भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई चेतावनी दिए।
सोमबार सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले पाकिस्तानसँगको तनावका क्रममा भारतले सुरू गरेको ‘अपरेसन सिन्दुर’ र त्यसमा भारतीय सेनाले देखाएको ‘बहादुरी’को भने तारिफ गरेका थिए।
मोदीले अपरेसन सिन्दुरले आतंकवादविरूद्ध नयाँ मान्यता स्थापित गरेको दाबी गरेका छन्। साथै नयाँ युगको युद्धमा भारतको श्रेष्ठता प्रमाणित भएको उनले बताएका छन्।
‘अपरेसनका क्रममा मेड इन इन्डिया हतियारको प्रमाणिकता सिद्ध भयो। २१ औ शताब्दीको नयाँ युगको युद्धमा मेड इन इन्डिया प्रतिरक्षा हतियारको समय आइसकेको छ,’ उनले भने।
यद्यपि यो युद्धको युग नभएको पनि उनले बताए।
‘तर यो युग आतंकवादको पनि होइन। आतंकवादविरूद्ध शून्य सहनशीलता उत्तम दुनियाँको ज्ञारेन्टी हो,’ उनले भने।
सम्बोधनका क्रममा मोदीले पाकिस्तानलाई कडा चेतावनी दिए। उनले फेरि आतंकवादी हमला भए त्यसको कडा जबाफ दिन भारत नहिचकिचाउने बताए। ‘हामी आफ्नो तरिकाले जबाफ दिन्छौं। त्यस्ता हरेक ठाउँमा आक्रमण हुनेछ जहाँबाट आतंकवादको जन्म हुन्छ,’ उनले भने।
मोदीले परमाणु हतियारको 'ब्ल्याकमेल' सैह्य नहुने बताए।
‘परमाणु आक्रमणको ब्ल्याकमेल गरी संरक्षण गरिएका आतंकवादी अड्डाहरुमा भारत सटिक र निर्णायक प्रहार गर्नेछ,’ उनले भने।
उनले अपरेसन सिन्दुरमा मारिएका आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीहरू सहभागी भएपछि पाकिस्तानको वास्तविक अनुहार दुनियाँले देखेको बताए। ‘यो राज्य प्रायोजित आतंकवादको प्रमाण हो,’ उनले भने।
प्रधानमन्त्री मोदीले भारत र भारतीय नागरिकहरूलाई कुनै पनि प्रकारको खतराबाट बचाउनका लागि आगामी दिनहरूमा पनि लगातार कदम उठाइरहने बताए।
अपरेसन सिन्दुर स्थगित मात्रै भएको पनि उनले बताए। मोदीले पाकिस्तानले आतंकवादको संरक्षण गरेको दाबी गर्दै एकदिन उसैले संरक्षण गरेको आतंकवादले पाकिस्तानलाई नै समाप्त गर्ने चेतावनी दिए।
‘पाकिस्तानलाई यदि बच्नु छ भने उसले आतंकवादी संगठनका संरचनाहरूको ध्वस्त गर्नुपर्छ। योबाहेक शान्तिको अन्य उपाय नै छैन,’ उनले भने।
मोदीले आतंकवाद र वार्त एकसाथ हुन नसक्ने पनि बताएका छन्। ‘आतंकवाद र व्यापार पनि एकैसाथ चल्न सक्दैन। पानी र रगत एकसाथ बग्न सक्दैन,’ उनले भने।
प्रधानमन्त्री मोदीले विश्वको ध्यानाकर्षण गराउँदै पाकिस्तानसँग सीमित विषयमा मात्रै वार्ता हुन सक्ने बताएका छन्।
‘विश्व समुदायलाई पनि भन्न चाहन्छु, यदि पाकिस्तानसँग वार्ता हुन्छ भने आतंकवादको विषयमा नै हुन्छ। वार्ता हुन्छ भने पाकिस्तान प्रशासित कश्मिरको बारेमा हुन्छ,’ उनले भने।