नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि लुम्बिनी सरकारबाट माओवादी बाहिरिएको हो।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिइसकेको र सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिइने सेतोपाटीलाई बताए।
माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
लुम्बिनीमा माओवादीबाट आर्थिक मामिला मन्त्री जोखबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री ईन्द्रजीत थारू छन्।
गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले माघ ५ गते विश्वासको मत लिएका थिए। उनलाई ५८ जना सांसदले विश्वासको मत दिएको थियो।
लुम्बिनीमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादीका १० जना सांसद छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादीको ३, लोकतान्त्रिक समाजवादीको ३, जनमत पार्टीको ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन्।
लुम्बिनी प्रदेश सभामा ८७ सांसद छन्।