जंगलभित्रको कथा: अध्याय ७
मेघनाथ अधिकारी लमजुङको कुन्छाबाट भरतपुर आउँदा यहाँ केही थारू, कुमाल र दराई बाहेकको बसोबास थिएन।
पाखोबारीमा उब्जिएको अन्नले वर्षभर खान नपुग्ने अवस्था भोगिरहेका उनलाई चितवनको उर्वर भूमिले लोभ्याएको थियो। उनी श्रीमती कृष्णकुमारी र नाबालक छोरा शिवप्रसादलाई लिएर बन्दीपुर, गाईघाट हुँदै त्रिशूली र नारायणी नदीको किनारै किनार हिँडेर चितवन आइपुगेका थिए।
जंगलै जंगलले ढाकिएको चितवनको भरतपुरमा उनले खेती गर्न योग्य केही बिघा जमिन फेला पारे र त्यहीँ आफ्नो घर बसाए। यो २००९ सालको कुरा हो। त्यो ठाउँ अहिले नेपाल टेलिकम र सिँचाइ कार्यालयले ओगटेको भरतपुर महानगरपालिका वडा नम्बर १० मा पर्छ।
मेघनाथको परिवार चितवन बसाइ सरेको दुई वर्षपछि लमजुङदेखि गोरखा र धादिङदेखि मकवानपुरसम्म ठूलो वर्षा भयो। त्यसले पहाडी भेगमा ठूलो क्षति पुर्यायो। धेरै परिवार आफ्नो गाउँ छाडेर चितवन झर्न थाले। सरकारको औलो उन्मूलन कार्यक्रमपछि त पहाडी जिल्लाहरूबाट चितवन बसाइ सर्नेको संख्या ह्वात्तै बढ्यो।
२०१७ सालमा राजा महेन्द्रले शासनसत्ता हातमा लिँदासम्म चितवनमा व्यापक बस्ती विस्तार भइरहेको थियो। बस्ती विस्तारसँगै राजा महेन्द्रको सैन्य 'कू' विरूद्ध विद्रोहले चितवनमा उग्र रूप लियो। कतिसम्म भने, राजाको आदेशमा सेनाको हेलिकप्टरबाट भरतपुरमा बम खसालिँदैछ भन्ने हल्लाधरि चलेको थियो। विद्रोहकै क्रममा कांग्रेस कार्यकर्ताहरूले टिकौली, बेल्सीमा रहेका काठेपुल भत्काइदिएका थिए। मेघौली र भरतपुरको विमानस्थलमा सेनाको जहाज बस्न नदिन विद्रोहीहरूले ट्रयाक्टर लगाएर जोतिदिएका थिए।
यी सब घटनाक्रमबाट आतंकित मेघनाथ अधिकारीलाई भरतपुर बस्न मन लागेन। उनी आफ्नो परिवार र गाईवस्तु लिएर साबिकको चितवन प्रगन्ना (हालको पूर्वी चितवन) मा पर्ने प्याउलीमा बसाइ सरे।
अहिले भरतपुर अस्पताल भएको ठाउँबाट रामवेल चौकी, स्यालबास, रातामाटे, पांग्राझ्याल, मंगलपुर हुँदै प्याउली पुगिन्थ्यो। यहाँ मंगलपुर, प्याउली, गडुवा, हिले, तिलकाने, मान्द्रे र गुन्द्रे गरी सात गाउँ नजिकै थिए।
त्यो समय एउटा भैंसीले भेट्नेजति सबै जमिन कमाउन पाइने चलन थियो। एउटा भैंसीले कम्तिमा एक धुर जमिन ओगट्थ्यो। यस हिसाबले ९० वटा माउ भैंसी भएका मेघनाथको परिवारले कम्तिमा ९० धुर जमिन कमाउन पाउने भए। यो भनेको करिब ६० रोपनी हुन्छ। उनी यो जमिनबाट एक ट्रकभन्दा बढी तोरी उब्जाउँथे। त्यो तोरी तेल उत्पादनका लागि भारत लैजाने चलन थियो।
२०२१ सालको कुरा हो। एक बिहान मेघनाथका कान्छा छोरा शिवप्रसाद आफ्ना दाइसँग आँगनमा बसेर बढ्दै थिए। त्यही बेला दुइटा हात्ती आँगनमा छिरे।
हात्तीमा सवार थिए, सैनिक पोसाक लगाएका केही व्यक्ति।
तीमध्ये होचो कदका, मोटो र लामो जुँगा भएका व्यक्तिले मेघनाथ अधिकारीलाई बोलाउँदै भने, 'बाजे, ए बाजे!'
ब्राह्मण भएकाले मेघनाथलाई गाउँलेहरू 'बाजे' भनेर बोलाउँथे। उनी जसै घरबाट निस्किए, ती व्यक्ति हात्तीबाट ओर्लिए र मेघनाथ नजिक गएर भने, 'म सरकारले पठाएको मान्छे हुँ। तपाईं चितवनको पुरानो मान्छे। यहाँ तपाईंको जति जग्गा छ, त्यति नै जग्गा तपाईं जहाँ भन्नुहुन्छ त्यहाँ सरकारले नापेर दिन्छ। तर तपाईं यहाँबाट उठिदिनुपर्यो र अरू गाउँलेहरूलाई पनि उठाउन मद्दत गर्नुपर्यो। तपाईंलाई जस्तै अरू गाउँलेलाई पनि जति जग्गा छ, त्यति नै जग्गा सरकारले नापेर दिनेछ।'
सैनिक पोसाकमा आएका सरकारी दूतको सन्देश सुनेर मेघनाथ असमञ्समा परे। आफ्नो नाभी जोडिएको थातथलोबाट गाउँलेहरूलाई उठाउन सजिलो थिएन। उनी आफैलाई पनि जंगल फाँडेर बसालेको घरबास चटक्क छाडेर जान गाह्रो थियो।
मेघनाथले यही कुरा ती दूतलाई सुनाए र घर आएका पाहुनालाई भैंसी दुहेर खिर पकाइवरी खुवाएर पठाए।
उनी गइसकेपछि छोरा शिवप्रसादले मेघनाथलाई सोधेछन्, 'ती होचा र जुँगा पालेका मान्छे को हुन् बा?'
उनको खास नाउँ मेघनाथलाई पनि थाहा थिएन। तर छोराको प्रश्नको जबाफमा उनले फ्याट्टै भनेछन्, 'भालुभुत्ते मेजर!'
हुन पनि गैंडा गस्तीमा खटिएका मेजर नरराज थापालाई गाउँलेहरू 'भालुभुत्ते मेजर' नै भन्थे। उनले चितवन जंगलभित्रका बस्ती हटाएर धेरैको उठिबास पारेकाले गाउँलेहरूले यस्तो नाउँ दिएका थिए। बस्ती हटाउने क्रममा गाउँलेहरूमाथि बलसमेत प्रयोग गरिएकाले रिसको झोँकमा 'भालुभुत्ते' भनिएको भनाइ छ।
राप्तीपारिका चन्ना, चन्नी, पन्ना, पन्नी, खद्रमल्ली, खुटुवा, ढुम्रे, श्रीरामपुर, बाँसबारी, कसरा घडगाईं, भिम्ले, सुकिभार, खोरियामुहान, मटेरी लगायतका बस्ती खाली गरेपछि उनी प्याउली गाउँ आइपुगेका थिए। राप्ती नदीबाट उत्तरतिरको यो क्षेत्रलाई मृगकुञ्ज घोषणा गर्ने तयारी थियो।
यसरी चितवन जंगलका बस्ती हटाउनुका पछाडि पनि एउटा खास कारण छ।
एकचोटि राजा महेन्द्र सिकार खेल्न चितवन आउँदा वन्यजन्तु फेला पार्न निकै सकस भएछ। उनले 'किन यस्तो भयो' भनेर मेजर नरराज थापा उर्फ भालुभुत्ते मेजरलाई सोधेछन्।
उनले जबाफ दिए, 'मान्छे बसेर सरकार।'
त्यसपछि राजा महेन्द्रले फेरि सोधे, 'त्यसो भए अब के गर्नुपर्ला त?'
'यहाँ जो बसिरहेका छन्, उनीहरूलाई उठाएर अन्यत्र सार्नुपर्छ सरकार,' मेजर थापाले राजा महेन्द्रलाई सल्लाह दिए, 'उनीहरू यहाँ जति जग्गा कमाएर बसेका छन्, नयाँ ठाउँमा पनि त्यति नै जग्गा दिने बन्दोबस्त गर्नुपर्छ।'
राजा महेन्द्रलाई सल्लाह चित्त बुझ्यो।
त्यसपछि उनै मेजरले माडी र ठोरीलाई बसाइँसराइको विकल्पका रूपमा अघि सारे। माडी र ठोरीमा बस्ती सार्दा सिमानाको रक्षा हुन्छ, जनावरहरू पनि नेपाली सीमा नाघेर भारत पस्न सक्दैनन् भन्ने मेजरको तर्क थियो।
महेन्द्रले उनको तर्कमा सहमति जनाए र माडी-ठोरीमा बस्ती सार्न स्वीकृति दिए।
आफ्नो प्रस्ताव दरबारबाट स्वीकृत भएपछि भालुभुत्ते मेजर बस्ती उठाउन कम्मर कसेर लागे। सुरूमा उनले राप्ती नदीभन्दा दक्षिणतर्फको बस्ती उठाएर माडी, ठोरीतिर पठाए। त्यसपछि उत्तरतर्फको बस्ती उठाउने अभियानमा लागे। यसै क्रममा प्याउली गाउँको बसोबास सार्न उनी मेघनाथको घर आइपुगेका थिए।
सुरूमा त मेघनाथ मानेनन्। आफूले दस नंग्रा खियाएर बसालेको बस्ती कुनै हालतमा छाड्दैनौं भनेर अड्डी कसे।
तर पटक पटकको ताकेता र दरबारकै आदेशका अगाडि उनको केही जोड चलेन। भालुभुत्ते मेजरले जसरी पनि बस्ती उठाएरै छाड्ने देखेपछि उनले जुनेली रातमा गाउँलेहरू सबैलाई आफ्नो घरको आँगनमा बोलाए र सरकारको तर्फबाट जारी उर्दी सुनाए।
गाउँलेहरू एकछिन टोलाए, अनि दृढ हुँदै भने, 'तपाईं जहाँ भन्नुहुन्छ त्यहाँ जान तयार छौं बाजे।'
