नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। नक्कली रक्सी उत्पादन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा दोलखा घर भई ललितपुरको कुपन्डोल बस्दै आएका २७ वर्षीय निरज उप्रेती, स्याङ्जा घर भई टोखा बस्ने २६ वर्षीया धर्मी गौडेल र सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने २६ वर्षीय गणेशबहादुर रानामगर छन्।
उपत्यकामा स्वदेशी र विदेशी ब्रान्डका नक्कली तथा गुणस्तरहिन रक्सी उत्पादन गरी कालोबजारी भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
अपराध अनुसन्धान कार्यालयले अपरेशन लिमा-२ सञ्चालन गरी प्रहरी खटाएको थियो।
उप्रेतीले कुपन्डोलमा नेक्स्ट टेस्ट लिक्वेयर स्टोर सञ्चालन गर्दै आएका थिए। गत शुक्रबार प्रहरीले उनको पसलमा छापा मारेको थियो। त्यहाँबाट नक्कली रक्सी ‘खुकुरी रम’ बरामद गरेको हो।
यस्तै अनुसन्धानको क्रममा प्रहरी काठमाडौंको एस.टी लिक्वेयर स्टोरमा पनि पुगेको थियो। उक्त स्टोर धर्मीले सञ्चालन गर्दै आएकी थिइन्। उनको लिक्वेयर पसलबाट पनि प्रहरीले नक्कली खुकुरी रम, रूस्लान भोड्का रक्सी बरामद गरेको हो।
कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीस्थित टहरामा बसेर नक्कली रक्सी बनाउने गरेको खुलेको हो।
यसरी रक्सी उत्पादन गर्ने ठाउँबाट गणेशबहादुरलाई प्रहरीले पक्राउ गरेको हो। यसमा अरूको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ। यद्यपी उनीहरूलाई पक्राउ गर्न बाँकी नै रहेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
प्रहरीले एक करोड बराबरका नक्कली रक्सी बरामद गरेको छ।
रक्सी उत्पादन गर्ने ठाउँ पनि उनीहरूले फेरिरहने गरेको एसएसपी केसीले बताए। प्रहरीले पक्राउ नगरोस् भनेर उनीहरूले ठाउँ परिवर्तन गरिरहेको पाइएको हो।
‘एकचोटीमा १० देखि १२ कार्टुन सम्म नक्कली रक्सी बनायो। अनि बजारमा पठाइहाल्ने गरेको देखिन्छ,’ उनले भने, ‘एकै ठाउँमा बसेर उत्पादन पनि नगर्ने देखियो। ठाउँ पटकपटक सरिरहेको पायौं।’
उनीहरूले यसरी रक्सी उत्पादन गर्न केही कामदार पनि राखेका थिए। एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूले बोतलमा केही मात्रा सक्कली रक्सी नै हाल्थे। त्यसमा थप रसायन, रंग लगायत हालेर प्याकेजिङ गर्ने गरेका हुन्।
यसरी प्याकेजिङ गर्नका लागि पनि उनीहरूले बोलत होटल, रेष्टुरेन्टहरूबाट उठाउने गरेको पाइएको छ।
‘ठमेलका होटल, रेष्टुरेन्ट, क्लबहरूमा ठूलो मात्रामा रक्सीको व्यापार हुन्छ। त्यहाँबाट बोलतहरू उठाउने पनि छुट्टै व्यक्तिहरू छन्। ती व्यक्तिहरूसँग सम्पर्क गरी उनीहरूले बोतल ल्याएको देखिन्छ,’ उनले भने, ‘स्टिकरहरू पनि फेरि प्रयोग गर्न मिल्ने निकाल्ने गरेको देखिन्छ।’
उनीहरूले यसरी बोलतको प्रयोग गर्दा अन्त शुल्कका स्टिकरहरू पनि पुरानै प्रयोग गरेको देखिन्छ। प्रहरीले यसअघि पनि नक्कली रक्सीहरू बरामद गरेको थियो। एकैचोटी धेरै खपत हुने हुँदा त्यस्ता रक्सीहरू पार्टी प्यालेसमा बेच्ने गरिन्थ्यो।
तर उनीहरूले यसपालि पसलहरूमै लगेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूले यसरी मदिरा बेच्दा पसल सञ्चालकको पनि मिलेमतो हुने गरेको प्रहरी बताउँछ। बजार मूल्यभन्दा सस्तोमा बेचेर पनि ठूलो नाफा कमाउन उनीहरूले यसरी कालोबजारी गरेको एसएसपी मनोजकुमार केसीले बताए।
प्रहरीले ६ वटा गोल्डेन ओक, ४८ वटा ८८४८ भोड्का, ४२० वटा मुग्लाङ, ३० वटा २०२० एप्पल, ९२ वटा खुकुरी रम र १३२ बोतल रूस्लान भोड्का बरामद गरेको हो। प्रहरीले विभिन्न ब्रान्डका खाली बोतलहरू पनि बरामद गरेको हो।