नबिल बैंक लिमिटेडले '८% नबिल डिवेन्चर २०८९' ऋणपत्र निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त गरेको छ।
यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसबिआई मर्चेण्ट बैंकिङको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
बैंकले प्रति ऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न लागेको हो।
वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ।
३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ।
यो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड रूपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड रूपैयाँ ऋणपुँजी रकम सर्वसाधारणको लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न लागिएको हो।
सर्वसाधरणको लागि छट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ।