पाकिस्तानमा जहाज उडाने अनुमतिपत्र पाएका ३० प्रतिशत पाइलटसँग फर्जी लाइसेन्स भएको पाइएको छ। पाकिस्तानको नागरिक उड्डयनसँग सम्बन्धित मन्त्रालयले उक्त तथ्य सार्वजनिक गरेको थियो।
'पाकिस्तानका २६२ जना पाइलट जसले लाइसेन्स पाएका छन् र जहाज उडाइरहेका छन् उनीहरुले त्यस्तै कुनै परीक्षा दिएका थिएनन्' नागरिक उड्डयनमन्त्री घुवालम सरवार खानले संसदमा सम्बोधन गर्ने क्रममा भनेका थिए।
त्यस्ता फर्जी लाइसेन्स लिएकाहरुले अरु कसैलाई पैसा दिएर परीक्षा दिन लगाएर लाइसेन्स लिएका हुन्।
'उनीहरुसँग त्यस्तो उडान अनुभव पनि छैन' उनलाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको छ।
अहिले पाकिस्तानमा ८६० जना पाइलट छन्। जसले पाकिस्तानका एयरलाइन्समा सेवा गरिरहेका छन्। यस्ता फर्जी लाइसेन्स भएका पाइलटलाई पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले ग्राउन्डेड गरदिएको छ। उनीहरुले यस्तो अवस्थामा जहाज उडान पाउने छैनन्।
पाकिस्तानमा फर्जी लाइसेन्सवाला पाइलट संख्या धेरै रहेको उक्त समाचार बाहिरिएपछि केही देशहरुले पाकिस्तानी पाइलटमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन्। बिबिसी हिन्दीमा प्रकाशित समाचारअनुसार भियतनामले पाकिस्तानी मुलका पाइलटलाई हटाउन निर्देशन दिइसकेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिले नेपालमा पाकिस्तानी मुलका कुनै पनि पाइलट कार्यरत नभएको र पाकिस्तानसँग सिधा हवाई सम्पर्क नहरहेकाले कुनै पनि कदम नचालिएको बताएको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उक्त समाचारलाई नोटिसमा लिइएको तर तत्काल कुनै पनि निर्णय नगरिकएको जानकारी दिए।