मेरो अफिस र घरको दूरी खासै टाढा छैन। अक्सर म अफिस हिडेरै पुग्ने गर्छु। अफिस जाने बाटोमा केही निजी विद्यालयहरु पर्दछन्। मेरो निस्कने समय र स्कुलको समय उस्तै भएकाले बच्चाहरुको ताँती भेटिन्छ बाटोमा। सायद स्कुल वरपरका नानीहरु नै होलान्। टाढाका नानीहरु त स्कूलले बसमा नै ओसार्ने गर्छन क्यार।
सडकका दुवै किनारामा स-सना नानीहरु हात समाउँदै हिडिँरहँदा रंगीविरंगी बगैंचामा पुतली नाचे जस्तै देखिन्छ। खै कुन्नी किन हो? मलाई भने स्कुले पोशाकमा ठाँटिएर हिडने सानी छोरीहरु औधी मन पर्छ, छोराहरुको तुलनामा। विभिन्न उमेर समूहका देखिन्छन् उनीहरु। पाँच कक्षादेखि दश कक्षासम्मका बाबु नानीहरु। आफू सम्हालिन सक्ने सबै आफ्नै पाराले साथीहरुसँग गफिँदै हिडिरहेका हुन्छन्।
अलिक कमै उमेरका नानीहरुलाई समेत सडकमा एक्लै वा अन्य बच्चाहरुकै भरमा छोडिएको पनि देखिन्छ, कहिले काहीं। नानीहरुले सडकका पूरा किनारा च्यापेर हिड्न नजानेर हतारमा तन्किरहेका ठूला मानिससँग ठोक्किन पुगेका त कहिले सडक पेटीमा लडेर रुंदै गरेको पनि देखिन्छ। धुलो बाटोमा लडेपछि चम्किला लुगा धुलै हुन्छन्। टकटकाउँदै उठ्छन् र रुँदै अघि बढ्छन्। तर म भने त्यो बाटो हिड्दा नानीहरु ठोकिएलान कि भनी सचेत हुन्छु सधैँ।
शुक्रबार भएकाले कार्यालयबाट तीन बजे नै निस्केको थिएँ। स्कुलदेखि पर मानिसहरुको झुण्ड देखियो। म विस्तारै भीड छिचोलेर अघि बढेँ। भीडको बीचमा एउटी स्कुले नानीलाई काखमा राखेर पानी खुवाउँदै गरिएको थियो। अचेत अवस्थाबाट भर्खर आँखा खुले जस्तो देखिने ती नानीका आँखा पर-पर हेरिरहेका थिए। उभन्दा अलिकति मात्रै ठुली देखिने अर्की नानी कै काखमा सुताइएको थियो।
सबै नानीको घर, अभिभावकको नाम र के भएको हो? भन्दै केरकार गर्दै थिए तर अब के गर्ने भन्ने बारे कोही बोली रहेका थिएनन्। अरु बेलामा पनि बाटोमा देखिइरहेका यी नानीहरुको मुहारले मलाई एकैछिनमा पगाल्यो। मलाई को र के भनेर सोध्ने कुनै विचार नै आएन। निदारमा छामेँ। ज्वरो निकै रहेको महशुस भयो। उनलाई बोकेर त्यहाँबाट नजिकै रहेको मेडिकलतर्फ लम्किएँ। मसँगै दुइटी नानीहरु पछि लागे। अरु मानिसहरु आफ्नो बाटो लागे।
केही क्षण विश्राम र सामान्य परीक्षणपछि उनीसँग घर वा अभिभावकको नम्बर मागेँ। उनले आमाको मोबाइल नम्बर दिइन्। मैले नै फोन गरेँ।
‘हेलो! कृति नानीको आमा बोल्नु भाको हो?’
‘हजुर! हजुर को बोल्नु भो होला? चिनिननी मैले!’
‘हैन। मलाई चिन्नु हुन्न। म अहिले कृति नानीसँगै छु।’
कृतिको नाम लिन बित्तिकै एक्कासी आत्तिएको स्वरमा भनिन 'के भयो मेरो नानुलाई? हजुर को? किन हजुरसँग?'
एकै सासमा बोली सकियो उताबाट। मैले नआत्तिनको लागि सम्झाउँदै भने 'त्यस्तो आत्तिन पर्ने केही छैन। स्कुलबाट फर्कदा रिंगटा लागेर ढलेकी रैछिन् स्कुल जाने बाटोमै रहेको मेडिकलमा आराम गरिरहेककी छन् लिन आउनु होला।'
उतैबाट फोन काटियो। सायद हतारमा दौडी सकेकी होलिन्। दुई गिलास ग्लुकोज पानी र एउटा सिटामोल खाएपछि उनको मुहार अलि उज्यालो भयो।
मैले सामान्य सोधपुछ गरें। नानीको नाम कृति रैछ। 'बाबा कता हुन्छ कृतिको उहाँलाई नि भन्नु पर्छ कि?' सबै मौन भए। कृतिका आँखामा अघिसम्म नदेखिएको आँसु एक्कासी ठूला ढिका बनर गाला हुँदै घाँटीसम्म पुगे। उनैसँगै आएकी अलि ठूली नानीले टाउको हल्लाउँदै भनिन् 'नाई उसको बाबा हुनुहुन्न।'
मलाई थकथकी लाग्यो। आमासँग कुरा भैसकेकै थियो। किन बाबाको बारेमा सोध्न परेको होला मलाई। एकैछिनमा मोटरसाइकलको पछाडि बसेर कृतिको आमा आईपुगिन्। उनलाई देख्दैमा लाग्यो दैवले कति छिटै एक्लो बनाएर गएछ विचरीलाई!
