राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ रहेको बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडैलले मुलुकमा निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।
‘स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ,’ उनले भने।
राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने स्पष्ट पार्दै यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले प्रेस स्वतन्त्रता समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष भएको बताए।
‘प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो। नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत भनेका छन्।
उनले सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाधरुपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता रहेको बताए। बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्ने र यस्ता अफवाहले नागरिकहरूलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने अवस्था सृजना हुने बताउँदै त्यस अवस्थामा स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्ने बताए ।
उनले बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको पनि बताए।
यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा मिलोस् भनी पौडेलले कामना गरेका छन्।
राष्ट्रपति पौडलले जनताको ठूलो त्याग, सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र लामो राजनीतिक सङ्घर्ष पूरा भएर अब मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेकाले मुलुकको यो आवश्यकतालाई ध्यानमा राखेर नेपाली प्रेस त्यसैतर्फ केन्द्रित हुँदै जाने अपेक्षा आफूले राखेको पनि बताए ।