संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगशकुमार भट्टराईले आगामी डिसेम्बरसम्म भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पूरा गर्न आयोजना र ठेकेदारलाई निर्देशन दिएका छ्न।
बिहीबार प्रदेशका सांसदसँगको अतरक्रिया र विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष सफल हुन्छ/हुँदैन भन्ने विषयसँग विमानस्थल प्रत्यक्ष जोडिएकाले जसरी पनि सन् २०१९को डिसेम्बरभित्रै निर्माण सक्नुपर्ने बताए । विश्वका लाखौं बौद्धमार्गी, लुम्बिनी र नेपाल भ्रमण वर्ष २०२० सँग यो विमानस्थलले ठूलो महत्व राख्ने भएकाले जसरी पनि तोकिएको समयमा विमानस्थल निर्माण सक्नैपर्ने बताए ।
उनले ठेकेदारलाई निर्देशन दिँदै भुक्तानीका सम्बन्धमा आफूले समन्वय गर्ने तर ठेकेदारकै कारणले आयोजना निर्माणको काम एक दिन पनि पछि धकेलिन नहुने बताए। गौतमबुद्ध विमानस्थल प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा चासोको विषय भएको उनले बताए ।
आफूलाई मन्त्रीको जिम्मेवारी दिँदा प्रधानमन्त्रीले गौतमबुद्ध विमानस्थल जसरी नी तोकिएको समयमा सक्न निर्देशन दिएको र यसैलाई जोडेर मन्त्रालयको परिक्षा लिएको समेत बताए ।
`प्रधानमन्त्रीले गौतमबुद्ध विमानस्थलको सेकेन्ड–सेकेन्डमा निरीक्षण गरिरहनु भएको छ ` उनले भने ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले साझा धारणा गराई विमानस्थल निर्माणमा आउन सक्ने अवरोधलाई अन्त्य गर्नु पर्ने भन्दै समन्वय गरी स्थानीय तहलाई निर्माण सामाग्री उपलब्ध गराउन समेत आग्रह गरे । आयोजनामा आएका बाधा, समन्वय गर्नु पर्ने काम, कुनकुन निकायले के काम गरे आयोजना समयमै सकिन्छ भन्ने बारे शुक्रबारसम्म आफूलाई रिपोर्ट पेस गर्न आयोजना प्रमुखलाई निर्देशन दिए ।
प्रतिनिधि सभा सदस्य एवं नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले बजेट निकासामा ढिलाई नगर्न आग्रह गरे । विगतमा मन्त्रालयबाट पैसा निकासा भएको एकडेढ महिनासम्म पनि आयोजनामा पैसा नआउने समस्या भएको स्मरण गर्दै उनले त्यसलाई अन्त्य गर्नुपर्ने बताए । भुसालले सुरुमा स्थानीय ठेकेदार र मुख्य ठेकेदारमा लेनदेनको विवाद भएको स्मरण गर्दै स्थानीय ठेकेदारले अझै ३०/३२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएकाले त्यसको वास्तविकता निर्कौल गरी निराकरण गर्न मन्त्री भट्टराईलाई आग्रह गरे ।
प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आयोजनामा समस्या भएको बताउँदै त्यसलाई समाधान गर्नुपर्ने बताए । उनले आयोजनाले प्रदेश सरकारसँग खासै समन्वय नगरेको बताए।
आयोजना प्रमुख प्रवेश अधिकारीले निर्माण सामाग्रीको जटिल समस्या भएको भन्दै रुपन्देहीमा निर्माण सामाग्री नपाउँदा दाङ र चितवनबाट ल्याउन बाध्य भएको बताए।
अहिलेसम्म आयोजनाको काम ७४ प्रतिशत सम्पन्न भएको जानकारी गराएका थिए । मन्त्री भट्टराईसँगको छलफलमा ठेकेदारका प्रतिनिधिले निर्माण सामाग्रीको सहजता गरिदिन आग्रह गरेका थिए । साथै आफूहरुमा केही आर्थिक समस्या समेत परेको ठेकेदार पक्षको भनाई थियो ।
एशियाली बिकास बैंकको ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनिरहेको छ ।