गाउँलेहरूको साथ पाएपछि मेघनाथ ७९ घरको तथ्यांक लिएर माडी र ठोरीमा जग्गा हेर्न गए। केही गाउँलेहरू पनि डोकोमा पोकापन्तुरा बोकेर सँगसँगै गएका थिए। तीमध्ये १४ जनालाई ठोरी मनपर्यो। उनीहरू त्यतै बस्ने भए। अरूले भने माडीको अयोध्यापुरीमा रात बिताउने र भोलिपल्ट जग्गा हेर्ने निधो गरे। दुर्भाग्य के भयो भने, राति बास बस्ने ठाउँमा डोको बिसाउन नभ्याउँदै उनीहरूलाई जंगली हात्तीले लखेट्यो।
हात्ती तर्साउन उनीहरूले राँको बाले। राँकोको ताप र चमकले हात्तीहरूको भागाभाग भयो।
संकट त टर्यो, तर अधिकांशलाई माडीमा बस्न सकिँदैन भन्ने भयो। कुमालहरू भोलिपल्ट बिहानै फर्किए। हिँड्ने बेला मेघनाथलाई भनेछन्, 'बाजे बरू हामी हलो जोतेर खान्छौं, तर यहाँ बस्दैनौं।'
यही घटनाका कारण मेघनाथलाई 'प्याउली बाजे' भन्न थालिएको शिवप्रसाद सम्झन्छन्।
भरतपुर छाडेर प्याउली बसाइ सरेको र अयोध्यापुरीको जग्गा हेर्न प्याउलीका गाउँले लिएर आएकाले सबैले 'प्याउली बाजे' नाम दिएको उनको भनाइ छ।
प्याउली बाजेको कान्छो छोरा भएकाले शिवप्रसाद आफै पनि यहाँ 'प्याउली कान्छा' नामले चिनिन्छन्।
यति मात्र कहाँ हो र! उनीहरू माडीको जुन ठाउँमा बसे, त्यो ठाउँको नाउँ नै प्याउली रह्यो।
'प्याउली कान्छा' भनेर चिनिने शिवप्रसाद अधिकारी। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
त्यति बेला मेघनाथले सारा गाउँलेलाई आफूसँग लिएर गएका भए पनि एउटा कुमालको परिवार मात्र उनीसँग बस्यो। माडी घना जंगलको बीचमा रहेकाले अरू गाउँलेहरू त्यहाँ बस्न डराए। कोही सौराहा नजिकको खोरसोर गए। कोही भोजाड गए। कोही मेघौली गए त कोही शुक्रनगर र कालिकाथानतिर बस्न थाले। अलि सम्पन्न परिवार त भरतपुरको हाल चौबिसकोठी रहेको ठाउँतिर पनि बसाइ सरे।
यसरी वन क्षेत्रको बस्ती हटाउन सफल भएपछि भालुभुत्ते मेजर कर्नेल बने।
'उनी राजाका बफादार थिए,' प्याउली कान्छा उर्फ शिवप्रसादले भने, 'राजाको आदेश पालना गर्न उनले कुनै कसर छाडेनन्। त्यत्तिको मान्छे नभइदिएको भए बस्ती उठाउन गाह्रो थियो।'
उनको त्यो अभियानले आफू लगायत धेरै परिवारको उठिबास भए पनि चितवन जंगल संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
भालुभुत्ते मेजरका यस्ता थुप्रै किस्सा चितवनका पुराना बासिन्दा रमाइलो ढंगले सुनाउँछन्।
तिनैमध्ये एक हुन्, रामप्रित यादव जो राष्ट्रिय निकुञ्जको निम्ति सर्वेक्षण गर्न आएको टोलीका सदस्य थिए।
उनका अनुसार चितवन निकुञ्ज बन्नुभन्दा केही वर्षअघि राजा महेन्द्र सौराहा आएका थिए। उनी सिकार खेल्न जंगल पस्दै थिए। राजालाई हेर्न मान्छेको उधूम भीड लागेको थियो। त्यही भीडमा रामप्रित यादव पनि थिए।
उनले जुँगा पालेका, कालो वर्ण र होचो कदका एक व्यक्ति परबाट भीडतिर आउँदै गरेको देखे। ती व्यक्तिका पछाडि हात्तीसारेहरू लामबद्ध हिँडिरहेका थिए। यो देखेर रामप्रितलाई ती व्यक्ति हात्तीको दानापानी ओसार्ने वीरगन्जका ठेकेदार होलान् भन्ने लागेका थियो। ठेकेदार पनि राजा आउँदैछन् भन्ने थाहा पाएर हेर्न आए होलान् भन्ने उनले सोचेका थिए।
त्यही बेला राजा महेन्द्र गाडीबाट बाहिर निस्के। रामप्रितले वीरगन्जको ठेकेदार ठानेका ती व्यक्ति लमक लमक लम्किँदै राजा महेन्द्रको समीप पुगे र राजासँग एकदम मित्रवत् ढंगले गफ गर्न थाले।
'त्यो देखेर चाहिँ मलाई यी कुनै ठूलो ओहोदा मान्छे रहेछन् भन्ने पक्का भयो,' रामप्रित यादवले भने, 'पछि सोधपुछ गर्दा थाहा भयो, हामीले धेरैतिरबाट नाम सुन्दै आएको भालुभुत्ते मेजर उनै रहेछन्।'
'तपाईंले के सुन्नुभएको थियो उनका बारेमा?'
