उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।
बैठक मंगलबार बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय गरिएको प्रचार—प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
दल विभाजनसम्बन्धी कानूनी रिक्तताको अवस्थामा नयाँ पार्टी दर्ता गरिएको भन्दै जसपा नेपालले अदालत जाने तयारी गरेको छ।
मंगलबार उपलब्ध नेताहरूबीच अदालत जाने अनौपचारिक छलफल भएको बस्नेतले जानकारी दिए।
‘आज बस्ने केन्द्रीय कार्यकारिणी र उपलब्ध केन्द्रीय नेताहरूको बैठकमा अदालत जाने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘आजै बिहान साढे ११ बजे पत्रकार सम्मेलन पनि राखिएको छ।’
प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए। नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।
यादव नेतृत्वको जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ।
यो पनि:
प्रचण्ड सरकारलाई विभाजित दुवै जसपाको समर्थन