तनहुँमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
भिमाद नगरपालिका-२ बस्ने ४० वर्षीया पवित्रा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। मृतक स्कुटरको पछाडि सवार थिइन्।
उनका अनुसार मंगलबार बिहान व्यास नगरपालिका-५ तल्लो गुणादी सिर्दीस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। ग २० प ६३३६ नम्बरको स्कुटर पनि सोही दिशातर्फ गइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।
उनका अनुसार घाइते दुवैलाई उपचारको लागि दमौली अस्पताल तनहुँ लगिएको थियो। पवित्रालाई अस्पताल पुर्याउँदा दिउँसो मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए।
भिमाद नगरपालिका-२ बस्ने २० वर्षीय स्कुटर चालक सुसिर थापाको फिष्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।