अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज, असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ।
इच्छुक आवेदकहरूले आउँदो असार २८ गतेसम्म आइपिओ भर्न सक्नेछन्। माग बमोजिमको आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।
कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा १५ करोड बराबरको १५ लाख कित्ता सेयर जारी गरेको हो। आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन मिल्छ।
जारी गरिएको कित्तामध्ये कम्पनीले २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो। आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ५० करोड पुग्ने बताइएको छ।
कम्पनीकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
हाल कम्पनीले संखुवासभा जिल्लामा बुट (बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र पछि हस्तान्तरण गर्ने) मोडल अन्तर्गत ८.५ मेगावाटको रन-अफ रिभर अपर हेवाखोला साना जलविद्युत आयोजना बनाइरहेको छ। आयोजनाको प्रवर्धन विभिन्न संस्था तथा पृष्ठभूमिका व्यक्तिहरूले गरिरहेका छन्।
कम्पनीलाई उसको दीर्घकालिन ऋणको लागि केयर रेटिङ नेपालले डबल बी रेटिङ दिएको छ। कम्पनीले एक महिना अघि पाएको यो रेटिङले दायित्व भुक्तानीको आधारमा कम्पनीको जोखिम मध्यम रहेको संकेत गर्छ।