सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगमा १ महिनादेखि ‘क्लिंकर’ उत्पादन बन्द भएको छ।
विद्युत् भोल्टेजमा गडबडी भइ हाइटेन्सन मोटरमा क्षति पुगेपछि क्लिङ्कर उत्पादन बन्द भएको हो। क्लिङ्कर उत्पादन बन्द भएपनि सिमेन्ट उत्पादन र बिक्री भने भइरहेको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए।
‘विद्युत्त भोल्टेज घटबढ हुँदा हाइटेन्सन मोटरमा क्षति पुगेर करिब १ महिना देखि क्लिङ्कर उत्पान बन्द भएको छ’, उनले भने, ‘स्टक क्लिङ्करबाट सिमेन्ट उत्पादन र बिक्री वितरण गरिरहेका छौंँ।’
यसरी मोटर बिग्रिँदा उद्योगलाई दैनिक ७५ लाख रुपैयाँ नोक्सानी भएको छ। जेठ २० गतेदेखि क्लिंकर उत्पादन नहुँदा उद्योगलाई अहिलेसम्म झन्डै २२ करोड रूपैयाँभन्दा बढी उत्पादन घाटा भएको उनी बताउँछन्।
उनका अनुसार उद्योगले बिग्रिएको मोर्टर मर्मतका लागि बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कसपमा पठाएको छ। उक्त मेसिन मर्मत भएर २,३ दिनमा आउने छ।
उद्योगले चालु आर्थिक वर्षमा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो। लक्ष्य अनुरूप उद्योगले १ लाख २२ हजार टन क्लिङ्कर उत्पादन गरेको छ।
क्लिङ्कर उत्पादन गर्ने मेसिन नबिग्रिएको भए लक्ष्य अनुरूपको उत्पादन हासिल गर्न सक्ने उनी बताउँछन्। ‘मोटरमा क्षति नपुगेको भए असार अन्त्य सम्ममा १ लाख ४२ हजार टन क्लिंकर उत्पादन हुने थियो,’ उनले भने, ‘यो लक्ष्यभन्दा १० हजार टन बढी हो।’
अहिले दैनिक १० हजारदेखि १२ हजार बोरासम्म सिमेन्ट बिक्री हुनेगरेको छ। उद्योगले दैनिक करिब ८ सय टन सिमेन्ट उत्पादन गर्दै आएको शाहको भनाइ छ।