हाम्रो यो प्रश्नमा चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रितले भने, 'राप्तीपारिको बस्ती उठाउने मेजर राजाका प्रिय मान्छे हुन् रे भन्ने हामीले सुनेका थियौं, तर देखेका थिएनौं। मैले पहिलोपटक उनलाई देखेको त्यही बेला हो। त्यसको केही समयमै उनको सरूवा भइहालेछ। चितवनबाट सिधै कञ्चनपुर पुगेछन्। म चितवन निकुञ्ज सर्वेक्षण गर्न जानु र उनी सरूवा हुनु लगभग उही समयमा हो। त्यसैले सँगै काम गर्न पाइनँ।'
निकुञ्ज निर्माणका लागि बस्ती स्थानान्तरण गर्नमा भालुभुत्ते मेजरको ठूलो भूमिका रहेको उनी बताउँछन्। उनकै अगुवाइमा पदमपुर बाहेकका बस्ती खाली गरेपछि चितवन निकुञ्ज स्थापना भएको थियो। पदमपुर भने पुरानो थारू गाउँ भएकाले तत्काल नहटाउने निर्णय गरिएको थियो।
हामीले यी मेजरका बारेमा स्थापनाकालदेखि चितवन निकुञ्जमा कार्यरत कुबेरसिंह गुरूङसँग पनि कुरा गरेका थियौं।
'भालुभुत्ते मेजरले हटाएका बस्तीका मान्छे माडीको नयाँ बस्तीमा र बाँदरझुलामा सरेका थिए। उनीहरू सरेपछि निकुञ्जको सीमा निर्धारण गर्न हामीलाई सजिलो भएको थियो। नत्र मान्छेले वन मासेर सक्न लागिसकेका थिए। जताततै गाईभैंसी चराउने चलन थियो। निकुञ्ज स्थापनापछि यो क्रम हट्दै गयो। वन्यजन्तु पनि जोगिन थाले,' गुरूङले भने।
'त्यति बेला स्रोत-साधन अभावमा पनि उनले वन संरक्षणमा महत्त्वपूर्ण काम गरे,' उनले अगाडि भने, 'त्यतिखेर उनीसँग के साधन थियो र! एउटा रसियन गाडी थियो। बढी प्रयोग हुने यातायात साधन भनेका साइकल र हात्ती नै थिए। हात्ती पनि भन्नेबित्तिकै पाइन्थेन।'
चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
भालुभुत्ते मेजर चितवनका स्थानीयको सम्झनामा पनि ताजै छन्।
मेघौलीमा जन्मिएका ७३ वर्षीय सत्यनारायण चौधरी भालुभुत्ते मेजर देखेपछि मान्छेको भागाभाग हुने गरेको सुनाउँछन्।
'उनी कहिलेकाहीँ यहीँ दद्रेनीमा रहेको गैंडा गस्तीको चौकीतिर आउँथे। हाम्रै घरमा पनि सुत्थे। तर मलाई उनी छन् भनेपछि खुब डर लाग्थ्यो,' उनले भने, 'ठूला मान्छेले उनी खतरनाक छन् भन्थे। हामी सानाको सातो जान्थ्यो।'
मेघौलीका पुराना संरक्षणकर्मी मायाराम चौधरीले पनि भालुभुत्ते मेजरलाई सानैमा देखेका थिए। उनी बेला बेला हात्ती चढेर सहयोगीसहित मेघौली आउँथे। मायारामका हजुरबुबा मेघौलीका जमिनदार थिए। पछि केही समय उनी पनि हजुरबाका उत्तराधिकारी बने। मेजर प्रायः जमिनदारकै घरमा बस्थे। उनी आउँदा घरमा माछा, मासु, दही, दूधको व्यवस्था गर्नुपर्थ्यो। गाउँलेहरू भने भालुभुत्ते आए भनेर खुब डराउँथे।
'उनले जनतालाई साह्रै दुःख दिएर व्यवहार गर्थे भनेर सुन्थेँ। हुन त उनले राज्यकै आदेशमा बस्ती उठाएका हुन्। निकुञ्जको अवधारणा आएपछि नै भित्रको बस्ती सार्ने काम भएको हो। राज्यले दिएको जिम्मेवारी उनले पूरा गरेका मात्र हुन्,' उनले भने, 'तर जिम्मेवारी पूरा गर्दा पनि कोही मान्छे सबैलाई मिलाएर व्यवहार गर्छन्, कोही रूखो व्यवहार देखाउने हुन्छन्। उनी रूखो व्यवहार देखाउने खालका थिए।'
हाल ७३ वर्ष पुगेका मायारामले थाहा पाउँदा पनि राप्ती नदीपारि भिम्ले, खोरियामुहान र हर्राबास बस्ती थियो। त्यो बस्ती २०२० सालतिर हटाइयो। ती गाउँ पुग्न मेघौलीबाट घना जंगल छिचोल्नुपर्थ्यो। पछि उनीहरू सरेर राप्ती नदीवारि सिद्धनगर आए। कोही माडी र ठोरीतिर गए।
२०२६ सालमा सिद्धनगर मौजाको नापी भएको थियो। उनीहरूले त्यहाँ जग्गाको सट्टाभर्ना पाएका थिए। तर नदीले कटान गरेपछि सिद्धनगर बस्ती पनि खाली भयो। अहिले त्यहाँ राप्तीको बगर छ। त्यहाँका मान्छेलाई पुनर्बास कम्पनीले बाँके, बर्दिया लग्यो। कतियले अझै पनि त्यही जग्गाको तिरो तिर्दैछन्। कोही मेघौलीतिर आएर बसेका छन्।
राप्तीपारिको बस्ती सारेपछि पनि लामो समय त्यो ठाउँ सर्वसाधारणका लागि खुला थियो। मेघौलीका बासिन्दा गाईबस्तु चराउन, खरखडाई काट्न त्यही ठाउँ पुग्थे। निकुञ्ज स्थापनापछि भने त्यो क्रम रोकियो।
स्थानीयका अनुसार भालुभुत्ते मेजरले वनबाट बस्ती हटाएपछि धेरै परिवार माडीतिर बसाइ सरेका भए पनि त्यहाँ थारू समुदायको बस्ती भने पहिलेदेखि नै थियो। त्यो बस्तीको सुरूआत कहिलेबाट भयो, त्यो चाहिँ यकिन छैन।
माडीको बघौडा घर भएका ९१ वर्षीय केवल चौधरीलाई उनीअघिका पाँच पुस्ता माडीमै रहेको थाहा छ। त्यसअघिका पुस्ता पनि माडीमै रहेको उनी अनुमान गर्छन्। उनका हजुरबुबा, बुबा बघौडा मौजाका जिमदार थिए। बाघ ओहोरदोहोर गर्ने गौंडामा पर्ने भएकाले त्यो मौजालाई बघौडा भन्ने गरिएको थियो। यो मौजामा २०१५ सालदेखि केवल चौधरी आफ्ना बाबुको उत्तराधिकारी बने। उनी बघौडा मौजाका जिमदार मात्रै थिएनन्, समग्र माडीका चौधरी नै थिए। माडीमा २५ मौजा थिए। मौजाको कर जुटाएर सरकारलाई बुझाउने काम जिमदारको हुन्थ्यो। जिमदारहरूको नेतृत्व चौधरीले गर्ने चलन थियो।
'म जिमदार हुँदा बघौडा मौजामा ९-१० घर थिए। माडीभरि २-३ सय घर थिए होलान्। सबैजसो थारू थिए। केही बोटे र दराई बस्थे। उनीहरूबाट कर असुलेर वार्षिक ६ सय रूपैयाँ सदरमुकाम उपरदाङगढीमा लगेर बुझाइन्थ्यो,' चौधरीले भने।
उनका अनुसार २-३ सय परिवार मात्र रहेको माडीमा २०२० सालपछि बाहिरबाट मान्छे आउने क्रम बढेको थियो। त्योभन्दा अगाडि मान्छेहरू औल लाग्छ भनेर चितवन आउन डराउँथे। त्यसमाथि चारैतिर जंगलले घेरिएको माडीमा जनावरको डर उस्तै थियो। लगाएको बाली खाइदिने र पशुचौपाया मारिदिने समस्या थियो। जनावरले मान्छे मार्ने क्रम भने अहिलेजस्तो धेरै थिएन। त्यतिखेर मान्छे थोरै थिए, उनीहरूलाई जनावरसँग कसरी बच्ने भन्ने उपाय थाहा थियो। जो पायो त्यही यहाँ आएर टिक्न सक्थेनन्।
'जनावरले बढी नै दुःख दियो भने जिमदारहरूले सरकारलाई जानकारी गराउँथे। राजा वा प्रधानमन्त्रीको सिकार सवारी हुँदा २५ जना जिमदार र एक जना चौधरी छेउमा उभिएर सरकार हामीले दुःख पायौं भन्थ्यौं। उनीहरूको गाडी रोकिन्थ्यो। के भयो भनेर सोध्थे,' केवलले भने, 'हामी जनावरले दुःख दियो सरकार भन्थ्यौं।'
त्यसपछि उताबाट प्रश्न आउँथ्यो, 'के गर्ने त?'
