अहिले दुई बैंकले व्यक्तिगत मुद्दती खातामा ९ प्रतिशत ब्याजदर दिनेगरी अफर ल्याएका छन्।
ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई’ नामको मुद्दती खातामा ९ प्रतिशत ब्याज दिनेगरी अफर ल्याएको छ। कम्तिमा ६ महिनादेखि ५ वर्षसम्मको अवधि तोकिएको यस खाता खोल्न कम्तिमा १ लाख रुपैयाँ चाहिन्छ।
त्यति मात्रै होइन, यो खाता खोल्नेलाई निशुल्क डेविट कार्ड, शत प्रतिशत लकर शुल्क छुट, मुद्दती रकमको ९० प्रतिशतसम्म ऋणजस्ता सुविधा समेत छन्।
यसअघि नविल बैंकले पनि व्यक्तिगत मुद्दतीमा ९ प्रतिशत ब्याज दिने योजना ल्याएको छ। यस्तो खाताको अवधि कम्तिमा १३ महिनादेखि २४ महिनासम्म छ।
५ वर्षदेखि १० वर्षसम्मको अवधिका लागि मुद्दती खाता खोल्ने व्यक्तिगत लगानीकर्ताले भने साढे ९ प्रतिशतसम्म ब्याज पाउने नविल बैंकका सूचना अधिकृत सुरेश त्रिपाठीले जानकारी दिए।
वाणिज्य बैंकमा यी दुईले मुद्दतीमा दिएको यो ब्याजदर नै सबैभन्दा धेरै हो। अरु बैंकले भने अधिकतम ८. २५ प्रतिशत सम्म् दिइरहेका छन्।
राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा २ खर्बको हाराहारीमा लगानीयोग्य रकम छ।
लामो समयसम्मको लकडाउन र निषेधाज्ञा खुलेपछि पनि ऋणको माग अपेक्षाअनुसार बढ्न सकेको छैन। बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार भदौ २६ देखि असोज २ गतेसम्म निक्षेप २१ अर्बले बढ्दा कर्जा जम्मा ९ अर्बले मात्रै बढेको छ।
भदौ महिनाकै तथ्यांकलाई हेर्दा पनि कर्जाभन्दा निक्षेपकै वृद्धिदर बढी छ। यसले गर्दा तत्काल ब्याजदर बढाउनुपर्ने अवस्था देखिँदैन।
यस्तो अवस्था हुँदा पनि बैंकहरुको ९ प्रतिशत अफर किन त?
लगानीयोग्य रकमको अभाव भएर नभई आन्तरिक पोर्टफोलियो व्यवस्थापनका लागि नै बैंकहरुले यस्तो अफर ल्याएको हुन सक्ने बताउँछन् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला।
‘स्थिर व्याजदरमा व्यक्तिगत आवधिक कर्जा दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था छ। लामो अवधिका लागि दिइने ऋणमा अहिले नै ब्याज फिक्स गर्नुपर्ने अवस्था पनि छ। त्यसका लागि अहिले नै व्यवस्थापन गर्न खोजेको पनि हुन सक्छ' उनले भने।
त्यस्तै स्प्रेड दर घटाउनुपर्ने वाध्यताले पनि यस्तो अवस्था आएको हुन सक्ने उनले बताए। राष्ट्र बैंकले यस्तो दर ४. ४ प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरेको छ।
स्प्रेड दर घटाउनका लागि निक्षेपकर्तालाई बढी ब्याज दिनुपर्ने वा ऋणीबाट लिने व्याज घटाउनुपर्ने हुन्छ।
तर सम्बद्ध बैंकहरु भने सबैले ब्याजदर घटाएर निक्षेपकर्तालाई समस्यामा पार्न खोज्नु राम्रो नभएकोले यस्तो अफर ल्याइएको दावी गर्छन्।
नविल बैंकका सूचना अधिकृत सुरेश त्रिपाठीका अनुसार निक्षेपमा सन्तुलन मिलाउनकै लागि बैंकले व्यक्तिगत निक्षेपकर्तालाई ९ प्रतिशत दिने योजना ल्याएको हो।
‘मुद्दतीमा संस्थागत र व्यक्तिगत डिपोजिट मिक्स मिलाउने उद्देश्यले ल्याइएको हो, असोजसम्म मात्रै यो लागू हुन्छ’ उनले भने। त्यस्तै व्यक्तिगत निक्षेपलाई लामो अवधिको बनाउने उद्देश्य पनि रहेको उनले बताए।
‘हाम्रो कर्जा लगानी लामो अवधिको हुन्छ, त्यसकारण निक्षेपमा पनि अलि लामाे अवधि कायम होस् भन्ने चाहना हो’ उनले भने ‘त्यसकारण ५ वर्षदेखि १० वर्षसम्म मुद्दतीमा रकम राख्नेलाई साढे ९ प्रतिशत नै ब्याजदर दिन्छौँ।’
यी दुई बैंकले व्यक्तिगत मुद्दतीमा उच्च ब्याजदर दिँदा अरु बैंकबाट निक्षेप खोसिन सक्छ। जसले गर्दा अरु बैंकलाई समेत व्यक्तिगत मुद्दतीमा ९ प्रतिशत ब्याज दिन अहिले दवाव परिरहेको छ।
‘कसैले ब्याजदर बढाउँदैमा बाहिरबाट ह्वारर्र पैसा आउने त होइन, यहींका बैंकमा रहेको बचत वा म्यचुअर्ड फिक्स डिपोजिटको रकम सिफ्ट हुने हो’ एक बैंकका सिइओले भने ‘तरलता प्रशस्त भएका कारण अहिले अरु बैंकहरु ब्याजदरको प्रतिस्पर्धातिर लाग्नु हुँदैन।’
यद्यपी केहीले दिएको ९ प्रतिशत ब्याजका कारण आफ्नो बैंकमा पाकेको मुद्दती निक्षेप जोगाइराख्न भने चुनौति हुन सक्ने उनले औंल्याए।
यही कारण अहिले नै बैंकबीच ब्याजदर बढाउने प्रतिस्पर्धा नहुने उनको भनाइ छ। अहिले कर्जाको माग समेत बढ्न नसकेको उनले बताए।
‘कतिपयलाई पुनर्कर्जाको रकम पाउने आश छ, पुनर्कर्जाका लागि आवेदन दिएर पर्खिरहेकाे अवस्था छ, त्यसकारण माग बढ्न नसकेको हो, पुनर्कर्जा वितरण भइसकेपछि क्रमिक रुपमा ऋणको माग बढ्नेछ’ उनले भने ‘त्यतिबेला निक्षेपकर्तालाई दिने यही ब्याजदरमा टिक्न चुनौति हुन सक्छ।’
त्यसैलाई मध्यनजर गरेर अहिले नै केही बैंकले लामो अवधिको लागि निक्षेप संकलन गरेको हुन सक्ने उनले औंल्याए।