विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा पाँच पटकको च्याम्पियन थ्री स्टार क्लबलाई १-० ले हराउँदै आर्मीले सेमिफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो।
आर्मीलाई जिताउन सब्सिच्युट फरवार्ड राजीव गुरूङले निर्णायक गोल गरे। उनले मैदान छिरेको सात मिनेटमै गोल गरेका थिए।
खेलको ७० औं मिनेटमा वैकल्पिक फरवार्ड राजीवले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलमा गोल हुन सकेन र आर्मीले १-० ले खेल जित्यो।
अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ। मनाङले यसअघि अर्को विभागीय टोली पुलिसलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।
यो सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। अब पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली एपिएफले मछिन्द्रको सामना गर्नेछ।
प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन्। आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
सेमिफाइनलका खेलदेखि एक तिहाई दर्शक राखिने
कोरोना महामारीको बढ्दो संक्रमणका कारण बिना दर्शक सञ्चालन भैरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलका खेलदेखि भने दर्शक राखिने भएको छ।
आयोजक सहारा क्लबले आज एक सूचना जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताको एक तिहाई दर्शक राखेर खेल खेलाउने जनाएको हो।
आरा रारा गोल्डकपको सेमिफाइनल र फाइनल खेलका लागि टिकट दर ३ सय रुपैयाँ तोकिएको छ।
प्रतियोगिताको टिकट प्रभु पे अनलाइन एपबाट टिकट काट्न सकिनेछ। प्रतियोगिता हेर्न रंगशाला जाँदा खोप कार्ड भने अनिवार्य गरिएको छ।