नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र आगामी रणनीति तय गर्न नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
बैठक बुधबार ११ बजे बस्ने नेपाल निकट केन्द्रीय सदस्य दिलु पन्तले सेतोपाटीलाई बताइन्।
सोमबार नेपालले आफू निकट स्थायी कमिटी सदस्यको बैठक बोलाएका थिए। बैठकमा पार्टी एकता गरेर अघि बढ्नुपर्नेमा धेरैको जोड थियो।
नेपाल पक्षका दोस्रो तहका नेताहरू जसरी पनि पार्टी एकता गर्नुपर्ने अडानमा उभिएपछि नेपाल दबाबमा परेका छन्। अर्कोतिर नेपाल तयार नहुँदा दोस्रो तहका नेता पनि दबाबमा छन्।
नेपालनिकट तेस्रो तहका नेताहरू ओलीलाई अध्यक्ष मानेर पार्टी एकता गर्न नहुने अडानमा छन्। नेपालनिकट जनवर्गीय संगठनका नेतासमेत ओलीले आत्मालोचना नगरेसम्म पार्टी एकता गर्न नहुने पक्षमा छन्।
उनीहरूले आवश्यक परेमा नयाँ पार्टी गठन गर्ने तर झुक्न नहुने दबाब नेपाललाई दिएका छन्।