अहिले हरेक डिजिटल मिडियामा महत्त्वका साथ लेखिएको विषय छ गोविन्द केसी र यिनकोअनसन। साथै यिनका पक्षविपक्षमा पनि धेरै कुराहरू लेखिएका छन्।
मुख्यत: राजनीतिक पार्टी निकट रहेर काम गरिरहेका साथीहरू, कृपया एकपटक आफ्ना शान्ति प्रिय नेताहरूलाई सोध्नुहोला, हत्याअभियोगमा सजाय पाएका कैदीलाई किन छोड्यौ भनेर,साथै सोध्नुहोला देशमा विकासको मुलफुटाई अन्तर्राष्ट्रिय पुरस्कार पाउने नेताहरूलाई, देशलाई यो हालतमा किन पुर्याउनुभयो? भनेर। अनि लेख्नुहोला, बोल्नुहोला अनि टुँडिखेल मैदानमै बसेर बहस गर्नुहोला डा. केसीको मुद्दामा। यी मुद्दाहरू विशेषत: कांग्रेस र भुपू एमालेका उर्जाशील नेता र नेता हुन तरखर भई बस्नुहुने साथीहरूलाई, छ आँट?, सोध्नुस् अग्रजहरूलाई।
सुरू गरौं, कांग्रेसको चुनावी चहलपहल र उसले निकालेको निचोडबाट।
कांग्रेस निर्वाचनमा पत्तासाफ भएको उसका गलत क्रियाकलापले गर्दा नै हो नकि तत्कालीन एमाले माओवादी चुनावी गठबन्धनले। गठबन्धन त सहायक कारण हुन्। प्रमुख कारण त गलत राजनीतिक निर्णयले गर्दा नै हो। कांग्रेस अझै सुध्रिएको छैन र ऊ सत्तामा जानका लागि लायक पनि भैसकेको छैन। कांग्रेसको सुधारोन्मुख हिसाबको आंकलन गर्दा अझै कम्तीमा पनि१५-२०वर्ष सत्तामा जान लायक देखिँदैन। चुनाव अघि र पछि कांग्रेसी नेताहरू आफ्ना आसेपासेर भरौटेहरूलाई भन्थे, हामीले गरेको राम्रो काम जनतालाई बुझाउन सकेनौं, त्यसकारण चुनाव हार्यौ। अझै पनि लाजैनमानी बेलाबेलामा बर्बराउँछन्।
साच्चै नै कांग्रेस हारेको जनतालाई बुझाउन नसकेर होत? होइन, उसका गलत कार्यहरूजस्तै अदालतदेखि पुलिसमा हस्तक्षेप र अरू धेरै यस्ता कार्यहरू, जसलाई जनताले सुक्ष्म रूपमा नियालेका थिए र अझै पनि नियालिरहेका छन्। भरौटे र आसेपासेले नबुझे पनि जनताले राम्रोसँग बुझेका थिए र छन्। साथै उसले खेलेको प्रतिपक्षी भुमिकामा पनि चनाखो भैहेरिरहेका छन्।
अब जाऔं सरकारतर्फ, सत्ताधारी दलका नेताहरूले पनि कांग्रेसको यो नाटक मन्चनलाई त नजिकबाट हेरिरहनुभएको थियो र छ भन्ने कुरा त नेताले गर्नेगफ, भाषण र यसमा प्रयोग भएका उखानटुक्कामार्फ़त् हामीले हेर्न सुन्न पाएका थियौं र छौं पनि। नेताले चेत्नुभन्दा पनि राजनीतिक खपतका लागि अरू पार्टीका नेतालाई गाली गर्नपर्यो भने सम्झन्छन् नत्र बिर्सिहाल्छन्।ल हेर्नुस् त, कति चाँडै दुईतिहाइ बहुमतवाला राष्ट्रवादी प्रधानमन्त्री पनि आफ्नाआसेपासे र भरौटे सामू सोही कुरा बर्बराउँदैछन्, हामीले जनतालाई बुझाउन सकेनौं भनेर। नक्कल गर्नुछ असफल प्रतिपक्षीबाट, त्यो पनि नराम्रो कामको। असली कार्यकर्ता भन्न रूचाउने तपाईंहरू आफ्ना नेताहरूलाई सम्झाउनुस्, सुशासनमा देश चलाउनुस् नकि घनबादर डनवादमा।यहाँ त “बुढी मरीभन्दा पनि काल पल्क्यो” भन्ने पोपीर भयो। नेताहरूले यो देशमा धेरै कुराहरू फेल गराउनुभएकोछ, कृपया यो उखानलाई पनि फेल गराउन सहयोग गर्नुस् तपाईंका नेताहरूलाई।
सत्ताधारी दलका नेताहरूको गलत हर्कत र कामले गर्दा सत्ताको लागि लायक भैनसकेको प्रतिपक्षी फेरि सत्ताको स्वाद चाख्न सत्तामा आउने कोशिसमा लाग्ने भो। हामीलाई एउटा नालायक हटाएर अर्को नालायकलाई सत्तामा देख्नुछैन। साथै तपाईं असली कार्यकर्ता हो भने आफैं पनि लायक बन्ने कोशिस गर्नुस, नकि ख़ाली नालायकको अधिनमा रही उसको जुठोपुरोमात्र खाएर बाच्नुपर्ने परजीवी। हामी पनि हजुरहरूको जय जयकार गरौंला।
कुरा गरौं अब डा. गोविन्द केसीको पन्ध्रौं सत्याग्रहबाट। शायद सबैलाई धेरैथोरै थाहाँ पनि छ, यी मनुवा को हुन् भनेर। त्यसैले यिनलाई औंला ठड्याउने जमातभन्दा कैयौं गुणा धेरै यिनको समर्थनमा उभिएका छन्। यहाँ राजनीति नेपालीको रसरसमा घुसाइएको छ र त्यसैले काम गर्ने पौरखी हातहरू बनाउनभन्दा भत्काउन अगाडि छन्। बचाउनभन्दा मार्न उद्दत छन्। हाम्रा नेता भनाउँदाहरू आफ्नो फाइदाको लागि देश बेच्नपरे पनि पछि पर्दैन भन्ने कुरा त यिनले गरेको व्यवहारले पनि छर्लग्गै पारेको छ। मिडियामा यो पनि देखियो कि डा. केसीका मागमा प्रतिपक्षीलगायतका अरू पार्टीहरूले समर्थन गरेको कारण यो राजनीतिक मुद्दा भयो, त्यसकारण डा. केसीले अनसन तोड्नुपर्छ। अझै समय छ, यो मुद्दा कांग्रेसलाईभन्दा सत्तासीनका नेताहरूलाई नै सुहाउँछ र समस्या समाधान पनि सजिलोसँग गर्न सक्नुहुन्छ। अनि एकपटक सम्झाउनुस् नेताहरूलाई, आफू प्रतिपक्षी हुँदा उनको समर्थनमा गरेको भाषण र हस्ताक्षरको बारेमा। फेरि पनि हामी हजुरहरूकै नेताहरूकोजय जयकार गरौंला।
मरेको लासमा राजनीति हुने ठाउँमा, जिउँदो आत्मामाथि राजनीति छैन भन्ने कुरामा त म पनि कहँ विश्वास गर्छु र। तर मलाई डा. केसी को हुन् भन्दा पनि उनले उठाएका एजेण्डा ठीक छन् भन्ने हो र यो एजेण्डाले राम्रो निकास पाएमा अरूतिरका विकृतिमा पनि क्रमिक सुधार हुन्थ्यो कि भन्ने हो। मेरा एक मित्र ( रामराजशर्मा - जलस्रोतबिज्ञ) ले लेख्नु भएको थियो, इन्जिनियरिङमा पनि अर्कों गोविन्द केसी चाइयो भनेर। तर के गर्नु नाम गोविन्द भएका धेरै भए, छन् र यही बिचमा पनि धेरै जन्मिए होला तर कर्म गोविन्द भएका पाउन धेरै गार्हो रहेछ।
