सेयर बजारको परिसूचक नेप्से बिहीबार ३१. ८७ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २३७४ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो।
यस दिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। दैनिक औसत ६ अर्बको हाराहारीमा कारोबार हुने गरेकोमा यस दिन ७ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन बैंकिङ समूह भने ओरालो लागेको छ। सो समूह ३ अंकले घटेको छ। अरु सबै समूह बढेका छन्।
ब्यापार २, होटल १३, विकास बैंक ३१, जलविद्युत ६८, फाइनान्स ३१, निर्जीवन बीमा ५४०, उत्पादन २६, अन्य १७, माइक्रोफाइनान्स १५४, जीवन बीमा समूह ४४३ अंकले बढेका छन्।
यस दिन एक दर्जनभन्दा बढी कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, आशा लघुवित्त, ग्रामीण विकास लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त, इनिफिनिटी लघुवित्त, युनाइटेड इन्स्योरेन्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य भने सबैभन्दा धेरै ६.७ प्रतिशतले घटेको छ। नेपाल हाइड्रो डेभलपर्सको मूल्य ४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५३ करोड रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै नेको इन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो भने पुनर्बीमाको करिब २३ करोडको कारोबार भयो।