बझाङमा पहिरोमा बेपत्ता भएका युवकको २८ दिनपछि शव फेला परेको छ।
असार १९ गते राति केदारस्यु गाउँपालिका वडा नम्वर ८ मल्लेसी बस्तीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय गिरीराज जेठाराको आइतबार शव फेला परेको हो।
उनको शव पहिरो गएको स्थानबाट ८ मिटर तल फेला परेको स्थानीय गोरख जेठाराले बताए। सोही पहिरोमा ६ जना पुरिएकोमा उनीहरुको शव भने, घटनाको पछिल्लो दिन नै फेला परेको थियो।
तीन दिनसम्म प्रहरी, सेना, सशस्त्र र स्थानीय टोलीले बेपत्ता भएका २२ वर्षीय जेठाराको खोजतलास गरेपनि फेला पार्न नसकेर फर्किएका थिए।
उनको शव फेला नपर्दा आफन्तहरु दाहसंस्कार समेत गर्न नपाएकोमा पीडामा थिए। आइतबार उनको शव फेला परेसँगै परिवारले सोमबार दाहसंस्कार गर्ने स्थानीय सुरेश जेठाराले जानकारी दिए।
पहिरोपछि बस्तीका २२ घरपरिवार पुर्णरुपमा विस्थापित भएका छन्। यस्तै, ३८ घरपरिवारमा आंशिक क्षति पुगेको छ। विस्थापित परिवारहरुका लागि पुर्नस्थापनाका कुनै कार्यक्रम आउन सकेकाे छैन।
पीडितहरु विद्यालयको भवन र आफन्तकहाँ बस्दै आएका छन्।