डा. गोविन्द केसीलाई समर्थन गर्नका पछि मेरा आफ्नै कारण छन् प्रधानमन्त्रीज्यू। किनकि यसको पीडित म आफैं पनि हुँ। बिरामी बुवालाई शिक्षण अस्पताल महाराजगंजको ईमर्जेन्सीमा ल्याएको, एउटा बेडमा चारजना सुत्न पाएमा त भाग्यमानी। नत्र चिसो छिड़ीमा बिरामी शरीर। ल भन्नुस् प्रधानमन्त्रीज्यू , यो भेडीगोठ हो कि देशको सुविधा सम्पन्न अस्पताल। ईमर्जेन्सीमा त ठाउँ पाइएन भने वार्डमा बेड कहँबाट पाउनु?, दुईदिन लगाएर आउनुपर्ने गाउँको मान्छेले। सहयोगी मन, ईमर्जेन्सीका डाक्टरदेखि अरू सिनियर डाक्टरसम्म तैयार भए सहयोग गर्न। तर त्यो सहयोग अवैधानिक यसकारण थियो कि सरकारी डाक्टर भैकन पनि त्यो समय उहँहरूले निजी अस्पतालमा दिनुहुन्थ्यो र सायद त्यसबापत राम्रै प्रतिफल पनि।
समय र परिस्थितिले यसरी च्याप्दो रहेछ कि थाहाँ हुँदाहुँदै पनि ठगिन तैयार हुनुपर्ने रहेछ, जसरी कसाईले मार हान्न ठिक्क पारेको खसी जस्तो। गत बुधबार एउटा भिडियो क्लिप देखें, प्रधानमन्त्रीज्यूको, आँखा रसाएको तुईन पीडितको केसमा। शायद त्यो समयमा तपाईं प्रधानमन्त्री भएर मसँगै रून आइदिएको भए, मज्जाले रोएर आत्मा हल्का पार्ने थिए। नेपाली उखान छ नि, श्वास रहुन्जेल आश , के गर्नु, डाक्टरको सिफारिस अनुसार लगियो निजी अस्पताल रातिको १बजे। जब त्यहाँ पुर्याइयो, कर्मचारीदेखि डाक्टरसम्मको अनुहारमा चमक देख्दा लाग्थ्यो कसरी मुर्गा बनिँदैछ। अझ यसमा कोही आफन्त विदेश छन् भन्ने थाहाँ पाएपछि त झन् के चाहियो। आख़िर त्यहाँ पनि महान् व्यक्तिको नाम धरौटी राखेर सेवा बेचिँदो रहेछ। तै पनि यति निरिह बनिँदो रहेछ कि तम्शरणम्बाहेक केही गर्न नसकिने। नियति जे हुनु थियो भएरै छाड्यो। सायद म पनि हजुरहरू जस्तै सरकारी मेहमान भएकोभए, एयर एम्बुलेन्ससहित दिल्ली बैंकक वा अमेरिका लैजान्थे होला।
आफू परियो गाउँले सामन्ती पूँजीपति,तर सम्पति सर्बहाराको जति नि भएन। त्यो समय हजुर मेरो अगाडि भएको भए, सगैं रून पाइन्थ्यो, हजुरको ईच्छा पनि पूरा हुन्थ्यो मेरो मन पनि हल्का हुन्थ्यो। तर के गर्नु , रून छोडेर पैसा खोज्न दौडिनु पर्यो। प्रधानमन्त्रीज्यूँ , नत्र त लास पनि नपाइने। आफन्तको मृत्युको पीडा बोध हजुरलाई कति छ त्यो त थाहा भएन तर तपाईंका सत्ता दौतरी पूर्वप्रधानमन्त्री छविलाल दाहाल र उहाँकी धर्मपत्नीलाई सोध्नुस्, पीडा कस्तो हुने रहेछ। शायद त्यसैले होला, हिजो दुत्कारेका मठमन्दिर पनि आज प्रिय लाग्दैछन्। शायद तपाईहरूसँग सोध्ने आँट त छ कि छैन, छ भने पीडा के हो? भनेर सोध्नु होला गोर्खा फुजेलकी गंगामायालाई।
