कोरोना भाइरस संक्रमण रोक्न भन्दै धेरैजसो सार्वजनिक यातायात बन्द भएका बेला टुटल र पठाओले भने आफ्ना सेवा नरोक्ने भएका छन्।
स्वास्थ्य सुरक्षामा ध्यान दिई सेवाग्राहीलाई सेवा दिन चालकलाई अनुरोध गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए।
‘हामीले सामाजिक संजालमार्फत घरबाट ननिस्कन अनुरोध गरेका छौं। सचेतनाका क्याम्पेन पनि चलाएका छौं। यो अवस्थामा चालकबाट यात्रुलाई मात्र होइन, यात्रुबाट चालकलाई पनि भाइरस सर्न सक्छ,’ भट्टले भने ‘ यात्राको लागि निरूत्साहित गरेका छौं। यात्रा गर्नै पर्यो भने सार्वजनिक यातायात भन्दा राइड सेयर नै सुरक्षित हुन्छ।’
यात्रालाई निरूत्साहित गर्न चालकले पाउने बोनस, यात्रुका छुट सुविधा सबै बन्द गरिएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्नायतले जानकारी दिए।
‘अत्यावश्यक काम नपरी नहिंड्नु भनेर प्रचार–प्रसार गरिरहेका छौं। त्यस्तै रोगको संक्रमण हुन नदिन हामीले ट्याक्सी र मोटरसाइकल निशुल्क सेनिटाइज गर्न सुरू गरेका छौं,’ उनले भने।
३ ओटा सिफ्टमा सवारी साधन सेनिटाइज गर्न सुरू गरिएको उनले जानकारी दिए। पठाओको कल सेन्टर, फाइनान्स लगायतको सेवा पनि नरोकिने बस्न्यातले बताए।
‘हामीले ८ जाना कर्मचारीलाई अफिसमै खाने–बस्ने व्यवस्था मिलाएका छौं, उहाँहरू भित्रै बसेर काम गर्नु हुन्छ र हामी कोही त्याहाँ जान परे सेनिटाइज गरेर मात्रै जान्छौं,’ उनले भने ‘त्यस्तै हामीले राइडरलाई हाते स्यानिटाइजर पनि बाँडेका छौं। सटेज भएका कारण मास्क भने बाँड्न सकेका छैनौं।’