विराटनगर ट्राफिक चोकका औषधी व्यवसायी हरिमोहन श्रेष्ठले ९१ औं पटक रक्तदान गरेका छन्।
नोबेल शिक्षण अस्पतालमा उपचारत् झापा बैगुनधुराकी ७९ वर्षीय रत्नमाया लिम्बुका लागि उनले शुक्रबार रक्तदान गरे।
बिएण्डसी अस्पताल विर्तामोडमा उपचार गर्दा निको नभएपछि रिफर गरी नोबेल अस्पताल विराटनगर ल्याइएकी लिम्बुलाई श्रेष्ठले एक पिन्ट ताजा रगत दिए।
लिम्बुलाई चाहिने रगत ए पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको बिरामीका नाति महेश राईले बताए।
यसभन्दा अगाडि श्रेष्ठले गत भदौ ७ गते गाइजात्राको दिन मोरङ उर्लाबारीका सञ्जय माझीका लागि ९० औं पटक रक्तदान गरेका थिए।
भदौ ६ गते राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परी अस्पताल भर्ना गरिएका उनको करङ भाँचिएर छातीमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक पर्दा श्रेष्ठले रक्तदान गरे।
श्रेष्ठले तीन-तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आएका छन्।
८९ औं पटकमा उनले वैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि रक्तदान गरेका थिए। त्यसपछि उनले तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजे पनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी भदौमा मात्र रक्तदान गरेका थिए।
कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए। विराटनगरमा सय पटक भन्दाबढी रगत दिनेमा डा. केएन ठाकुर छन्। ठाकुर अहिले वृद्धावस्थाका कारण रक्तदान गर्न छाडेका छन्।
विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन्।