अभिनेता कर्मा र लक्ष्मी बर्देवा पहिलो पटक पर्दामा एक साथ देखिने भएका छन्। थिएटर पृष्ठभूमिबाट आएका यी दुई कलाकारले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन्। हिजो शनिबारदेखि भक्तपुरमा फिल्मको छायांकनसमेत सुरु भएको छ।
एक अर्काको प्रशंसक बताउने कर्मा र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ फिल्म गर्ने रहरले ‘अनन्त’ मा जोडिएको बताए। कर्माले भने, ‘म लक्ष्मीको थिएटर गर्ने बेलादेखिको प्रशंसक हुँ। पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि उत्तिकै राम्रो काम गरिरहनु भएको छ। यो फिल्ममा सँगै काम गर्ने कुराले उत्साहित छु।’
उता लक्ष्मीले पनि कर्मासँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन्। ‘यो लकडाउनको समयमा मैले कम्तीमा दसवटाजति स्क्रिप्ट पढेँ। कति पैसामा कुरा नमिलेर गरिनँ, कति भूमिका कमजोर लागेर अस्वीकार गरेँ। अनन्तको भने कथा र टिम मन परेर काम गर्ने निर्णय गरेकी थिएँ। यही फिल्ममा कर्मासँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘किनकि उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो।’
टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्म जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन्। अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन्। फिल्ममा आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा चित्रण गर्ने उनले बताए ।
‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही हो तर यसलाई हामीले साइ-फाइ फ्लेबर दिएका छौं,’ जेसनले भने। आफूलाई क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउने जेसनले उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर ‘अनन्त’ लेखेको जानकारी गराए।
२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन्। फिल्म बबिन दुलालले खिच्ने छन्। नवविजय श्रेष्ठले निर्माता रहेको फिल्ममा सह निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन्। यसमा तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहने बताइएको छ। रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा छन्।
जीवन अधिकारीको समेत अभिनय रहने फिल्म काठमाडौंमा करण श्रेष्ठ र जिजिए ग्रुप मिलेर वितरण गर्नेछन्। फिल्म किपालय प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो।