अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ। यस आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति (मूल्यवृद्धि) ६.८२ प्रतिशत कायम भएको छ।
अघिल्लो वर्ष यसै अवधिमा मूल्यवृद्धि ४.५८ प्रतिशत थियो। सरकारले यस आर्थिक वर्ष यस्तो मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्न लक्ष्य लिएको छ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ।
यो अवधिमा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ। गत वर्षको यो अवधिमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मुद्रास्फीति रहेको थियो।