उनीहरू बिन्ती बिसाउँथे, 'कि मारिदिनुपर्यो, कि मार्ने कुरा दिनुपर्यो सरकार!'
जिमदार र चौधरीहरूको बिन्ती सुनेपछि जनावरको बिगबिगी भएको क्षेत्रमा सिकार सवारी चलाइन्थ्यो र सिकार खेलेर जनावरहरू मारिन्थ्यो। त्यति गर्दा पनि जनावरको आतंक नघटे जालमा पार्न स्थानीयलाई नै अनुमति दिइन्थ्यो।
'जालको अनुमतिले पनि भएन सरकार भनेपछि भरूवा बन्दुक दिन्थे। त्यसपछि जनावरलाई बन्दुकले हानेर मार्न पाइन्थ्यो,' चौधरीले भने, 'यसरी मार्दामार्दै जनावरको संख्या घट्दै गयो, मान्छेको संख्या बढ्दै गयो।'
चितवन निकुञ्ज स्थापनापछि भने वन्यजन्तु संरक्षणका काम अघि बढे। वन्यजन्तु मार्नेलाई कडा सजायको व्यवस्था गरियो। त्यसपछि वन्यजन्तुको संख्या बढ्दै गयो; मानव र वन्यजन्तुको द्वन्द्व पनि बढ्दै गयो।
मेघौलीका संरक्षणकर्मी मायाराम चौधरी। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
२०३६ सालमा बसाइ सरेर माडी पुगेका बिगु बोटेलाई भने भालुभुत्ते मेजरका बारेमा थाहा छैन, तर उनलाई भालुको विषयमा धेरै थाहा छ। उनी अचेल सपनामा पनि भालुलाई देख्छन्। भालुसँग लड्छन्, अनि जितेर खुसी हुन्छन्।
करिब १० वर्षअघि उनी श्रीमती सन्सारी र छोरासहित भोर्लाको पात टिप्न भनेर घरदेखि दक्षिणतर्फ चुरेको जंगलतिर जाँदै थिए।
उकालो, घुम्ती बाटो थियो। साँघुरो गोरेटोमा ठिंग उभिएका दुइटा भालुसँग उनको जम्काभेट भयो। एउटा सिधै बिगुमाथि जाइलाग्यो। अर्को श्रीमती र छोरातिर दौडियो। सन्सारी गोरेटोको तलतिर खोल्सोमा लुक्न भ्याइन्। उनी त्यहीँ बेहोस भइछन्। छोरा भाग्न भ्याए। बिगुलाई भने भालुले छोडेन। उनलाई हात र टाउकोमा बेस्सरी कोपारेर भालु बाटो लाग्यो।
घाइते भएर ढलेका बिगुलाई श्रीमतीले गाउँ पुर्याइन्। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगियो। एक महिना अस्पताल बसेपछि उनी घर फर्किए। तर त्यो घटनाको असर उनको जीवनमा अहिले पनि परिरहेको छ।
केही दिनअघि हामी पुग्दा घरको बरन्डामा ह्विलचेयरमा बसिरहेका थिए बिगु। छेउमा श्रीमती थिइन्। कुराकानी सकेपछि हामीले उनीसँग बिदा माग्यौं। केही पर पुग्दा उनले बोलाए।
'ए सर सुन्नु न, एउटा कुरा त भन्नै छुटाएछु।'
'हजुर भन्नुस्' भन्दै म उनको नजिकै पुगेँ।
'म त अचेल सपनामा पनि भालुलाई देख्छु नि सर,' उनले भने, 'सपनामा मेरो सधैं भालुसँग लडाइँ पर्छ।'
'ए हो र, अनि कसले जित्छ नि लडाइँ?'
