कविता
हाम्रा झुपडी जस्ता घर
तिमीलाई
घर लागेनन् गोठ लागेछन्
यो त्यही गोठ हो कामरेड
जहाँ तिमी लुकेर
आफ्नो ज्यान जोगाएका थियौ!
यही गोठको कथा भजाएर
मन्त्री भएका थियौ!
तिम्रा सिपाहीका बुट बज्रनुअघि,
आगाको लप्कामा घर जल्नुअघि,
मेरी आमाले तिमीलाई सम्झिएकी थिइन्,
फेरि फर्कने बाचा गरेका थियौ रे!
दु:खका दिन सकिए भनेका थियौ रे !
भन्दै थिइन् ;
बरु तिमी नआएकै भए हुन्थ्यो!
हाम्रो जुठो भात नखाएकै भए हुन्थ्यो!
मन्त्री ज्यू ! बर्बाद भो!
अनर्थ भो!
चुनावमा बाँडिएको,
त्यो रातो किताब पनि डढ्यो!
कम्युनिष्ट पार्टीको घोषणापत्र
मेरो नागरिकता सँगै खरानी बन्यो!
बिन्ती छ। मन्त्री ज्यू!
घोषणा पत्र जलाएको आरोपमा
हामीलाई
थप कारबाही नगरियोस्!