आत्तिंदै छोरीलाई काखमा च्यापेर गालामा लामै म्वाईं खाइन्। कृतिका आँखाबाट अबिरल आँसु बगिरह्यो। उनीसँग सामान्य चिनापर्ची पनि भयो। उनले मप्रति निकै कृतज्ञता जाहेर गरिन। मसँग बौल्ने खासै शब्द थिएन। मैले मेरो भिजिटिङ कार्ड दिएँ। सबैसँग बिदा भई घरतिर लागे।
अक्सर म सामाजिक सञ्जाल मार्फत कुरा गर्न त्यति उत्साहित हुन्न। तर पेशागत र सामाजिक जीवनका धेरै साथीहरु जोडिएका छन् सञ्जालमा। यसको पनि आफ्नै विशेषता छ। राम्रो नराम्रो। तर सोधखोज गर्नेहरुसँग छोटोमीठो कुराकानी नहुने हैन। तर एउटै व्यक्तिसँग सामान्य कुराकानीमा अल्झने स्वभाव छैन। खासगरी विदेशमा रहेका आफन्तहरुसँग सजिलो माध्यमबाट नियमित जोडिन भने निकै सहयोग पुगेको छ।
फेसबुकको रिक्वेसट पेजमा हजारभन्दा बढी नाम र फोटाहरु छन्। सबै स्वीकार गरेर पनि साध्य छैन तर कतिपय आफूभन्दा वरिष्ठहरुको, कति बाल्यकालदेखिका साथीहरुको हुन्छन्। स्वीकार नगर्दा उनीहरुलाई नराम्रो लाग्न पनि सक्छ। मुड र परिस्थिति हेरेर स्वीकार गर्छु। रिक्वेसट लिष्टमा चिनेचिने झै अनुहारको एउटा नाम देखियो 'तृष्णा रिमाल' सम्झनै सकिनँ। म्युच्युल लिष्ट पनि हेरें, जम्मा दुई जना रैछन् संयुक्त साथी। स्वीकार गरिनँ। बेलुका मोबाइलमा पनि एसएमएस आयो।
‘म कृतिको ममी हो सर 'तृष्णा रिमाल!' सञ्चै हुनुहुन्छ?’
ए कस्तो भुसुक्कै बिर्सेको। एक हप्ता अघि नै त देखेको मान्छेलाई नि सम्झन गाह्रो। हुन त अचेल फोटो देखेर मान्छे चिन्न सजिलो छैन तर उनको खासै मेकअप गर्ने आदत रहेको बुझिनँ। सिधैं फेसबुकमा गएर अनुरोध स्वीकार गरें। उनको प्रोफाइलमा गएर हेर्दा छोरीसँग रमाएका अनि केही पारिवारिक र पुराना फोटोहरु भेटिए।
यदाकदा साहित्यिक देखिने वाक्यांश वा कथनहरु पाइयो, ती सबै एक्लोपन र निरासा व्यक्त गर्ने किसिम कै थिए। मैले मेसेन्जर मार्फत औपचारिकता जनाएँ।
'नानीलाई कस्तो छ अहिले?'
तुरुन्तै जवाफ आयो ‘राम्रो भा छ हजुर। धन्न त्यो दिन हजुर भेटिनु भएछ नत्र एक्लै लडिरहेको भए?’
‘त्यस्तो केही हैन! त्यहि बाटो हिड्दा संयोग पर्यो।’
कुराकानी यसरी नै हुन थाल्यो। फेसबुकमा आईरहने गतिविधिमा लाईक कमेन्ट गर्न त्यति रुचि लागेन। तैपनि म्यासेन्जरमा हाम्रो कुराकानी बाक्लिन थाल्यो। घरपरिवार, रुचि, पेशा हुँदै भावनात्मक कुराहरु पनि हुन थाले। अझै म अध्यात्मिक विषयमा रुचि राख्ने भएकोले आध्यात्मिक विषय पनि चिन्तन हुन थाल्यो।
खासगरी जीवन र जगतलाई बुझ्ने, सुख, दुख, जीवन, मृत्युका बारेमा हाम्रो लामै बहस चल्न थाल्यो। उनको जिज्ञासा र मैले बुझेका मार्ग दर्शनहरुले उनेका सोच र निरासामा पनि विस्तारै परिवर्तन देखिन थाल्यो। लेखेर समय बिताउनभन्दा हामी फोन वा मेसेन्जरमा नै बोलेर कुराकानी गर्न थाल्यौं।
मेरो व्यस्तताका कारण मेरा धेरै साथीहरु मात्र हैन परिवारका सदस्यहरुबाट नि गुनासो र घुर्की सुन्ने गरेको छु तर उनी मात्र यस्तो साथी भइन् कि मेरो फुर्सद कुरेर बस्ने र मेरो बारेमा अलिक चासो राख्ने। हुन त म खाली समय परिवारका सदस्यसँगै बिताउँथे तैपनि हामी विभिन्न विषयमा कुराकानी गरिरहेकै हुन्थ्यो।
उनको फेसबुकका वालहरुमा बेलाबेला आउने निराशा र एक्लोपन अभिव्यक्त गर्ने भनाईहरुले मलाई समेत भावुक बनाउने गर्दथ्यो। मनमा अनेक कुतुहलता पनि जन्मन्थ्यो। यति सानै उमेरमा उनका पति कसरी मरे होला? काल गति, दुर्घटना वा अरु केही? सोध्ने आँट आएन। उनी छोरीले बाबालाई निकै मिस गर्ने कुरा गर्थिन्। म ती अबोध बालिकाको मुहार सम्झन्थेँ। अनि मेरी छोरीसँग तुलना गर्दथेँ। उसको लागि सारा संसार भनेकै उसका बाबु नै हो जस्तो गर्छे।
मैले गर्न नसक्ने केही छैन जस्तो गरेर जस्तो समस्यामा पनि उ निर्धक्क देखिन्छे अनि मलाई नै गुरु मानेर रमाईरहेकी हुन्छे तर विचरी कृति सानै उमेरमा बाबु गुमाएपछि किन मिस नगरोस्।
