संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगशे भट्टराईले फ्लाइङ स्कुल निजी क्षेत्रसँग मिलेर खोल्ने पक्षमा आफू रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालमा फ्लाइङ स्कुलको स्थापना गर्न सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार भएको बताए।
भट्टराईले मन्त्री भएलगत्तै नेपालमा पाइलट पढाउने स्कुल खोल्ने घोषणा गरेका थिए।
उनले यसका लागि सरकारले निजी क्षेत्रसँग मिलेर स्कुल खोल्न तयार भएको र निजी क्षेत्रलाई सहभागी हुन आग्रह गरे। वायुसेवा सञ्चालकहरुलाई उनले यो योजनामा सहभागी हुन खुल्ला आग्रह गरेका हुन्।
केहीदिनभित्र सरकारले स्कुल स्थापनाका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउने त्यसले लगानीको मोडल, सञ्चाल तथा व्यवस्थापन, त्यसको प्रतिफलका बारेमा निष्कर्ष र सुझावसहितको प्रदिवेदन दिएपछि औपचारिक प्रस्ताव अघि बढाउने उनले जानकारी गराए।