मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ सय अंकनजिक पुगेको छ। यस दिन परिसूचक ३४. ६८ अंकले बढेर २७९३ अंकमा पुगेको छ। यो अंक हालसम्मकै उच्च हो।
परिसूचकका अलवा ११ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एकै दिन कारोबार भएको यो रकम अहिलेसम्मकै उच्च हो।
यस दिन उत्पादनबाहेकका सबै समूह बढेका छन्। सो समूह ५ अंकले घटेको छ। बैंकिङ ४, ब्यापार ७६, होटल तथा पर्यटन २००, विकास बैंक १००, जलविद्युत ९६, फाइनान्स ८०, निर्जीवन बीमा कम्पनी ८१, अन्य १६, माइक्रोफाइनान्स ८५ र जीवन बीमा कम्पनी २०५ अंकले बढेका छन्।
यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ। भने अरु २२ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
समता माइक्रोफाइनान्स, कालिका पावर, नेसनल हाइड्राे, साेल्टी होटल, ओरेन्टल होटल, बेष्ट फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, विशाल बजार कम्पनी, घलेम्दी हाइड्रोपावर, मिथिला लघुवित्त र शिवश्री हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ।
नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ। त्यस्तै माथिल्लो तामाकोसीको मूल्य पनि १ प्रतिशतले नै घटेको छ।
टेलिकमको मूल्य प्रतिकित्ता १३८९ रुपैयाँ कायम भएको छ भने माथिल्लो तामाकोसीको प्रतिकित्ता ८४० रुपैयाँमा झरेको छ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। सो कम्पनीको ६७ करोड रुपैयाँ बराबरको किनबेच भएको छ। दोस्रोमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ३१ करोड बराबरको कारोबार भएको छ।