एक समय थियो, केही नेताहरू ( मुलत: भुपू माओवादीहरू) रूनमा खप्पिस थिए। मिडिया देख्यो कि रोइहाल्ने। यिनीहरूले त फिल्मी कलाकारलाई समेत माथ दिएका थिए। फिल्मी कलाकारलाई पनि रूनको लागि त केके दल्नुपर्दथ्यो तर नेताहरूलाई त्यो पनि नपर्ने, रोइहाल्ने।कतै यो रोग भुपू एमालेका नेतालाई पनि सर्यो कि। किनकि मानवीय व्यवहार नै राम्रोभन्दा नराम्रो कुरा सिक्नमा उद्धत छ र सजिलै सिकिहाल्छ पनि। प्रश्न आउँछ नेता रून किन नपाउने? पाइन्छ, मज्जाले रून पाइन्छ तर मिडियाबाजी प्रचारबाजी गर्नाका लागि होइन।
साच्चै नै, देशका प्रधानमन्त्री र अरू उच्चपदस्थ नेताहरूलाई रून मन लागेको भए जानुस्, सरकारी अस्पताल, बस्नुस् एकाध घण्टा दूरदराजबाट आएका बिरामी र बिरामीका आफन्तसँग। अनि रूनुस् मज्जाले,यसमा तपाईंको रूने ईच्छा पनि पूरा हुन्छ, बिरामीका आफन्तले पनि केही सान्त्वना महशुस गर्छन्। यतिले पुगेन, जानुस् बसपार्क वरिपरि र अझै नपुगेमा जानुस् तराई, पहाडदेखि हिमालका दूरदराज गाउँहरू। देशको प्रधानमन्त्री रून र गालीगलौजमा उत्रिनभन्दा विकासका काम गर्न, जनतालाई छिटोछरितो सेवा दिन र नीति नियम तर्जुमा गर्नमा आफ्नो ऊर्जा खर्च गर्नुस्। रूने र गालीगलौज गर्ने जिम्मा त तपाईंकै पार्टीमा आयातित नेताहरू र त्यतिले नपुगेमा प्रतिपक्षीलगायत अरू दलका नेताहरूलाई दिनुस्।तर प्रधानमन्त्री भएर रोएर बस्ने छुट छैन।
अन्तमा, डा. गोविन्द केसीको प्राण रक्षा हेतु जुम्लाबाट उठाएर काठमाडौं ल्याउनुभयो। तर प्रधानमन्त्रीज्यू , यो उठाई प्राण रक्षाभन्दा सत्तारक्षाको लागि हो भन्ने कुरा दूरदराजका गाउँलेले पनि बुझेका छन्। रक्षा गर्नु थियो भने त जुम्ला नजाने वातावरण बन्नथ्यो होला। अनि सन्की बुढा सन्केर जुम्ला पुगे पनि समयमै वार्ता कमिटी बनाएर समस्या समाधान हुन्थ्यो होला। यहाँ त “न रहेगा बास न रहेगा बाँसुरी” भन्ने उखानलाई पूरा गर्न भरमग्दुर कोशिस गरिँदैछ। नत्र त सन्की बुढाको अगाडि गएर प्रधानमन्त्री हुँदा र नहुँदा बखत गरेका सम्झौताहरू कार्यान्वयन हुन्थे होलान्।