कलिला युवाहरूलाई गोली हानिएछ, हामीले केही गर्न सकेनौं भन्दै ज्ञानिन्द्र भुटभुटिएका थिए।
उनका भनाइ उद्धृत गर्दै दिदी तुलसाले भनिन्, 'यस्तो बेलामा चुप बस्नु हुँदैन। बोल्नुपर्छ।'
सामाजिक सञ्जालमा देखिएका दृश्यहरूले ज्ञानिन्द्रलाई रातभर निदाउन दिएनन्।
भदौ २४ गते बिहान ज्ञानिन्द्रले आफू आसपासका मानिसहरूसँग पनि आफ्नो असन्तुष्टि बाँडेका थिए। भर्खरका केटाकेटीलाई गोली हानिएको दृश्यहरूले मन पोल्यो भनेको तुलसाले पछि थाहा पाइन्।
ज्ञानिन्द्र योग सिकाउने काम गर्थे। नियमित रक्तदाता र सामाजिक अभियानी पनि थिए।
भदौ २४ गते बिहान उनी योग सिकाउन जाँदा आफू रातभर निदाउन नसकेको कुरा सुनाउँदै हिँडेका थिए।
'योग सिकाएर फर्किएपछि घरधन्दा गरेर रगत दान गर्न गएको रहेछ,' तुलसाले भनिन्, 'बिहान रगत दिएर आएको थियो। अपराह्न प्रहरीको गोली लागेर ज्यान गयो।'
रगत दान गरेर फर्किएपछि उनले बिहान ११ बजेतिर आमाबुबालाई खाना खुवाए। त्यति बेला अमेरिकामा रहेका दाजु–भाउजूलाई सामान पठाउने तयारी थियो। सवा ११ बजेतिर उनी निस्किए।
घरबाट निस्किएपछि उनले साथीहरूसँग मिलेर बिर्तामोडको मुक्ति चोकमा पानी र फलफूल बाँडे।
'भाइ र उसका साथीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीलाई हामी भिडन्त गर्न होइन, सहयोग गर्न आएका हौं भनेका थिए,' तुलसाले भनिन्, 'त्यसपछि केही मिनेटमै गोली लागेको खबर आयो।'
अपराह्न चार बजेतिर तुलसाले ज्ञानिन्द्रलाई गोली लागेको थाहा पाइन्। उनलाई बिएन्डसी अस्पताल पुर्याएपछि प्रहरीले परिवारलाई खबर गरेको थियो।
अस्पताल पुर्याउँदै उनको मृत्यु भइसकेको थियो।
'फोक्सोमा गोली लागेकाले तत्कालै मृत्यु भएको चिकित्सकहरूले बताए,' तुलसाले भनिन्, 'दोहोरो सास फेर्नसमेत पाएन।'
तुलसाका अनुसार ३८ वर्षीय ज्ञानिन्द्र केही समययता बिहे गर्न केटी खोजिरहेका थिए। यसपालि बिहे गर्ने तयारी थियो। तर त्यो सपना पूरा हुन सकेन।
२०४३ साल भदौ २८ गते तेह्रथुम जिल्लाको तत्कालीन ह्वाकु गाविस–५, चिसापानीमा जन्मेका हुन् ज्ञानिन्द्र।
सानैदेखि हक्की स्वभावका उनी कसैमाथि अन्याय र अत्याचार भएको हेरेर बस्न सक्थेनन्। त्यस विरूद्ध बोलिहाल्थे।
'त्यसैले भाइ सबैको आँखाको नानी थियो,' दिदी तुलसाले भनिन्।
व्यवस्थापन संकायमा स्नातकोत्तर पढेका ज्ञानिन्द्र योग सिकाउने बाहेक नर्सरी पनि चलाउँथे। व्यावसायिक कृषि अन्तर्गत सुपारी, मरिच लगायत खेती पनि गर्थे।
'घर–परिवार मात्र होइन, भाइको मृत्युले पूरै गाउँ शोकमा डुबेको थियो,' तुलसाले भनिन्, 'भाइ नभएपछि हामी अधुरा, अपूरा भएका छौं। सरकारले अब वृद्ध आमाबुबाको हेरचाह व्यवस्था गरिदिनुपर्छ।'
***