इलाम र बझाङमा आज उपनिर्वाचन अन्तर्गत मतदान हुँदैछ।
इलाममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङमा प्रतिनिधि सभा १ को प्रदेशसभा १ मा आज मतदान हुँदैछ।
मतदान अवधि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
मौसमविद गोविन्द झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली रहेपनि इलाममा वर्षाको सम्भावना भने छैन।
‘बादल आउनी जानी भइरहन्छ, पानी नै पर्ने सम्भावना भने छैन,’ उनले भने। इलाममा राति मौसम सफा रहने उनले जानकारी दिए।
बझाङमा आज हल्का वर्षाको पूर्वानुमान गरिएको छ।
मौसमविद झाका अनुसार बझाङमा बदली भई हल्का वर्षा हुने सम्भावना छ।
‘मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यहाँका पहाडी भूभागमा हिमपातको पनि सम्भावना छ,’ उनले भने।