बढ्दो बजारमा केही निश्चित समूहहरूका सूचीकृत सबै कम्पनीको प्रतिकित्ता सेयर मूल्य कम्तीमा एक हजार माथि भइहाल्छ वा हुनेछ भन्ने निर्धारित मान्यता सर्वसाधारण लगानीकर्ताहरूले रहने गरेको छ।
यस्तै मान्यता देखिने एउटा समूह हो, लघुवित्त समूह।
तर, बजार वियरिश प्रवृत्तिमा रहँदा यसपटक लघुवित्त कम्पनीहरू पनि ४/५ सय रूपैयाँको मूल्य रेञ्जमा पनि पाइए। यसले आम मानिसको धारणा परिवर्तन भएको हो की भन्ने देखिएको थियो।
तर, बजारले बुलिश प्रवृत्तिमा प्रवेश गर्दैगर्दा लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा पनि दैनिक रूपमा वृद्धि भइरहेका छन्। यो वृद्धिमा पनि केही लघुवित्त कम्पनीको सेयर मूल्य आठ सय रूपैयाँ कटेको छैन।
यी कम्पनीहरू हुन्, आदर्श लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्था।
कम्पनीहरूको सेयर मूल्य कति हुने भन्ने निर्धारण बजारमा हुने माग र आपूर्तिको आधारमा हुन्छ।
तुलनात्मक रूपमा सानो पुँजीका लघुवित्त कम्पनीहरूको मूल्य उच्च हुनुमा बजारमा यी कम्पनीहरूको सेयरको माग अनुसार उपलब्धता नहुनु पनि हो। त्यसबाहेक लगानीकर्ताहरूको मनोविज्ञान समेत हावी हुन्छ।
यी कारण कुनै समय उच्च मूल्यमा कारोबार हुने लघुवित्त कम्पनीहरूको बजारमा मूल्य पहिले जस्तो छैन। अहिले बजारमा रहेका ५८ वटा लघुवित्तमा मुस्किलले दर्जनको सेयर मूल्य मात्रै दुई हजार माथि छ। यसो हुनुमा यी कम्पनीहरूको लाभांशमाथि राष्ट्र बैंकको कडाइ पनि एक हो।
गरिब समुदायमा लगानी गर्ने यस्ता संस्थाले उनीहरूबाट उच्च ब्याज लिने र लगानीकर्तालाई भने उच्च दरमा लाभांश दिने प्रवृत्ति देखिएपछि पनि यसमा कडाइ गरियो।
हालसम्म पनि यस्तो कडाइ कायम छ। कम्पनीहरूले २० प्रतिशतभन्दा बढी दरमा लाभांश दिनुपरेमा यसरी सीमाभन्दा बढी दिइने लाभांश बापत हुने रकमको ५० प्रतिशत बराबर रकम साधारण कोषमा राख्नै पर्ने व्यवस्था गरिएको छ।
त्यस्तै कर्जाको ब्याजदर समेत १५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरिएको छ। यसले पनि लाभांश दिनसक्ने कम्पनीहरूको पनि यस्तो क्षमता घटाएको भने छ।
राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूले समेत आगामी माघ महिनादेखि कर्जाको ब्याजदर निर्धारण गर्न लिइने आधार दर (बेस रेट) सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।
कर्जाको ब्याजदरमा लगाम लागेसँगै कम्पनीहरूले यस्तो लगाम लगाउन नहुने र लागतको आधारमा कर्जाको ब्याजदर निर्धारण गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।
बेस रेट सार्वजनिक सुरू भएसँगै यसैको आधार ब्याज तोक्न पाउने व्यवस्था समेत हुन थाल्ने मानिएको छ। त्यसैले भावी दिनमा लाभांशमा हाल लगाइएको अंकुश समेत खुकुलो हुने अनुमान गर्न सकिन्छ।
त्यस्तै, सेयर लगानी गर्दा कम्पनीको वित्तीय अवस्थाले समेत महत्व राख्छ। त्यसैले यी कम्पनीहरू वित्तीय रुपमा कस्ता छन भनेर आधारभूत जानकारी यसमा दिइएको छ।
आदर्श लघुवित्त वित्तीय संस्था
गत साउन दुई गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको आदर्श लघुवित्तको अहिले सेयर प्रतिकत्ता पाँच सय ८६ रूपैयाँमा कारोबार भइरहेको छ।
कम्पनीलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने गरी प्रक्रिया अगाडी बढाइरहेको छ। मर्जर तथा प्राप्तिमा सुरूदेखि नै सेयर कारोबार रोक्का रहने पुरानो नियम अनुसार कम्पनीको कारोबार केही समय रोकिएको थियो। हाल यो नियममा संशोधन भएसँगै कम्पनीको सेयर कारोबार पनि खुला भएको छ।
डिप्रोक्स लघुवित्तको सेयर कारोबार एक हजार एक सय १६ रूपैयाँमा भइरहँदा आर्दश लघुवित्तको भने लगभग आधा मूल्यमा कारोबार भएरहेको छ। यी दुई कम्पनीको स्वाप रेसियो भने सार्वजनिक भइसकेको छैन।
आर्दश लघुवित्तको वित्तीय विवरण भने निकै कमजोर देखिन्छ। दुई करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा तीन लाख रूपैयाँ मात्रै नाफा कमाएको छ।
कम्पनीको कुल कर्जा लगानीमा खराब कर्जा लगानी १.४७ प्रतिशत छ। कम्पनीको प्रतिसेयर आम्दानी मात्रै ६ रूपैयाँ ७६ पैसा छ, प्रतिसेयर नेटवर्थ एक सय ६१ रूपैयाँ छ। कम्पनीले हालसम्म लाभांश दिएको छैन।
आरएसडिसी लघुवित्त
कुनै समय तीन हजारभन्दा माथिको मूल्यमा कारोबार भएको आरएसडिसी लघुवित्तको सेयर हाल ६ सय ४८ रूपैयाँमा किनबेच भइरहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको नाफा आधारमा ५८ कम्पनीमध्ये यो ११ औं स्थानमा छ। ८० करोड रूपैयाँ चुक्ता पुँजी भएको यो कम्पनीले तीन करोड ८२ लाख रूपैयाँ नाफा कमाएको छ।
कम्पनीको सेयरधनीलाई बाड्न मिल्ने सञ्चितिमा ११ करोड रूपैयाँ छ। कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश दिएको छ।
पुस १५ गते कम्पनीको बुक क्लोज भइसकेको छ। कम्पनीको कुल कर्जा लगानीमा खराब कर्जा लगानी ०.६० प्रतिशत छ। कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ९९ पैसा छ, प्रतिसेयर नेटवर्थ एक सय २६ रूपैयाँ छ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
कुनै समय प्रतिकित्ता दुई हजार रूपैयाँभन्दा माथि मूल्य रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अहिले सात सय १५ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
गत आर्थिक वर्षमा कम्पनीले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीको यही पुस १७ गते बुक क्लोज भइसकेको छ। पहिलो त्रैमासमा ९६ करोड रूपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले ६ करोड ३७ लाख रूपैयाँ नाफा कमाएको छ।
कम्पनीको सेयरधनीलाई बाड्न मिल्ने सञ्चितिमा २७ करोड रूपैयाँ छ। कम्पनीको कुल कर्जा लगानीमा खराब कर्जा लगानी शून्य छ। कम्पनीको प्रतिसेयर आम्दानी २६ रूपैयाँ ४५ पैसा छ, प्रतिसेयर नेटवर्थ एक सय ५९ रूपैयाँ छ।
अभियान लघुवित्त
गत असोज सात गतेबाट बजारमा कारोबारमा आएको अभियान लघुवित्तको अहिले सात सय ८६ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
हालसम्मको कम्पनीको उच्च मूल्य नौ सय ६३ रूपैयाँ हो। पहिलो त्रैमासमा २५ करोड रूपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले तीन लाख रूपैयाँ नाफा कमाएको छ।
कम्पनीको कुल कर्जा लगानीमा खराब कर्जा लगानी उच्च छ। यो ४.९१ प्रतिशत छ। कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ५१ पैसा मात्र छ। प्रतिसेयर नेटवर्थ एक सय १३ रूपैयाँ छ। गत आर्थिक वर्षमा एक करोड रूपैयाँ नाफा गरेको कम्पनीले लाभांश घोषणा गरेको छैन।