बुटवलस्थित नेकपाको प्रदेश-५ कार्यालय शिल गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं. १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण भेटिएपछि पार्टी कार्यालय सिल गरिएको हो।
नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले शनिबार कोरोना संक्रमण पुष्टि भएका पार्टी सदस्य कार्यालयमा आउने-जाने भएकोले आइतबारदेखि ७२ घन्टाका लागि कार्यालय सिल गरिएको जानकारी दिए।
संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा आएका थिए। दूरी कायम गरेको भए पनि पार्टी कमिटी बैठक भइरहेको र उनी पनि सहभागी भएकोले उनीसँग सिधै सम्पर्कमा आएका र पार्टी कार्यालयमा आएकालाई सतर्क रहन पन्थीले आग्रह गरे।
संक्रमण पुष्टि भएका व्यक्ति आफन्त बिरामी भएपछि केही दिन चितवन बसेका थिए। उनलाई चितवनबाटै संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ। उनीसँग सम्पर्कमा आएकाको खोजी गरी होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको पन्थीले बताए।