सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीलाई हटाएको छ।
ज्ञवालीलाई हटाउन भदौ २५ गतेको मन्त्रिपरिषदले मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेशलाई संशोधन गरेको थियो। गठन आदेश संशोधन भएसँगै भदौ २९ गते डाक्टर ज्ञवालीलाई त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्ज फिर्ता हुन स्वास्थ्य मन्त्रालयले पत्र लेखेको थियो।
मिर्गौला प्रत्यारोपण सर्जन ज्ञवालीलाई २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ४ वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
आफूलाई स्पष्टीकरण समेत नसोधी हटाइएको डाक्टर ज्ञवालीले बताए।
अस्पतालमा मानव अंग प्रत्यारोपण केन्द्रमा सुधार ल्याउँदासमेत आफूलाई पूर्वाग्रहको आधारमा हटाइएको उनले बताए।
उनले आफ्नो कार्यकालमा २५ शैया थपेको र १५ ओटा डाइलासिस मेसिनहरू थप्ने प्रक्रियामा रहेको बताए। नेपाल सरकारबाट भक्तपुरमा दिइएको ३१ रोपनी जग्गामा नयाँ भवन बनाउने काम सुरू भएको उनले बताए।
आफूलाई अन्यायपूर्वक हटाइएकाले सर्वोच्च अदालतमा जानेबारे समेत छलफल सुरू गरेको ज्ञवालीले बताए।
मिर्गौला प्रत्यारोपणमा प्राध्यापक ज्ञवाली अब्बल मानिन्छन्।