उनले गर्वसाथ सुनाए, 'मेरो त ग्रह नै बलियो छ सर। भालुले जित्ने त सम्भावनै छैन। सधैं हारेर लुत्रूक्क परेर फर्किन्छ बिचरो।'
बिपनाको कुरा भने अर्कै छ। भालुको आक्रमणपछि बिगुको रोजीरोटी गुम्यो। श्रीमती उनको सहारा बनेकी छन्।
भालुविज्ञ राजन पौडेलका अनुसार नेपालमा दुई प्रकारका भालु पाइन्छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपास काठे भालुको बासस्थान छ। चितवन र पर्सा क्षेत्रमा करिब सयवटा भालु रहेको र नेपालभर करिब ५ सयवटा काठे भालु रहेको उनको अनुमान छ।
बर्दियाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि भालु भेटिन्छन्। तराई र चुरे क्षेत्रमा काठे भालु भेटिने गरेको उनले बताए।
भालु सर्वहारी जनावर हो। सामान्यतया काठे भालुले कीरा, धमिरा, कमिला, मह, जंगली फलफूल खान्छन्। रूखको ठुटामा गुँड बनाएर बस्ने धमिरा भालुको मुख्य आहारा हो। 'यिनले बाघ र चितुवाले जस्तो अरू जनावर मारेर मासु खाँदैनन्,' पौडेलले भने, 'यिनीहरू रूख चढ्छन्। महाभारत र हिमाली क्षेत्रमा कालो भालु पाइन्छन्। तिनले सिकार गरेर मासु नै खान्छन्।'
हिमाली क्षेत्रमा पाइने कालो भालुले चौंरी र भेडा मारेर खान्छन्। माडीमा बिगु बोटेजस्ता धेरैलाई काठे भालुले आक्रमण गरेको छ। ती घटना भालुसँग जम्काभेट भएर भएका छन्। आत्तिएको भालुले मान्छेलाई हमला गरेर भाग्ने घटनालाई विज्ञहरू सामान्य रूपमा लिन्छन्।
तर २०५८ सालमा माडीमा भएको एउटा घटनाले विज्ञहरूलाई नै चित खुवाइदियो। त्यस्तो घटना न त्यसअघि भएको थियो, न त्यसपछि नै भएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहामा ४३ वर्ष वन्यजन्तु प्राविधिकका रूपमा काम गरेर सेवानिवृत्त भएका विष्णु लामाले हामीसँगको भेटमा त्यो घटना सुनाएका थिए।
२०३६ सालमा बसाइ सरेर माडी पुगेका बिगु बोटे। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
कुरा २०५८ पुस-माघतिरको हो। पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत माडीको चैनपुर भन्ने ठाउँमा भालुले बाख्रा मारेको खबर चितवन राष्ट्रिय निकुञ्जमा आइपुग्यो। भालुले एउटा बाख्रा मात्र होइन, हरेक दिन गाउँ पसेर बाख्रा मारिरहेको खबर थियो। भालुले जनावर सिकार गरेर मासु खाएको कहिल्यै नसुनेका निकुञ्जका कर्मचारी यो खबर सुनेर चकित परे।
विष्णु लामा र उनका दाइ हर्कमान लामा मानव बस्तीमा पसेर दुःख दिने वन्यजन्तुलाई नियन्त्रणमा लिने काम गर्थे। निकुञ्जको टोलीसँगै उनीहरू पनि भालुले समस्या पारेको गाउँमा पुगे। उनीहरूले पाएको खबर साँचो रहेछ।
त्यो गाउँमा हरेक दिन बाख्रा मरिरहेका रहेछन्। हरेक बिहान पेट चिरिएको अवस्थामा मरेका बाख्रा भेटिन्थे। ती बाख्राको पेटभित्र हेर्दा फोक्सो, कलेजो र मुटु हुन्थेनन्। बाँकी शरीर जस्ताको तस्तै भेटिन्थ्यो। कुरा बुझ्दै जाँदा ती बाख्रालाई भालुले नै मारेको अनुमान टोलीले गर्यो।
भालु साँझ परेपछि गाउँमा प्रवेश गर्थ्यो। रातको समय कुनै खोर भत्काउँथ्यो। अनि त्यहाँ रहेका बाख्रा मारिदिन्थ्यो। अँध्यारो समय, कालो रंगको भालु देखिने कुरै भएन। बाख्रा कराएपछि हल्लाखल्ला हुन्थ्यो, भालु भागिहाल्थ्यो। हल्ला शान्त भएपछि अर्को खोरका बाख्रा उसको सिकार हुन्थे।
करिब डेढ महिनासम्म यो क्रम चलिरह्यो। ऊ 'सिरियल किलर' जस्तो थियो। यस अवधिमा गाउँका ९० वटा बाख्रा उसको सिकार भइसकेका थिए। गाउँलेहरूमा आक्रोशको पारो तात्दै गएको थियो।
निकुञ्ज टोलीले यो समस्या सुल्झाउन रातभर भालु कुरेर बस्न थाल्यो। उनीहरू टर्च लाइट लिएर सम्भावित ठाउँमा लुक्थे। भालु आइहाले बेहोस बनाउने 'डार्ट गन' तयार थियो। तर रातको समय लाग्ने हुस्सुले समस्या बनाउँथ्यो। डार्ट गन सोझ्याउन नपाउँदै भालु हराइहाल्थ्यो। लखेट्ने क्रममा केही स्थानीय घाइते नै भएका थिए। उनीहरूले त्यो भालुका दुइटा बच्चा पनि देखेका रहेछन्।
'स्थानीय बासिन्दा हामीसँग बेस्सरी रिसाएका थिए। हामी भालुलाई खोजेर नियन्त्रणमा लिन निकै मेहनत गरिरहेका थियौं। तर सकेका थिएनौं। उनीहरू हामीले कामै नगरेझैं गर्थे। उता लामो समय भालु नियन्त्रणमा लिन नसकेकोमा निकुञ्जका चिफ वार्डेनको पनि चित्त बुझेको थिएन,' लामाले भने, 'चिफ वार्डेन पुरनभक्त श्रेष्ठ र रेञ्जर वेदबहादुर खड्का पनि माडी पुगे। त्यसपछि बल्ल उनीहरूले हामीले गरेको प्रयास देखे। कस्तो ठाउँमा बसेर, के खाएर काम गरिरहेका रहेछन् भन्ने थाहा पाए। नत्र त रमाइलो गरेर बसेका छन् कि भन्ने पनि लागेको थियो होला!'