एकदिन म्यासेन्जरमा तृष्णाको म्यासेज देखें। 'सुबास सर! भोलि कृतिको जन्मदिन हो। सात वर्ष लाग्दैछे। कृसु बितेदेखि हामी आमाछोरी मात्रै रुँदै केक काटेर उसको वर्थ डे मनाउने गरेका थियौं। तर सधैं रोएर उसलाई बाबाको यादमा छटपटाइ रहेको हेर्नुभन्दा यसपाली उसका केही साथीभाइ, नजिकको सर मिस सहित राखेर फरक किसिमले मनाइदिउँकी भन्ने विचार गरेको छु। कृपया समय निकाल्नु होला है।'
म धर्मसंकटमा परें। आउछु भनौ भने म यस्ता खाले कार्यक्रममा त्यति चासो नराख्ने खाले मान्छे। आफ्नो घरमा मनाइने यस्ता उत्सव बाहेक अन्त त्यति जाने गरेको थिइन्ँ, जान्न भनौ भने त्यो अबोध बालिकाको मुहारले तानीरह्यो। फोन गरेर एउटा सर्त राखें। त्यो कार्यक्रममा आमाछोरी नै नरुने र खुसी हुने भए मात्र म र मेरी छोरी सहित आउने भनेर कार्यक्रमको तालिका र उनको घरको लोकेसन सोधें।
उनले खुसी व्यक्त गरिन्। निर्धारित समयभन्दा अगावै हामी उनको घर अघि पुग्यौं। पुरानो बैंक नजिकै भनिएकोले खासै गाह्रो परेन पत्ता लगाउन। घर र सजावट सामान्य नै थियो। हामी पुग्दा कृति उसका साथीहरुसँग खेलिरहेकी थिई। मलाई देख्ना साथ खुसी भएर अंकल भन्दै हात समाउन आइपुगी। मेरी छोरीले बाटोमा चकलेट किनेकी रैछ। उसलाई दिई। मेरो बच्चाहरुसँग रमाउने स्वभाव भएकोले एकछिन कृति कै कोठामा बच्चाहरुसँग जिस्किएर रमाइलो गरें।
एकछिनमा तृष्णाले हामीलाई बैठकमा जान भनिन्। छोरी उमेरले ठूली भएनि बच्चाहरुसँग रमाउने र बच्चा जस्तै भएकोले उतै बसी। म माथिल्लो तलामा रहेको बैंठक कोठामा पुगे। केही अपरिचित अनुहार थिए सोफामा। उनले परिचय गराइन्। तर मेरो ध्यान भने बैठक कोठाका भित्तामा टाँगिएको फोटोहरुमा थियो। एउटा तस्बिरमा माला झुण्डिएको थियो। जुन उनको पतिको भएको स्पष्टै थियो।
अन्य केही तस्बिरहरु थिए। उनीसँग बिहेमा खिचिएको। अनि एउटा तस्बिर थियो करिब वर्षदिन कटेकी सानी हँसिलो र हिस्सी परेको बच्चाबीचमा राखेर खिचिएको सुन्दर तस्बिर। ती फोटोमा देखिएको चमक साँच्चै अहिले यी आमाछोरी मुहारबाट हराए जस्तै लाग्थ्यो।
तस्बिर हेर्दै गर्दा मभित्र अनेकौं कुराहरु खेल्न थाले। अर्को कोठामा खेलिरहेकी मेरी छोरी, उ सानो हुँदा नै म बितेको भए अहिले कस्ती हुँदो हो? यति नै खुसी हुन सक्थी होला त? उसलाई अरुले यतिकै माया गर्दथे होला त? निर्धक्क भएर पढेर अघि बढ्थी होला त? उफ् कति गाह्रो कल्पना गर्दा निकै असजिलो महशुस हुने विषय।
मैले मेरो घरको बैठक र अन्य कक्षमा टाँसिएका फोटोहरु सम्झेँ। अहिले तिनले हाम्रो अनुहार दर्शाइरहेका छन्। घरमा आउने जानेहरु त्यो फोटो देखेर धेरै खुसी व्यक्त गरिरहेका छन्। तर तृष्णाको घरमा टाँगिएका तिनै फोटोहरुले हाँसिरहेका मानिसलाई समेत एकै क्षणमा गम्भीर पो बनाउने रैछ। सँगै हुने दम्पत्तिलाई लाग्दो हो यस्ता फोटो त कति खिचौंला खिचौला। मन लागेको पोजमा खिचौंला। मोबाइलमा अनगिन्ती हुन्छन् छानौला।
तर के थाहा? एक निमेषमा के हुन्छ? जुन फोटो खिचेर सुरक्षित राखिएको छ, त्यो नै जीवनभर बोल्ने साथी बन्ला। फोटो टाँस्ने चलन त्यतिकै चलेको हैन रैछ। ती फोटोहरुले आफै इतिहास बोलिरहेको देखिन्छ। मानिसको जीवनमा कोही हुनु र नुहुनुको महत्व त एक अर्कासँगै हुँदा कहाँ नै हुन्छ र? जब अलग्गिनु पर्छ कहिले नभेटिने गरि अनि पलपलको याद संगालेर तन्काउनु पर्छ जीन्दगीलाई।
चियाका कप सहितको ट्रे बोकेर भित्र पसिन तृष्णा। मैले केही थाहा नपाए झै सामान्य बन्ने प्रयास गरें। खासै धेरै बेर कुराउँदिनँ हजुरलाई, धेरै जना बोलाको पनि छैन, अब केक काट्ने तयारी गर्छु म। उनले एकै सासमा बोलेर अर्कोपट्टिको सोफामा बसिन्। मलाई त कुरा निकाल्न मन थिएन तर कृतिको मिसले सोधी हालिन्, ‘नानी कति वर्षका हुँदा बित्नु भाको हो उसको बुबा, म्याडम?’
उनले पुलक्क त्यही फोटोतिर हेरिन् र भनिन् ‘उ त्यहि फोटो खिचेको केही दिनपछि बित्नु भएको हो। डेढ वर्षकी थिई नानी। भर्खर बोल्न सुरु गरेकी थिई। सधै आमाको काखमा लुटुपुटिने र बाको बारेमा राम्रोसँग बुझ्नै नहुँदै टुहुरी भई। त्यसैले होला, आजकल बाको बारेमा सोधर धुरुक्कै रुवाउँछे त्यसले। मामु मेरो अनुहार बाबासँग मिल्छ की मिल्दैन? बाबाले म सानो हुँदा गालामा चुम्मा खानु भएको भएन? स्कुलमा अरुका बाबा हात समातेर आउँछन? मेरो बाबा किन नजाने भन्छे।
स्कुलमा दिएको हामेवर्क पनि जाँगर लगाएर गर्न मान्दिन। सबैका बाबाले सिकाएर गर्छन रे। उनीहरुको राम्रो हुन्छ रे, मलाई सिकाउने बाबा खै भन्छे? ममी मलाई बाबालाई एक पटक मात्र भेटेर सोध्न मन छ। मलाई किन छाडेर जानु भयो बाबाले? भन्छे। आफू त सम्हालिन खोज्छु जीवन र मृत्यु आफ्नो बशको हैन भनेर। तर छोरीले हरेक पटक उसको बाबालाई चिहानबाट बिउँताउन खोज्छे।
उसका अघि कठोर बन्ने प्रयास गर्छु। बाबा आउनु हुँदैन अब। म नै तिम्रो आमा र बाबा दुवै हो, चिन्ता नगर भन्छु। तर उ मान्न तयार छैन। उ सोध्छे ‘हजुर यति ठूलो मान्छेका त बा र आमा दुवै हुनुहुन्छ। मामाघरका हजुरबा हजुरआमा। म यति सानो मान्छको किन हुँदैन ममी?’ के जवाफ दिउँ। कहिले अंगालोमा कसेर भित्तातिर फर्केर रुन्छु। कहिले उ सुतेपछि रुँदारुदै भिजेको सिरानाी फेरेर सुत्छु।’
उनी एकोहोरो बोलिरहँदा कोठामा उनी बाहेक चार जना थियौँ। कृतिका दुई जना शिक्षक, म र एकजना कृतिको काकी। उनको आँखा रसाएकाले बच्चाहरु नआउँदै रुवाबासी होला जस्तो पो देखियो।
मैले सबै कुरालाई मोडेर भने 'ल त मेरो शर्तको पालना भएन अब वकिल बोलाउन पर्ने भो तृष्णा जी।' अरुले बुझने कुरा भएन। उनले बुझिन् र आँसु सहितको मुहारमा हाँसो मिसियो। उनैले प्रष्ट पारिन् आजको दिन आमाछोरीलाई रुन नपाइने शर्त राख्नु भएको थियो सुबास सरले। सरी सर। अब बच्चाहरु बोलाएर केक काट्ने हो भनेर बच्चाहरुलाई बोलाउन गइन्।
कृतिका साथीहले उनलाई घेरे। बाँकी परिवारका सदस्य र हामी पनि गोलबद्ध भएर रमाइलोसँग केक काटियो। कृतिले एउटा सानो टुक्रा केक आमाको मुखमा राखिन् तर आफूले नखादै बाबाको तस्बिर नजिक पुगेर टोलाई रहिन्।
‘ममी बाबाले पनि त खानु पर्छ नि मेरो बर्थडेको केक, म कसरी खुवाऊ ममी? भन्स्यो न बाबालाई यस्तो केक मन पर्दथ्यो कि नाई।’
अघिसम्मको रमाइलो एकैछिन सन्नटामा परिणत भयो। मैले अन्यास कृतिलाई काखमा लिन पुगेँ। खै किन हो, उनी पनि निकै सन्तोषी भएर मेरै छात्तीमा मुख लुकाएर सुकसुकाउन थालिन्।
‘सबैका बाबा हुन्छन्! किन मेरो मात्र बाबा हुनु हुन्न अंकल किन? के मैले बाबालाई बाचुञ्जेल देख्न पाउदिन? हामीलाई पनि बाबा भएको ठाँउमा पुराइदिनु न अंकल हजुरको गाडीमा। म जसरी भएपनि जान्छु।’
मेरो छोरी पनि निकै भावुक बनेकी देखें। उनले केक काटेर सबैलाई भाग लगाएर दिइन्। बच्चाहरु एकछिन अमिलिएका थिए तृप्ति रोएको देखेर। तर केक हातमा परेपछि उज्यालिए। मैले यति मात्र भने- 'बाबा फर्केर आउनु हुन्न। हामी जान पनि सक्दैनौं तर तिमीलाई बाबाले हेरिरहनु भएको हुन्छ। अनि तिम्रो बाबा एकदम ज्ञानी र बलियो हुनुहुन्थ्यो नि। त्यसैले तिमी पनि र सहासी भयौ भने बाबा खुसी हुनुहुन्छ नानी।’
मेरो कुरा सुनेर एकटकले मेरो अनुहारमा हेरिरहिन्। साँच्ची अंकल बाबाले यो बर्थडे मनाको देख्नु भाको छ? मैले पत्तै नपाइ भने अर्को संसारमा बसेर हेर्नेले देखिहाल्छ नि। तिमी हाँस त। कृतिको मुहार अलि हँसिलो देखियो। सबैले दिएका उपहारहरु हेर्न थालिन्।
काकीले ल्याइदिनु भएको रातो घाँघर हेर्दै ‘छि! यस्तो रातो नराम्रो। मेरो मामुले त कहिले पनि लाईसिन्न यस्तो। म त लाउन्न’ भन्न थालिन्। अहिले नलगाए पर्सी बिहेमा लाउली छोरी राख भन्नु भो काकीले। सबै हाँस्न थाले। हामीले त एउटा कलर वक्स र ड्रईङ बुक लगेको थियौँ। मेरी छोरीले यसमा चित्र बनाउ है नानु भनिन्। उनले हस् भनिन।
मलाई कुनै प्रसंगमा तृष्णाले छोरीलाई नाच्न मन पर्छ भनेको याद आयो। तयार भएको खानेकुरा प्लेटमा राखिदै थियो। मैले प्रस्ताव राखेँ,ल कृतिको बर्थडेमा हामी उसको नाच हेरौँ। कोठामा रहेको स्पीकरमा उनैले गीत बजाईन् ‘मै छोरी सुन्दरी’।
राम्रो नाच्दी रैछिन्। पछि लोकगीत बज्यो सालको पात टपरी हुनी....सबै जना नाचे। एकैछिनमा रमाइलोमा परिणत भयो वातावरण। मेरी छोरीसँग हात समाते खुब नाचिन कृति। तृष्णा पनि मोटो शरीर भए पनि राम्रो नाच्ने रैछिन्। सबै आगान्तुकले स्नयाक्स खाए, अझ बच्चाहरुलाई त आइसक्रिम खान पाएर खुसीका सीमा नै थिएन। बेलुकीको समय घरर्कदै थियो। सबै जना हतारमा नै थिए। एकैछिनमा बिदावारी भएर आफ्नो घरतिर लागे।
बाटोमा म गाडी चलाईरहेकै थिएँ। छोरीको अनुहार हेरें। उ पनि अलि चिन्तित र डराएको भाव देखेँ। उसले सोधी ‘कृतिको बाबा के भएर मरेका रैछन् बाबा?’
‘मलाई पनि त्यति थाहा छैन छोरी! मोटर साइकल दुर्घटना भन्ने सुनेको थिएँ।’
‘कृति कति माया लाग्दी है बाबा? उसका अंकलहरु हुनुहुन्छ होला नि। उसलाई बाबाले जस्तै माया गरे त हुनी नै है।’ विचरा मेरी छोरीका मनमा पनि यो कुराले राम्रैसँग छोएछ।
घर पुग्यौं, खाना खाने मन त थिएन तैपनि बुढीको मन राख्न थोरै खाना खाएँ। उनलाई म यो निम्तोमा गएको मन परेको थियो, थिएन। खासै कुरा पनि गरेको थिइनँ। लामो समयदेखिको नाता पनि हैन। मात्र मैले सानी नानीको खुसीको लागि जानु आवश्यक छ मात्र भनेको थिएँ। छोरीले कृतिका बारेमा भावुक हुँदै अलिकति बताएकी थिई।
मेरो बुढीले सधैंको शैलीमा भनिहालिन्- 'खुब मीठो पकाएर खुवाइन् होलिन त तृष्णा म्याडमले। खुबै नजिक ठानेर बोलाकी थिन् त।'
मलाई हाँसो लाग्यो। उनको यस्तै स्वभाव मन पर्छ। माया छ मप्रति मनदेखि। इर्ष्या व्यक्त गर्ने भाव पनि हो म बुझ्छु। तर कृतिले मेरो मुटुमा एउटी अबोध बालिका र आत्मदेखि छोरीको स्थान जमाउँदै गएको महशुस भैरहेको थियो। बुढीलाई केही भनिनँ।
अरु बेला सामान्य बातचित गरेर सुत्ने गर्थ्यौँ। बुढीले नि त्यहि सोधिहालिन्। के भएर मरेको रैछन त त्यो नानीको बाबा? मैले त्यहि बताएँ जति सुनेको थिएँ। तर यो विषयमा खुलेर कुरा भएको थिएन। मोटरसाइकल दुर्घटना भनेर एक पटक भनेकी भए पनि त्यो भनाइमा स्पष्टता थिएन।
'कर्मको कुरा हो सर, सोच्नुस न कुनै मोटरसाइकल दुर्घटनामा बित्नु भएको हो।' यति नै कुरा भएको थियो। प्रसंग अनेक उठे, हामी बीचमा। उनले भनिहालिन्। केटा मान्छे भाको भए वर्षदिन नपुग्दै बिहे गर्दथे, आइमाईलाई त बिहे गर्न नि गाह्रै हुन्छ नि। विचरी अझ छोरी रैछ, गाह्रो त पक्कै भएको होला नि। स्वभावैले उनको भनाईमा पुरुषहरु स्वार्थी हुन्छन्, महिला जति संवेदनशील हुन्नन् भन्ने झल्किन्छ।
मैले कृतिको कुरा नै बढि उठाएँ। अहिलेसम्म उसको कर्म जे जस्तो भयो भयो। तर मसँग भेटिएपछि अब उनीहरुको कर्म परिवर्तनमा केही सहयोग होस भन्ने चाहन्छु भनेँ। मेरो पत्नी र म वुद्ध दर्शन र चिन्तनका बारेमा पनि अलि नजिक भएकाले कर्मको कुरा अघि सारें। उनको मनमा पलाउन सक्ने डरप्रति पनि म सचेत थिएँ। एकल महिलासँगको मेरो सामिप्यताले उनलाई बिझाउने त हैन? भन्ने कुरा पनि थियो। तर यो सामिप्यता एउटा बालिकासँग ठोकिएको मेरो जीवनको अनौठो संयोग थियो।
बुढी निदाईसक्दा पनि म निदाउन सकिनँ। बरु म आफैलाई ढाँटन वा छल्न सकुँला, बुढीलाई ढाँटन सक्दिनँ। मैले र्फर्ने श्वासको गति समेत हेका राखेर बस्न सक्छिन् उनी। मैले निदाउने जति नै बाहना गरेर पनि नसकेपछि अलि ठूलै स्वरमा कराइन्, ‘हैन अझै निदाईसेको छैन हजुर। हैन दुनियाँका छोराछोरी टुहुरा हुन्छन्। अब रातभरी चिन्ता लिएर सकिन्छ? पारा देख्दा पनि अचम्म लाग्छ। सकेको सहयोग गरे भैहाल्छ। किन रातभर छट्पटिनु पर्यो।’
तर मन मानेन। झन बुढीप्रति माया बढेर आयो। मेरो आँखा आँसु अविरल बढिरहेको थियो। मेरो मुखबाट निस्कियो ‘हैन बुढी। उनीहरुले त आफनो कर्म भोगिरहेकै छन्। तर किन-किन मनमा मेरा मनमा अनेक कुरा खेलिरहेको थिए। यदि मेरो छोरी सानै हुँदा म मरीगएको भए, तृष्णाको स्थान मेरी बुढी हुन्थी होली! उ मर्नु अघिल्लो दिनसम्म उनीहरुको पनि कति ठाकठुक पर्थ्यो होला? सधै आफ्नै त हो नी भनेर कति हेप्नेचेप्ने हुन्थ्यो होला? जसले चित्त दुखाएको भए नी माफी माग्ने अवसर नै कहाँ नै पाईंदो रछ र?’
एकछिन मलाई नदेख्दा छट्पटिने मेरो बुढी साँच्चै कसरी पो मन बुझाउँथिन् होला? जन्मदिने आमा म हुँदा जति खुसी देखिन्छन्, नहुँदा उनको संसार कति अँध्यारो हुँदो हो? मेरो भावुक स्वभावलाई राम्रै बुझेकी मेरी पत्नीले थामथुम पारेपछि बल्ल निदाएँ।
समय आफ्नै गतिमा बित्न थाल्यो। तृष्णाको आमा छोरीसँग बेलामा बेलामा मेसन्जरमा कुराकानी हुन्थ्यो। कहिले काही मेरी छोरी पनि बोल्थी। अझ कृतिसँग कुराकानी हुँदा दुबै खुसी हुन्थे। म कृतिको पढाई र उसको प्रगतिको बारेमा सधैं चासो व्यक्त गरिहन्थे।
बाटोमा भेटिदा दौडदै मेरो हात समाउन पनि आउँथी ऊ। बानी नै परे झैं भैसकेको थियो उनीहरुसँग बोल्ने। छोरी पहिलेभन्दा निकै ज्ञानी र समझदार भएकोमा मलाई कृतज्ञता व्यक्त गरिरहन्थिन् उनी। तर मैले त्यस्तो उल्लेख्य केही नगरेकोले अलि अप्ठ्यारो महशुस हुन्थ्यो।
हरेक परीक्षा आउनु अघि म तृप्तिको तयारीका बारेमा चासो लिन्थेँ। कहिले काही त म आफै शिक्षक बनेर पनि सोधे झैं गर्थे। उनको पढाई पहिलेभन्दा सुध्रिएको कुरा तृष्णाले सुनाउने गर्दथिन्। जे होस् उनीहरुको लागि म नजिकको सदस्य नै भैसकेको थिएँ।
एकदिन कामको सिलसिलामा काठमाडौं बाहिर थिएँ। होटलको बास थियो, घरमा भएको भए मेरो सुत्ने बेला भैसके पनि निद्रा लागि रहेको थिएन। एक्लै मोबाइल चलाएर समय बिताइरहेको थिएँ। तृष्णा अनलाइन देखिइन्। मैले नै 'हाई' भने। उनले आश्चर्य प्रकट गरिन्। ‘सुबास सरले आज यति बेला मलाई बोलाउनु भयो। अच्चम भयो त सर?’
स्वभाविक थियो उनको कुरा। म अक्सर राति कसैसँग नि कुरा गर्दिन थिएँ। मात्र भने 'आज बाहिर छु, एक्लै थिएँ तपाईलाई देखेर बोली हाले। भलाकुसारीका कुरा भए। उनले आफूलाई जति एक्लोपनको मर्म कसलाई था होला भनेर सुनाइन्। उनी भन्दै गइन्। म एकोहोरो सुनिरहेँ।
कृसु बितेको पनि आठ वर्ष भैसक्यो। सासु, ससुरा देवर सबै थिए परिवारमा। तैपनि कसैले सँगै बसेर अघि बढौँ भनेन। माइतीमा आमा-बाका आफ्नै समस्या छन्। बिहे गरेर गएकी छोरी फेरि बुहारीले कब्जा जमाएको घर। एक्लो हुँदो हुँ त केही सोच्दो हुँ। उसको नासो। मायाको पोको जसरी पनि मैले जोगाउनु नै थियो। यही छोरी लिएर एक्लै बसेँ।
एक दिन हैन दुई दिन हैन, वर्षौँ काट्न त निकै गाह्रो पनि हुने रैछ सर। एकातिर मनको बोझ, अर्कोतिर कृशुको मायामा बानी परेको शरीर। कहिले उसको सम्झनाले मन रुवाउँछ। कैले शरीरले पनि साथ खोज्छ लोग्नेको। एकल महिला भएर बाँच्नु कसैलाई नपरोस् सर। एकातिर समाजले गर्ने पृथक व्यवहार। सकेसम्म पुजाआजामा समेत सामेल गराउन नचाहने, तीज आउँदा होस वा अरु कुनै कर्ममा सबै काममा सरिक हुन्छु।
मेहनत गर्छु तर जब पुजा गर्ने बेला हुन्छ, तब विधुवाले पहिले हात लाउन हुन्न भन्दा म मरेतुल्य हुन्छु सर। परिवारमा बिहेवारी हुन्छ। सबै काम लगाइन्छ, कसार बटार्ने बेला छुन हुन्न भनिन्छ। आफ्नै नजिक ठानिएकाहरुको बिहेमा पनि अन्माउने बेला तिमी नजिक नबस भनिन्छ। कति गाह्रो होला यस्तो जीवन भोग्न। मात्र यसमा मेरो दोष बिहे गरेको लोग्ने मेरो साथ नहुनु हो। यति मात्रै हो र सर?
एक्लै कुनै पुरुषसँग हिडेको देख पनि भोलिपल्ट टोलमा खासखस चलिसकेको हुन्छ। घरमा कोही आफन्त पुरुष नै कामले छिरेपनि वरपरका घरमा शंकालु आँखाहरु निकै सजग हुन्छन्। अर्कोतिर, यो शरीरमा छल्किएको यौवनको चासो मलाईभन्दा अरुलाई बढी हुने रैछ। दुई जना लोग्ने मानिस आफूलाई हेरेर हाँस्दा नि लाजले होकी केले हो, कस्तो कस्तो लाग्दो रैछ।
कृसु हुँदा साथीभाइ जसरी बोलिने केटाहरुसँग बोल्दा नि अर्कै खाले दकस हुने रैछ। अझ एक्ली महिलाहरुलाई पुरुषहरुले हेर्ने दोहोरो चरित्र नि महशुस गरिरहेको छु। समूहमा सम्मान गर्ने तर एक्लो हुँदा दोहोरो अर्थ लाग्ने कुरा र इसारा गर्नेसम्म गर्दा रहेछन्। हिजोसम्म कृसुका साथी भनेर सम्मान गरेकाले पनि एक्लोमा पाए भद्दा मजाक गर्ने र छुन र नजिक हुने प्रयत्न गर्दा रैछन्।
लुकेर बसौं कहाँ र कतिञ्जेल बस्ने? अरुका लोग्ने स्वास्नी हात समाएर वा मोटर साइकल गाडीमा मस्केर हिंडेको देख्दा खुसी हुनु पर्ने हो नि सर। तर त्यस्तो नहुने रैछ। आरिस लागेको पनि हैन तर आफ्नो गुमेको अधिकार र अन्धकार भविष्य सम्झेर कहाली लाग्दो रैछ।
'मैले चाहेर मात्रै उसलाई रोक्न सकेको भए किन यस्तो हुन्थ्यो सर? कालले मलाई नराम्री धोका दिएर एक्लै पारेर गयो।'
यहाँ निर म झस्किएँ। 'अँ साँची उनी त बाइक एक्सीडेन्टमा बितेका हैनन् र?' मैले उपयुक्त मौका पाएर यो खुलदुली मेटाउन सोधिहालें।
‘भन्न त म अपरिचित र सोध्नेहरुलाई त्यसै भन्दिछु। त्यसोभन्दा सजिलो हुन्छ। थप सवाल र जवाफ गरिरहन पर्देन भनेर तर उसको मृत्युको कथा अर्कै छ सर। हजुर छिटै सुत्ने आदत भएको मान्छे थकाई लाग्यो होला। पछि भनौला’ उनले भनिन्।
तर मैले यही बेलामा नै सबै कुरा बुझौँ भन्ने लाग्यो र भने 'हैन केही छैन भन्नुस् न के कसरी बितेका हुन कृशु भाइ?'
यो कुरोका थालनी गर्न अलि कष्टै भए झै लाग्यो। क्यामेराबाट देखिएको दृश्यमा कृति अलि परको बेडमा निदाईसकेको देखिन्थ्यो। तर उनले यो विषय छोरीको अघि कुरा नगर्ने हिसाबले कक्ष नै परिवर्तन गरिन्। बैठक कोठामा पुगिन् जहाँ कृसु र उनको फोटो भित्ताम सजीव जस्तै मुस्कुराइरहेका थिए। उनले भन्न सुरु गरिन्-
‘स्कुलदेखि कै चिनजान भएको थियो कृसुसँग। प्रेम भेनर त्यस्तो विधि हल्लाखल्ला नि भएन। उ मलाई पनि मन पर्दथ्यो। उसले पनि मन परायो। परिवारले पनि छिट्टै मागी बिहेमा परिणत गरिदिए। शान्तिचोक नजिकै एउटा फोटोकपी, स्टेशनरी लगायतका सामान राखिने पसल थियो। म घरको काम र पसल दुवै हेर्दथे। सबै राम्रै चलिरहेको थियो। बिहे गरेको दुइ वर्ष नपुग्दै छोरी जन्मिन्। छोरी जन्मने बेलादेखि नै उसको स्वभावमा विचलन देखिन थाल्यो।
यसै पनि कम बोल्ने स्वभावको उ। कसैसँग नभेटने, एक्लै बस्न रुचाउने, केही पनि शेयर गर्न नखोज्ने। राति पनि एक्लै सुत्न मन पराउन गर्न थाले। डिप्रेशनको औषधी समेत खाएकोले उसको र मेरा शारीरिक सम्पर्क पनि खासै हुन्थेन। म सानी छोरी कै स्याहारमा व्यस्त भएकोले त्यस्तो अस्वभाविक पनि मानिनँ। काममा जाने, फर्केने। झगडा पनि नगर्ने तर सधै उदास देखिने, आमा बासँग नि नबोल्ने हुन थालेपछि मलाई नी खल्लो लाग्न थाल्यो।
उसको यो स्वभाव विस्तारै डिप्रेशनमा नै बदलियो। डक्टरलाई पनि देखाइयो। कारण केलाउँदै जाँदा उसलाई कुनै केटीले धोका दिएकोले उ निराश भएको भन्ने सुन्नमा आयो। पहिले मलाई विश्वाससम्म पनि भएन्। उ त्यस्तो केटीतिर लाग्न सक्ने कुराको एक अंशसम्म पनि अनुमान गर्नै सक्थिनँ म। किनकी उसले दिने मायामा कुनै कमी महशुस गरेको थिइनँ। कहिले कसैको बारेमा जिकीर गरेको थिएन। यदि भएको भए, म केही अनुमान गर्न सक्थेँ।
तर उसका केही साथीहरुले बाआमालाई भनेका रैछन्। मलाई पनि नमिठो लाग्यो। बरु एक मनले 'उसले जसलाई मन पराएको छ, सँग बस्न पाएर उ खुसी हुन्छ र म बाधक छु भने पछि हटेरै जीवन बिताउछु' भन्ने सोचसम्म गरेको थिएँ। उसँग यो विषयमा कुरा गर्दा सुरुका दिनमा त्यस्तो केही नभएको। तिमी नै आफ्नो सर्वस्व भएको बताइरहन्थ्यो।
उ अलि बिजी हुने मैले मलाई समय दिएन भनेर गुनासो गर्दा उ सधै भन्ने गर्थ्यो ‘च्यापु हल्लिने बेलासम्म तिमीसँगै बस्ने र सबैथोक गर्ने हो। किन दुखी हुन्छयौं? म त मर्ने बेलामा नि तिमीलाई पुरै नहेरी मर्दिनँ होला भन्थ्यो तर अचम्मको कुरा सर त्यही मान्छे मेरो नजिक पर्न पनि डराए जस्तो लाग्थ्यो। बच्चालाई पनि काखमा लिने र माया गरेको देख्थिनँ।
स्वाभाव होला भनेर चित्त बुझाएको थिएँ। तर जब त्यो कुरा सुनें। म स्तब्ध भएँ। सकेसम्म आफैं समाधान गरुँ कि भनेको तर अहिले सम्बन्ध नै नरहेको भन्ने बताए तर कसैले चिनाएनन्। मैले पनि गैसकेको पाटो नकोट्याउने र उसलाई अझ माया गर्ने प्रण गरेको थिएँ। तर धेरै ढिला भैसकेको रैछ सुबास सर! पछिल्ला दिनहरुमा मेरा अघि बसेर पश्चताप गर्दै रुन्थ्यो। मैले तिमीलाई धोका दिए तृष्णा, मलाई बाँच्ने अधिकार छैन। म अपराधी हो जस्तौ कुरा गर्दथ्यो। मैले तिमीलाई सधैं माया गरे। मलाई माफ गर्देउँ, भन्थ्यो। म पुरानो सबै बिर्सेर नयाँ कुरा गरौं भनेर सम्झाउने कोशिस गर्दथेँ।
उसलाई एक्लै छोडिन्नथ्यो। सासुआमा, बा वा म कोही न कोहीसँगै हुन्थ्यौँ। एक दिन खेत रोप्ने दिने थियो। सबै खेततिर नै व्यस्त थिए। मैले नै उसलाई पसलमा जाउँ भनेँ। केही नबोली पसलतिर गयौँ। उ एउटा कुनामा एक्लै नबोली बसिरह्यो। म व्यस्त थिएँ। घरि-घरि उस्लाई हेर्दथेँ। आँखा जुधाउन शाहस गर्थेन तर म अर्कोतिर हेर्दा भने एकटकले मलाई हेरिरहेको म देख्थेँ। मलाई हेर्दै आँसु पनि झारेपछि। अंगालो मारेँ। नरुन भनेँ। फेरि मलाई माफ गरिदेउँ। म तिमीलाई माया नगरी बाँच्न सक्दिनँ। मेरो मायालु स्पर्शले झन् उसलाई मुर्छा बनायो।
त्यस दिन काम अलि बढी नै थियो। उसले घर जाने कुरा गर्यो। मैलेसँगै जाम भने। हैन मै गएर सुतिराख्छु तिमी आउ भन्यो। जिद्धी गरेर घरतिर लाग्यो। टाढा पनि थिएन। उ गयो। म पनि आधा मन लिएर बसेँ। केही घण्टापछि ससुरा बाको फोन आयो। ‘बाबु त्यही छ हैन बुहारी।’
मैले भने ‘अलि अघि घरमै सुत्छु भनेर जानु भाको छ।’ मनमा अर्कै कुरा खोल्न थालेँ। तुरन्तै पसल बन्द गरेर घरतिर लागेँ। सबै आत्तिरहेक थिए। मानिस नै पिच्छे कुरा भैरहेको थियो। कोही नदीतिर गएको भन्थे। कोही अरु मान्छेसँगै निस्केको भन्थे। हामी निकै पीडामा छटपटियौँ। सबैतिर खोजी कार्य जारी राख्यौँ। केही पत्ता लागेन।
मर्स्यांदी नदिको तीरमा भेटिने होकि कतैबाट बेहोस भएर लडेको समाचार आउनेको हो कि अन्यौल मै बित्यो। तीन दिनपछि नदी किनारमा एउटा लास भेटिएको हल्ला चलेसँगै हाम्रा परिवार पुग्यो। सत्यानाश भैसकेको थियो सुबास सर! मेरो सर्वस्व लुटिएको थियो। मलाई बाचुन्जेल साथ दिन्छु भन्ने काले कृष्ण, मलाई एक्लै छाडेर ढाडिएको लासमा परिणत भैसकेको थियो। तर मलाई त्यही मृत शरीरसँग नि निकै माया गढेको थियो।
अंगालेरसँगै राखुँ जस्तो भैरहेको थियो। तर दिएनन् सर मेरो कृसुलाई फेरि जलाएर नष्ट गरिदिए। शरीर त जलाएर नष्ट गरिदिए तर खै कस्ले सक्यो त यी यादहरु नष्ट गर्न? अझै पनि जब एक्लै हुन्छु उसैंसँग बसिरहे झैं लाग्छ। मध्ये रातमा हावा झ्यालमा ठोकिंदा पनि मलाई बोलाए झै लाग्छ। तर अर्कोतिर कृतिलाई अंगालोमा सुतिरहेको पाउँछु सर।’
दुवै जना आँसुले आँखा नदेख्ने भएका थियौं। मसँग सम्झाउने कुनै शब्द थिएन। मात्र भने अब कृति छ नि, सबै उसैभित्र खोज्नु पर्छ। उसको खुसी भित्र कृसु खोज्न पर्छ तृष्णा। जीवन र मृत्यु शास्वत सत्य हो। अघि र पछिको विषय मात्र हो। को कति बाँच्यो त्यति अर्थ राख्दैन। कसरी बाँच्यो त्यसले महत्व राख्छ। उसको कर्म त्यस्तै भयो। हामीबाट बिदा भयो। तर हामी सम्हालिन पर्दछ। म पनि तिम्रो शान्तिको लागि प्रार्थना गर्दछु। तिमी पनि गर।
अब कृतिको सफलता र खुसीलाई नै कृशुको मायामा परिणत गर्न पर्छ तिमीले। अब सुतौं। बिदा भएर सुत्यौँ। न मैले कृसुलाई देखेँ, न तृष्णासँग नै बढी समय बिताएँ। तैपनि किन-किन उनको पीडा आफ्नै जस्तो लाग्यो। पूरै निदाउन सकिनँ तर कता-कता कृसुले हात जोडेर केही भनिरहे झैँ आभाष भयो। मन मनै प्रतिज्ञा गरेँ, कृतिलाई सहयोग र प्रोत्साहित गर्नु पर्दछ मैले।
यो घटना थाहा पाएपछि तृष्णाप्रतिको मेरो सम्मान झन बढेर आयो। अनि कृतिको माया पनि। कृतिले पनि मलाई नजिकको अंकल मानेर केही बोल्न र सोध्न बाँकी राखिनन्। मैले उनको हौसलाका लागि कहिले किताब किनेर दिएँ। स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा कविता, निबन्ध सिकाउने गर्ने थालें। पुरस्कृत घोषणा हुनसाथ मलाई पहिला कल गर्न थालिन्।
समय बितेका पत्तै पाईएन। भर्खेर कृतिको फोन आएको थियो। उनले भनिन्, ‘अंकल मैले मेरो नाम फेर्ने भएँ नि।’
मैले सोधें ‘राम्रो छ त नाम किन फेर्न पर्यो त?’
उनले ‘अंकल मेरो नाम बाबाको नामको अक्षर कृसु र ममीको नाम तृष्णाबाट राखिएको रैछ। बाबालाई त म फोटोमा मात्र सम्झन्छु। हजुरले मलाई सधै बाबाले जस्तै प्रेरणा दिनु भएको छ। हजुरको माया र साथले मामु र मलाई बाँच्ने आधार मिलेको छ।
म मेरो नाममा हजुरको नामको पहिलो अक्षर जोड्न चाहान्छु अनि दिज्यूको पनि त नाम सुप्रिया छ नी मलाई साह्रै मन पर्छ दिदीको नाम। मैले नि मेरो नाम सुकृति राख्ने निधो गरें। ममीलाई पनि मन परेको छ। हस अंकल?’
कृतिलाई भेटेको पनि आठ वर्ष बितिसकेछ। उनी त नौ कक्षा पुगिसकिछन्। एसइईको फाराममा भर्ने बेलामा उनले नाम परिवर्तन गर्न लागेकी रैछिन्। अहो! कसरी सोचेकी यो नानीले। कति सोच्न भ्याएको उसको मनले।
बाबा हुनेहरु कतिलाई केही महत्व छैन बाबाको। कति बदमाशी गरेर बिग्रेर हिडेका छन्। तर उसँग भएको त्यो संयोग र भेटले यहाँसम्म ल्यायो। मेरो सानो सहयोग र हौसलाले पनि कति प्रभाव परेछ यसको जीवनमा। म निशब्द भैरहेको थिएँ। मात्र भनें हुन्छ सुकृति।