वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले अब ब्याज पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो। अब वाणिज्य बैंकहरुले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने छन्।
सुन निक्षेप संकलनका लागि बैंकहरुलाई नै विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गरेर कार्यान्वयन गर्ने अधिकार दिइएको छ।
बैंकले नै सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्रै स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकहरुले संकलन गरेको सुन ढुकुटीभित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्वन्धमा बैंकले नै निर्णय गर्न सक्ने छ।
सुन निक्षेपका रुपमा स्वीकार गर्ने शाखा तोक्नुपर्नेछ। कम्तीमा २५ ग्राम परिमाणको सुनलाई मात्रै बैंकहरुले स्वीकार गर्न सक्नेछन्। त्यसपछि सुनको जाँच गरी बैंकहरुले तौल र शुद्धता एकीन गरी प्रमाणपत्र दिने छन्।
सो प्रमाणपत्र बैंकमा धितो राखेर सोको ७० प्रतिशतसम्म कर्जा सुविधा पनि पाइनेछ। यसरी प्रवाह भएको कर्जामा बैंकले सुन धितोमा दिएको व्याजदरमा २ प्रतिशतभन्दा बढी थप्न पाउने छैनन्।
यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेछ। सुन जम्मा गर्दा नै सो बराबरको साँवा तथा व्याज एकीन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी सुन निक्षेप संकलन गर्ने ग्राहकको केवाइसी विवरण बैंकले राख्नुपर्नेछ।
यद्यपी यो व्यवस्था कार्यान्वयनका लागि चुनौतिपूर्ण रहेको बैकर बताउँछन्। ‘हाल मुलुकमा काँचो सुन ल्याउन पाउने व्यवस्था छैन, काँचो सुनका लागि यो सहज हुन सक्छ’ एक बैंकरले भने। यो व्यवस्थाले मध्यमवर्गीयलाई नछुने उनको भनाई छ। ‘कम्तीमा २५ ग्राम भनिएको छ, पहिले नै सुन राखेका सीमित व्यक्तिलाई यसले फाइदा पुग्ला।’
के फाइदा हुन्छ यो व्यवस्थाले ?
अहिले नेपालमा बैंकहरूले नगदलाई मात्रै निक्षेपका रूपमा स्वीकार गर्दै आएका छन्। अब सुनचाँदीजस्ता बहुमूल्य धातु पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था हुँदा मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सहयोग पुग्ने जानकार बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य यो व्यवस्थाले चोरी हुने लुटिनेजस्ता अपराधिक गतिविधिमा कमी आउने बताउँछन्।
‘लकर सेवासम्वन्धी जानकारी वा पहुँच नहुँदा धेरैले बहुमूल्य धातु घरमै राख्ने गरेका छन्, जसले चोरी डकैतीका घटना हुने गरेका छन्’ शाक्यले भने ‘निक्षेपका रूपमा सुन राख्ने चलन बढेमा अपराधिक घटना न्यूनीकरणमा सघाउ पुग्छ।’
भूकम्प वा अन्य विपत्तिका बेला पनि हराउने डर नहुने उनले बताए।
यसरी राखिएको धातु निक्षेपको ब्याजदर नगदमा जस्तो धेरै नहुने उनले बताए।
‘ब्याज १–२ प्रतिशत मात्रै हो, धेरै हुँदैन, शुल्क नतिरी सुरक्षित रूपमा राख्न पाउनुलाई नै ठूलो उपलब्धी मान्नुपर्छ,’ उनले भने।
अर्कोतर्फ यो व्यवस्थाले सुनको भविष्यमा हुन सक्ने मूल्यवृद्धिको चिन्ता पनि नरहने उनले बताए।
‘छोराछोरीको बिहे गर्नु पर्नेछ, तीन वर्षपछि महँगिएला भन्ने लागेमा अहिले तोलाको ८० हजार रहेको सुन खरिद गरेर निक्षेपका रूपमा सुरक्षित गर्न सकिने भयो,’ उनले उदाहरण सुनाए, ‘३ वर्षपछि तोलाको १ लाख पुगे पनि चिन्ता रहेन, अहिले किनेकै सुन बैंकबाट निकाल्ने हो।’
यस्तो छ राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था