चिफ वार्डेन पुगेपछि भालुलाई कसरी पक्रने भनेर स्थानीयसहित बसेर छलफल भयो। उनीहरूले यो भालुलाई डार्ट गरेर नियन्त्रणमा लिन नसकिने निष्कर्ष निकाले। बरू जालमा फसाएर नियन्त्रणमा लिन सकिन्छ कि भन्ने आशा उनीहरूमा थियो। यसमा चिफ वार्डेनले पनि सहमति जनाए। केही स्थानीय युवा भालुलाई भाला हानेर मार्नुपर्छ भनिरहेका थिए। उनीहरूलाई भालु मार्नबाट रोक्नसक्ने अवस्था थिएन।
'भोलिपल्ट जालहरू संकलन गरेर गाउँ नजिकै सोमेश्वर पहाडको पाखोमा बिछ्याइयो। भालु ओहोरदोहोर गर्ने नाका यही हो भन्ने हाम्रो अनुमान थियो,' लामाले भने, 'नभन्दै त्यही भेगमा अलि माथि एउटा पोथी भालु भेटियो। त्यसलाई लखेटेर जालमा पार्न स्थानीयले सहयोग गरे। अन्ततः भालु जालमा फस्यो।'
भालु डरलाग्दो थियो। उसलाई भालाले हानेर मार्नुपर्छ भन्ने युवाहरू नै डराएको लामाले बताए।
पशु स्वास्थ्य प्राविधिक बालकृष्ण गिरी र लामा दाजुभाइले जालबाट फुत्किन निकै प्रयास गरिरहेको भालुलाई डार्ट गर्ने तयारी थाल्दै थिए, उता भालु नजिक जम्मा भएका मान्छेले उसलाई भाटा र ढुंगाले हान्न थालिहाले। निकुञ्ज टोलीले उनीहरूलाई रोक्ने प्रयास गर्यो, तर सकेन। भीडबाट भालुको शरीरमा भाला प्रहार भयो। भाला लागेको केही बेरमा भालु ठहरै भयो।
भालुको मृत्यु भएपछि स्थानीयले विजय उत्सव नै मनाएको लामा सम्झन्छन्।
'माडीमा वन मान्छे आएर बाख्रा मार्ने गरेको हल्ला चलेको थियो। हामीले लामो समय बसेर भालुले खाएको पत्ता लगाएका थियौं,' लामा भन्छन्, 'हाम्रा लागि यो निकै अनौठो घटना थियो। भालुको विषयमा अनुसन्धान गर्नेहरूका लागि अझै पनि अनौठो घटना होला यो।'
बिगु बोटेजस्ता धेरै मान्छेमाथि आक्रमण गर्ने भालु र बाख्रोको पेट काटेर मुटु, कलेजो, फोक्सो खाएर संसारलाई चकित बनाएको काठे भालुसँग भालुभुत्ते मेजरको कुनै साइनो छैन। भालुको यस्तै कुनै चरित्रसँग मिल्ने भएकाले उनको नाम 'भालुभुत्ते' राखियो होला!
तर 'भालुभुत्ते' भनेर चिनिने मेजर नरराज थापाको योगदान चितवन जंगलको संरक्षणमा बिर्सिनै नहुने छ।
त्यतिखेर गैंडा गस्तीमा उनी नभएको भए आजको चितवन र चितवन राष्ट्रिय निकुञ्जको नक्सा बेग्लै हुन सक्थ्यो!
***
यो शृंखलामा अहिलेसम्म प्रकाशित स्टोरीहरू: