कविता
तिमीलाई ‘बहिरो’ देख्ने दुनियाँ
तिम्रो आवाज सुन्दैन
तिमीलाई ‘लाटो’को संज्ञा दिइरहँदा
ऊ आफैं बोल्न सक्दैन– तिम्रो भाषा !
मौनताको विष्फोटनलाई छिचोलेर
आफ्नै घरको चौघेरा नाघेपछि
बल्ल सुरू हुन्छ तिम्रो खास अध्याय
अनि पढ्न थाल्छौ जिन्दगीको कखरा ।
इशाराको वाचाल दुनियाँमा
जब भेट्छौ सम्बन्धहरूको खुला आकाश
अनि बल्ल शिर उठाउँछन्
निसास्सिएर सल्बलाइरहेका
तिम्रा कलिला सपनाहरूले।
तिमी ‘विशेष’ छौ नीति–नियममा
ऐन–कानुन अनि वक्तव्यहरूमा
र, संविधानमा–
जसले ‘निःशुल्क शिक्षा’को हक दिइरहँदा
उम्रिँदै निमोठिएका तिम्रा
सम्भावनाहरूको क्षतिपूर्ति दिँदैन,
तिम्रो असमर्थता भजेर कहीँ कोही
तिम्रै शिरमाथि ताण्डव नाचिरहँदा
न पाउँछन् मलम–पट्टी
पिल्सिएका उर्वर मष्तिस्कहरूले।
पटक/पटक तिम्रा नाममा
गरिन्छन् ‘ज्योति छर्ने’ प्रणहरू
र जलाइन्छन् सपनाका दीपहरू
तर बिडम्बना,
दियोमुनिको अँध्यारो छायामा छौ तिमी अझै।
हो, पटक/पटक अनि हरेकपटक
आश्वासन बाँडिन्छन् तिम्रा नाममा
र, हराउँछ ‘जिम्मेवार’ मगजहरूबाटै
किनकी तिमी
उनीहरूको हृदयको गहिराइमा छैनौ,
मन–मष्तिष्कको संवेदनामा छैनौ ।
सीमित छौ केवल पेशागत औपचारिकतामा
अनि आक्कल–झुक्कल आइलाग्ने
नीतिगत दस्ताबेजहरूमा !
विश्वव्यापीकरणको नयाँ दुनियाँमा
सयौं अवरोधहरूसँग पौंठेजोरी खेल्दै
अघि बढ्नु छ तिमीले
अनि साक्षात्कार गर्नु छ
संगाालेका सपनाहरूसँग
र, मनाउनु छ विजयको एउटा उत्सव ।
तिम्रा पवित्र पाठशाला
कसैका लागि ‘भर्तीकेन्द्र’ नबनुन् ।
तिमीमा सद्भाव पोख्ने शुभेच्छुकहरू
कसैका लागि ‘द्रव्यदाता’ नबनुन् ।
एउटा रामराज्य मिलोस् तिमीलाई
जहाँ फुलोस्, फलोस्
र, मगमगाओस् तिम्रो जीवन !
(सन्दर्भ : अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस)